सुर्खेत । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले मापदण्ड पुरा नगरी गुणस्तरहीन वस्तु उत्पादन तथा विक्री वितरण गर्ने १० वटा उद्योग तथा फर्मलाई कारबाही गरेको छ ।
कार्यालयले पछिल्लो चार महिनाको अवधिमा सुर्खेतका ती मापदण्ड विपरीत दश उद्योग तथा फर्मलाई सिल गरेर उत्पादन तथा विक्री वितरणमा रोक लगाएको हो । कार्यालयले पछिल्लो चार महिनामा अनुगमनका क्रममा डेढ लाख मूल्यका खान अयोग्य खाद्यवस्तुहरू जफत गरी नष्ट गरेको जानकारी दिएको छ ।
आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरिएको प्रथम त्रैमासिक प्रगति विवरण सार्वजनिक कार्यक्रममा कार्यालयका प्रमुख भेषबहादुर थापाले पछिल्लो चार महिनामा कर्णालीका दशै वटै जिल्लामा २ सय ४८ पटक उद्योग तथा बजार अनुगमन गरिएको जानकारी दिनु भयो । उहाँले न्यून साधन स्रोतसँगै २१ जना दरबन्दी रहेको कार्यालयबाट हाल ६ जनाले कर्णाली प्रदेशका ७ जिल्लाभर बजार नियमन तथा अनुगमन गर्नुपर्ने बाध्यता रहेको बताए ।
कार्यक्रममा सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले मानव जीवनको प्रत्यक्ष स्वास्थ्यसँग जोडिएको क्षेत्रमा न्यून साधन स्रोतका बाबजुद कार्यालयले सन्तोषजनक कार्य गरिरहेको प्रति धन्यवाद व्यक्त गरे ।