☰ open Loading... 24 July 2024|  

एकै पालिकाका ३५ योजना अलपत्र
  | २६ श्रावण २०७९, बिहीबार ०५:१८

सुर्खेत: पश्चिम सुर्खेतको चौकुुने गाउँपालिकामा निर्माण थालिएका दर्जनौं विकास आयोजना लथालिङ्ग अवस्थामा छन् । पालिकामा शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका भौतिक संरचना निर्माणका काम अलपत्र भएका हुन् । निर्माणाधिन ३५ वटा विकास आयोजनाको काम लामो समयदेखि अधुरो रहेको गाउँपालिका अध्यक्ष खड्ग विक बताउँछन् । उनका अनुसार अलपत्र अवस्थामा रहेका त्यस्ता योजनामध्ये संघ, प्रदेश र स्थानीय सरकार तथा केही सामाजिक अभियानमार्फत सुरु गरिएका थिए । बजेट अभाव र निर्माण व्यवसायीहरूको लापरबाही जस्ता कारणले निर्माण थालिका योजना पूरा हुन नसकेको अध्यक्ष विकले बताए । ‘हाम्रो पालिकामा झन्डै ३५ वटा योजना अलपत्र छन्,’ उनले भने, ‘योजना सम्पन्न नहुनुमा बजेट अभावसँगै सरोकारवालाको बेवास्तासमेत देखिएको छ ।’ विगतमा निर्माणसँग सम्बन्धित पक्षले चासो नदिँदा संघ र प्रदेश सरकारले विनियोजन गरेको बजेट फ्रिज हुने र योजनाको काम अघि नबढ्ने अवस्था देखिएको उनी बताउँछन् । निर्माणाधिन योजनाका लागि गएका दुई आर्थिक वर्षमा मात्रै पालिकामा आएको लाखौँ रकम खर्च नभइ फिर्ता गएको उनले जनाए ।

चौकुनेमा खानेपानी, सिँचाइ, स्वास्थ्यचौकी, वडा कार्यालय र शैक्षिक संस्थाका भवनहरू निर्माण नगरि अलपत्र पारिएका हुन् । पालिकामा डेढ दर्जनभन्दा बढी विद्यालयका भवन मात्रै अलपत्र अवस्थामा छन् । चौकुनेको तोस्रास्थित जनजागृति माध्यमिक विद्यालयको निर्माणाधिन भवन दुुई वर्षदेखि अधुरै छ । त्यहाँ सिभिल इन्जिनियरिङको तीन वर्षे डिप्लोमा कार्यक्रम सञ्चालनका लागि भवन निर्माण थालिएको थियो । चार कोठे उक्त भवनको संरचना निर्माणको कामले अझै पूर्णता पाएको छैन । कर्णाली प्रदेश सरकारको २० लाख बजेटबाट भवन निर्माणको काम सुरु गरिएकोमा निर्माणमा ढिलाई हुँदा १६ लाख बजेट फ्रिज गएको थियो । प्रदेश सरकारबाट प्राप्त चार लाख बजेटको मात्रै काम भएको विद्यालयका प्रधानाध्यापक दिपेन्द्र शर्मा बताउँछन् । ‘काम समयमै सम्पन्न नहुुँदा १६ लाख बजेट फ्रिज गयो,’ उनले भने, ‘२०७७ असार मसान्तसम्म निर्माण सक्नुपर्नेमा ढिलाइ भएपछि बजेट कार्यान्वयन हुन सकेन ।’ विद्यालयको भवन निर्माणमा गाउँपालिकाले समेत १४ लाख बजेट खर्च गरिसकेको छ । त्यस्तै, विद्यालयको आन्तरिक स्रोतबाट दुई लाख बजेट भवन निर्माणमा लगानी गरिएको छ । तर, हालसम्म भवनको जग मात्रै निर्माण भएको छ । बाँकी काम लामो समयदेखि लथालिङ्ग अवस्थामा रहेको प्रधानाध्याापक शर्माले बताए । प्राविधिक शिक्षाका लागि थालिएको भवन निर्माणको काम अहिले बजेट अभावमा रोकिएको विद्यालयले जनाएको छ । निर्माण कार्य सम्पन्न गर्नका लागि आवश्यक बजेटका लागि फेरि प्रदेश सरकारसँग पहल भइरहेको बताइएको छ ।

तोस्रामा जस्तै पालिकाभरी थुप्रै सामुदायिक विद्यालयका भौतिक संरचना निर्माणमा ढिलाइ भएको छ । कतै बजेट अभाव र केहीमा सरोकारवालाको हेलचक्य्राँइले कामको प्रगति हुन नसकेको स्थानीयहरू बताउँछन् । गाउँपालिकाले यसअघि सुरु गरेका आयोजनाहरूको निर्माण कार्य अघि बढाउन यसपटकको बजेट तथा कार्यक्रममा प्राथमिकता दिइएको गाउँपालिका अध्यक्ष विकको दाबी छ । ‘हामी यसपालि नयाँ योजनाभन्दा निर्माणाधिन योजनालाई बढी प्राथमिकता दिएर सम्पन्न गर्नेगरी अघि बढेका छौँ,’ उनले भने, ‘आवश्यकताका आधारमा प्राथमिकीकरण गरी विकास योजनाहरूको कामलाई गति दिइनेछ ।’ चौकुनेमा किसानहरूको मागका आधारमा निर्माण थालिएका थुप्रै सिँचाइ योजनाहरू पनि अलपत्र छन् । त्यस्तै, अधिकांश वडामा खानेपानी समस्या रहेको चौकुनेमा निर्माण थालिएका खानेपानीका संरचना निर्माणमा पनि लापरबाही भइरहेको छ । निर्माण सम्झौता अवधि पूरा भइसक्दा समेत कतिपय योजना अुधरो अवस्थामै छन् ।

