☰ open Loading... 24 July 2024|  

प्रधानमन्त्री कप क्रिकेट : कर्णाली प्रदेशमाथि ४४ रनको जित निकाल्दै एपीएफ सेमिफाइनलमा
  | २० कार्तिक २०७९, आईतवार ०५:०८

कर्णाली प्रदेशमाथि ४४ रनको जित निकाल्दै विभागीय टोली एपिएफ काठमाडौंमा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा शनिवार भएको खेलमा एपिएफले कर्णालीलाई ४४ रनले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हो । एपीएफले दिएको २ सय ३५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कर्णालीले ४८ ओभर १ बलमा सबै विकेट गुमाएर १ सय ९० रन मात्र बनाउन सक्यो ।

कर्णालीका लागि रविन्द्र शाहीले ८० रनको अर्धशतकीय इनिङ खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै विपिन शाहीले ३४ रन जोड्दा अर्जुन घर्तीले २४ तथा दिनेश अधिकारीले २० रन बनाए । एपीएफका मौसम ढकालले ४ विकेट लिए । कमल ऐरी र भुवन कार्कीले २÷२ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले आसिफ शेखको शतकीय पारीको सहयोगमा ४७ ओभर २ बलमा अलआउट हुँदै २ सय ३४ रन बनाएको थियो । एपीएफका लागि आसिफ शेखले १ सय ३० रनको शतकीय इनिङ खेले । १ सय ३६ बलको सामना गरेका आसिफले १५ चौका र एक छक्का प्रहार गरेका थिए ।

यस्तै भुवन कार्कीले २३ रन जोड्दा प्रदीप ऐरीले २० रन बनाए । लोकेश बम र दीपक बोहराले १०÷१० रन बनाए । कर्णालीका दीपेन्द्र रावत र प्रकाश जैसीले ३÷३ विकेट लिए । दिवन पुनले २ विकेट लिए । यस जितसँगै एपीएफले ४ खेलमा ७ अंक जोडेर अन्तिम चारमा स्थान पक्का गरेको हो । एपीएफ शीर्ष स्थानमा रहेको छ । कर्णालीले भने लगातार दोस्रो हार भोगेको छ ।

प्रतियोगिता अन्तर्गत शनिवार मुलपानी मैदानमा सम्पन्न खेलमा मधेस प्रदेशले लुम्बिनी प्रदेशलाई ९२ रनले पराजित ग¥यो । मधेसले दिएको २ सय ६० रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित ५० ओभर सकिन एक ओभर बाँकी रहँदा सबै विकेट गुमाएर मात्र १ सय ६७ रन बनाउन सक्यो । जवाफी ब्याटिङ गरेको लुम्बिनीकालागि विशाल विक्रम केसीले सर्वाधिक ३४ रनको पारी खेल्दा कृष्ण कार्कीले ३१, सन्दिप रिजालले २३ र बसिर अहम्मद तथा मोहम्मद हुसेनले समान १५ रनको पारी खेलेका थिए । यस्तै अभिषेक गौतम २ रनमा अविजित रहे ।

लुम्बिनीको इनिङलाई सस्तैमा रोक्ने क्रममा मधेसका राजेश यादव र प्रदीप पासवानले समान ३÷३ विकेट लिए । यस्तै हरिशंकर साहले दुई विकेट निकाल्दा रुपेश सिंहको नाममा एक विकेट रह्यो ।

यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मधेसले ४८ ओभर ४ बलमा सबै विकेट गुमाएर २ सय ५९ रन बनाएको थियो । ओपनर सन्तोस कार्की र हरिशंकर शाहले अर्थसतकीय पारी खेले । सन्तोषले ५० रन बनाउँदा हरिशंकर शाहले ७६ रनको व्यक्तिगत स्कोर बनाएका थिए ।

यस्तै अनिल साहले पनि अर्धसतकीय पारी खेल्दा विवेक यादवले २१, मोहम्मद आदिल अलामले १२ रन जोड्नु बाहेक अन्यले राम्रो स्कोर बटुल्न सकेनन् । मधेसको सबै विकेट निकाल्ने क्रममा कृृृष्ण काकीले सर्वाधिक ३ विकेट हात पारे । अनिल खरेलले २ विकेट निकाल्दा बसिर अहम्मद, देव खनाल, मोहम्मद हुसेनको नाममा एक÷एक विकेट रह्यो ।

प्रतियोगितामा आईतवार पनि दुई खेल हुनेछन् । मुलपानी क्रिकेट मैदानमा गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लव तथा कीर्तिपुर मैदानमा प्रदेश १ र लुम्बिनी प्रदेशबीच खेल हुनेछ ।