☰ open Loading... 4 December 2024|  

इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर
  | १३ श्रावण २०७९, शुक्रबार ०५:१८

काठमाडौंः रोल्पाको गंगादेव गाउँपालिकाका इन्जिनियर नविन डाँगीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४ लाख ६ हजार ५०० रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा बिहीबार मुद्दा दर्ता गरेको हो ।

 

आयोगको टोलीले उनलाई गत असार २४ गते सेवाग्राहीसँग पचास हजार रुपैयाँ घुस लिएको आरोपमा पक्राउ गरेको थियो । पछि खानतलासी गर्ने क्रममा उनको साथबाट ३ लाख ५६ हजार ५०० रुपैयाँ बरामद भएको थियो । उक्त रकम पनि काम गरिदिएवापत सेवाग्राहीबाट लिएको खुलेको र उनले श्रोत खुलाउन नसकेको अख्तियारले दाबी गरेको छ ।

 

इन्जिनियर डाँगीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१)को कसुरमा ४ लाख ६ हवार ५०० रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम जरिवाना र ऐनको दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम कैद सजायको मागसहित आरोप–पत्रमा दायर गरिएको आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए ।