☰ open Loading... 24 July 2024|  

मित्रनगरमा लालपुर्जा सधैँ चुनावी मुद्दा
  | २१ कार्तिक २०७९, सोमबार ०५:३३

सुर्खेत: वीरेन्द्रनगर–४ मा भूमिहीनहरूको एउटा बस्ती छ । मित्रनगर टोल भनेर चिनिने यो बस्तीमा ६५ घरधुरी छन् । त्यसमध्ये ९५ प्रतिशत दलित समुदायको बसोबास छ । प्रदेश आयुर्वेद औषधालयको उत्तर–पूर्वमा रहेको मित्रनगरमा रातदिन लालपुर्जाकै पिरलो छ । वर्षाैदेखि घरबास बनाएर बसेका बासिन्दासँग जमिनको स्वामित्व छैन । प्रदेश राजधानीकै बस्ती भएपनि यहाँ पुग्दा जोकोहीलाई कतै विकट गाउँमा पुगेको भान हुन्छ । हरेक चुनावमा राजनीतिक दल र तीनका उम्मेदवारले लगाउने ‘लालपुर्जा वितरण’को नाराले मित्रनगरमा आश पलाउँछ । चुनाव सकिएसँगै मित्रनगरको मुख्य समस्या लालपुर्जाको मुद्दा सेलाउँछ । हरेक चुनावमा यही अवस्था भोग्दै आएको मित्रनगर यसपालि पनि आशमा छ ।

मंसिर ४ गते हुने संसदीय निर्वाचनका उम्मेदवारले भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबासीका समस्यालाई आफ्ना चुनावी प्रतिबद्धतामा प्राथमिकताका साथ राखेका छन् । विश्वास नभए पनि दशकौँदेखि बस्दै आएको थातथलो आफ्नो नाममा हुन्थ्यो कि भन्ने आशा नमरेको स्थानीय नन्दा कसेरा बताउँछिन् । ‘ऐलानी बस्तीमा अरु अभाव र अप्ठ्यारा कति झेलिएको छ त्यो त झन भनिसाध्य छैन ।’ उसो त २०७४ को निर्वाचनताका सबैजसो उम्मेदवारले यही एजेन्डा उठाएका थिए । तीन वटै तहमा निर्वाचित कुनै पनि जनप्रतिनिधिको चासोमा भूमिहीनको व्यवस्थापन परेन । यसपालि फेरि लालपुर्जाको चुनावी नारा लिएर धमाधम उम्मेदवारहरू मित्रनगर पसेका छन् । आश्वासनले आजित मतदाता भने आश मान्नैपर्ने बाध्यतामा छन् । सोही ठाउँकी बालकुमारी पुनले लालपुर्जाको आश्वासन दिन नेताहरू घरदैलोमै आउने गरेको सुनाइन् । ‘अहिलेसम्म यी नेताहरूले के गरे भन्नु ? अब फेरि भोट हाल्ने समय आयो,’ उनले भनिन्, ‘भोट त हाल्नै पर्ने होला ।’ जग्गाधनी पुर्जा नहुँदा बैकिङ्ग कारोबार र ऋण सापटसमेत गर्न समस्या हुने गरेको उनले बताइन् । बस्तीमा बेरोजगारी समस्या ब्याप्त छ । कमाउने उमेरका थुप्रै युवा बेरोजगार छन् । सिँगो बस्ती बेरोजगार छ । ‘कमाइ गर्ने बाटो केही छैनन्, कतै धितो राखेर ऋण मागौँ जग्गाको लालपुर्जा छैन,’ बालकुमारी भन्छिन्, ‘न काम पाइन्छ न त व्यापार व्यवसाय गर्न सजिलो छ । आफ्नो नाममा जग्गा नहुँदा सहकारीले समेत ऋण पत्याउँदैनन् ।’

तीन÷चार पुस्तादेखि ऐलानी जमिनमा गुजरा चलाउँदै आएका मित्रनगरवासीलाई नेताले बोलेको विश्वास लाग्नै छोडेको छ । पछिल्ला तीन दशकयता यो ठाउँमा आश्वासन बोकेर कैयन नेता पुगेका छन् । दर्जनौँ आश्वासन बाँडेका छन् । तर, एउटा पनि प्रतिबद्धता पूरा नगरेपछि मित्रनगर टोल निराश छ । मुख्य समस्या लालपुर्जाको भएपनि खानेपानी, सडक र रोजगारका उस्तै पीडा छन् । कतिपय यतै मजदुरी गरेर गुजरा चलाउँछन् भने अधिकांश युवा कमाउन कालापहाड (भारत) पुग्छन् । युवाहरूलाई चुनावका बेला खुबै प्रयोग गरिए पनि उनीहरूका समस्याप्रति नेताहरूको चासो देखिँदैन । काशीराम विकले युवाहरू चुनावमा मात्र प्रयोग हुने गरेको बताए । वीरेन्द्रनगरको पुरानो बस्ती मित्रनगरमा विपन्नहरूको बाहुल्यता छ । चुनाव नजिकिएसँगै मित्रनगरमा एक पटक फेरि लालपुर्जा, रोजगारी र विकासको चर्चा चुलिएको हो । टोलमा करिब डेढ सय हाराहारी मतदाता छन् । निर्वाचनका बेला मत माग्न प्रत्येक मतदातासँग भेट गर्ने नेताहरू चुनाव सकिएपछि हराउँछन् । अर्को पटक भोट माग्न मात्र बस्तीमा पुग्छन् । ‘विकासको कुरै छोडौँ, चुनावमा जितेपछि एक पटक फर्किएर आउँदैन्,’ स्थानीय रामबहादुर नेपाली भन्छन् ।

वीरेन्द्रनगर–४ का वडा अध्यक्ष शेरबहादुर केसीले उक्त टोलमा सबै लालपुर्जाविहीन भएको बताए । भूमिहीन यो बस्तीको समस्या समाधान गर्न वडाले आवश्यक पहल थालेको उनी बताउँछन् । ‘अहिले लालपुर्जाका लागि वडाले भूमि आयोगसँग समन्वय गरेर प्रक्रियागत कामहरू अघि बढाएको छ’, उनले भने, ‘चुनावका कारण केही समय काम रोकिएको छ । चुनाव सकिएलगत्तै उहाँहरूका समस्या हल गर्नेगरी पहल थालिनेछ ।’ उनका अनुसार बस्तीमा रहेको कच्ची सडक स्तरोन्नति गर्न प्रदेश सरकार, नगरपालिका र वडाले गरी ६३ लाख बजेट बिनियोजन गरिएको छ । पछिल्लो समय मित्रनगरमा खानेपानीको समस्या भने नरहेको उनको भनाइ छ ।

जैसरा विकको परिवार २०२५ सालदेखि उक्त ठाउँमा बस्दै आएको छ । गरिबी र अशिक्षाका कारण आश्वासन बाँडेर भोट प्रभावित पार्न सकिने देखेर नेताहरूले बस्तीलाई ‘भोट बैंक’ का रूपमा मात्रै हेर्ने गरेको जनाइन् । ‘अहिले त साह्रै दिक्क लाग्छ, वर्षाैंदेखि नेताका एजेन्डा उही छन्,’ उनले भनिन्, ‘न लालपुर्जा मिल्छ न त अरु केही सुविधा पाइन्छ ।’साझा बिसौनीबाट