निर्माण भएका संरचना प्रयोगमा नआउँदा जीर्ण बन्दै

चौकुनेमा निर्माण अधुरो रहेका योजना मात्रै छैनन् यहाँ निर्माण सम्पन्न भएको वर्षाैंसम्म प्रयोग नआएका भौतिक संरचनाहरू पनि छन् । बनेको धेरै समयसम्म प्रयोग नभएपछि त्यस्ता संरचना संरक्षणको अभावमा जीर्ण बन्दै गएका छन् । पाँच वर्षअघि गाउँसभाले तोस्रामा वन विज्ञान क्याम्पस सञ्चालन गर्ने नीतिगत निर्णय ग¥यो । लगत्तै प्रस्तावित क्याम्पस व्यवस्थापन समिति गठन गरियो । प्रस्तावित नरहरीनाथ वन विज्ञान क्याम्पस स्थापनास्थल तीन वटा सामुुदायिक वनको ३० बिगाह जमिनमा निर्माण कार्य थालियो । २०७४ बाट क्याम्पसका भौतिक संरचना निर्माणको काम थालिएकोमा एक वर्षअघि दश कोठे भवन निर्माण सम्पन्न भइसकेको छ । तर, अहिलेसम्म उक्त भवन प्रयोगमा आएको छैन । अध्यापन अनुमति नपाउँदा प्रस्तावित क्याम्पसका संरचना प्रयोगमा नआएका हुन् । ‘अध्यापनका लागि स्वीकृति मिलेको छैन,’ क्याम्पस पूर्वाधार निर्माण समितिका संयोजक हरिप्रसाद अधिकारी भन्छन्, ‘सम्बन्धन नपाउँदा समस्या भयो ।’ अहिले त्यहाँका भौतिक संरचना बेवारिसे अवस्थामा छन् । पठनपाठन सुरु गर्न अनुमतिका लागि निरन्तर पहल भइरहेको अधिकारीले जनाए । उनका अनुसार क्याम्पस सञ्चालनको स्वीकृतिका लागि चितवनमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा आवश्यक कागजात पेस गरिएको छ । अध्यापन सम्बन्धनका लागि प्रक्रिया थालेको एक वर्षभन्दा बढी भइसक्दा पनि अझै अन्योल कायमै रहेको बताइएको छ । नागरिकस्तरबाट सुरु भएको क्याम्पस सञ्चालन अभियानको स्वामित्व तीनै तहका सरकारले नलिँदा पनि प्रक्रियागत काममा हैरानी खेप्नु परिरहेको क्याम्पस स्थापना अभियानका अगुवाहरू बताउँछन् ।

त्यस्तै, चौकुुनेकै गुटुमा कृषि क्याम्पस सञ्चालनका लागि भौतिक संरचना निर्माणको काम भइरहेको छ । धमाधम निर्माण भइरहेको उक्त प्रस्तावित क्याम्पसको पनि सम्बन्धनको टुँगो भने छैन । अहिले क्याम्पसको १८ कोठे भवनको टेण्डरमार्फत निर्माण कार्य चलिरहेको छ । सो क्याम्पस निर्माणार्थ बजेट व्यवस्था गर्न धार्मिक महायज्ञसमेत सञ्चालन गरिएको थियो । कृषि क्याम्पस सञ्चालन समितिका अध्यक्ष मोहन बडुवालका अनुसार २०८० जेठसम्म भवन निर्माणका काम सम्पन्न गरिसक्नुुपर्ने सम्झौता छ । संरचना निर्माणको प्रगति राम्रो भएपनि अध्यापन अनुमतिको भने निश्चित छैन । केही संरचना बनाएर यो अवधिसम्म पढाइ सुरु गरिसक्ने लक्ष्य रहेपनि सम्बन्धित निकायबाट सम्बन्धन पाउन नसकिएको बडुवाल बताउँछन् । यसअघि क्याम्पसको सम्बन्धनका लागि मध्यपश्चिम विश्वविद्यालयसँग प्रक्रिया अघि बढाइए पनि सफल हुन नसकिएको उनले जनाए । अहिले अध्यापन सम्बन्धनका लागि त्रिभुुवन विश्वविद्यालयसँग पहल थालिएको छ । अध्यापन अनुमति पाउन ढिला भए निर्माण सम्पन्न भएका संरचना जीर्ण बन्ने जोखिम रहेको स्थानीहरूले बताएका छन् ।साझा बिसौनीबाट