☰ open Loading... 20 April 2024|  

लगातारको वर्षाले कर्णालीका सडकहरू अवरुद्ध
  | २५ आश्विन २०७९, मंगलवार ११:२४

दैलेखः बुधबारदेखि परेको अविरल वर्षाका कारण कर्णाली प्रदेशका मुख्य राजमार्गहरु अवरुद्ध भएका छन्। प्रदेशका विभिन्न राजमार्गअन्तर्गत लगभग २० ठाउँमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएको हो।

प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक माधव श्रेष्ठका अनुसार कर्णाली राजमार्ग मात्रै १० ठाउँमा अवरुद्ध भएको छ।

कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुन्डाविन्द्रासैनी नगरपालिका–८ बादुका, दुल्लु नगरपालिका–२ को दरबारेभिर, कालीकोटको तिलागुफा नगरपालिका–१ को गाडगोडेनी र बालुवा, वडा नं ३ को राँचुली, वडा नं ५ को धनडाँ, खाँडचक्र नगरपालिका वडा नं १ को सुनारखोला, वडा नं २ को ज्यानमाराभिर र वडा नं ३ को खरिखोलामा पहिरो जाँदा सडक अवरुद्ध भएको छ।

त्यस्तै छिन्चु–जाजरकोट सडक खण्डअन्तर्गत सुर्खेतको गुर्भाकोट–९ को पोखरे, सुर्खेतकै सिम्ता गाउँपालिका–४ को बालिखोला र जाजरकोटको भेरी नगरपालिका–१० को कालाभुरमा पहिरोले सडक अवरुद्ध भएको छ। रातानाङ्ला–धरमपोखरा सडक खण्डको वीरेन्द्रनगर–१३ को राउते गल्छी, सुर्खेत–दैलेख सडक खण्डअन्तर्गत गुराँस गाउँपालिकाको रातिखोला र चोचेखोलामा पनि सडक अबरुद्ध छ।

यसैगरी बोटेचौर–दाङ सडक खण्डअन्तर्गत गुर्भाकोट नगरपालिका–१ को काल्चे, बोटेचौर सल्यान सडक खण्डको गुर्भाकोट–३ को भुजेल र राप्ती राजमार्गअन्तर्गत रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका–३ को खारानेटामा पनि सडक अवरुद्ध भएको प्रवक्ता श्रेष्ठले बताए। ‘अवरुद्ध सडक खुलाउन प्रहरी, स्थानीय र जनप्रतिनिधि सक्रिय हुनुहुन्छ। यद्यपि पानी परिरहेका कारण पहिरो पन्छाउन समस्या भएको छ’, उनले भने।