जुम्ला — अविरल वर्षापछि गएको बाढीपहिरोका कारण बन्द नाग्म–गमगढी सडक २ हप्तापछि खुलेको छ । असोज २० गतेदेखि सडक बन्द भएको थियो । नाग्म–गमगढीसम्मको ९३ किलोमिटर सडकखण्डको सयौं स्थानमा पहिरो झरेको थियो । पहिरो पन्छाउन सडक डिभिजन कार्यालय जुम्लाले विभिन्न चरणमा गरेर ७ वटा एक्स्काभेटर लगाएको थियो । सडक डिभिजन प्रमुख राजीव श्रेष्ठले शुक्रबार राति १ बजेदेखि सडक खुलेर यातायात सेवा सञ्चालन भएको बताए । उनका अनुसार सयौं सवारीसाधन सडकमा रोकिएका थिए ।
उनले सडक खुले पनि केही स्थानमा हिलोका कारण यात्रा कठिन हुने देखिएको बताए । ‘हिलोले सडकमा समस्या ल्याएको छ,’ उनले भने, ‘लेन्थवर्कर र डोजर लगाएर हिलो पन्छाउने काम भइरहेको छ । ट्रयाक खुलिसकेकोले सवारीसाधन आवागमन व्यवस्थित हुँदै जाने देखिन्छ । कठिन क्षेत्रमा लेन्थवर्कर परिचालन गरेर सहज बनाउने काम हुँदैछ । ’
सिन्जाको विष्टबाडा,कनकासुन्दरीको गोठिजिउला खण्ड,बुलबुलेदेखि जिया हुँदै सात मोड र गमगढीदेखि ताल्चासम्मको क्षेत्रमा ठूलठूला पहरो झरेको थियो ।
अहिले मुगुको ताल्चादेखि झ्यारी लेकसम्मको सडकखण्ड बढी हिलाम्य देखिन्छ । गोठिजिउला,जिअ,कोटा,जुगाड,बुलबुलेलगायतको क्षेत्रमा हिलो पन्छाउने काम भइरहेको छ । मुगुको पिना गाउँनजिकैको क्षेत्रमा पनि सडकमा हिलो थुप्रिएपछि समस्या छ ।
कर्णाली राजमार्गमा गएको पहिरो हटाउनका लागि नेपाली सेनाको २४ नम्बर बाहिनी र नन्दाबक्स गणबाट टोली खटिएको छ । सडकमा झरेका ठूला ढुंगामा ब्लास्टिङ गर्ने कार्य भइरहेको गणपति रवीन थापाले जानकारी दिए ।