☰ open Loading... 12 June 2024|  

पूर्वाधार विकास कार्यालयका तत्कालिन निमित्त प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
  | १४ मंसिर २०७९, बुधबार ०५:०६

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सल्यानको शारदा नगरपालिका–१५ अन्तर्गत पूर्वाधार विकास कार्यालयका तत्कालीन निमित्त प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

 

आर्थिक वर्ष २०७७/०७८ मा सडक निर्माण कार्यमा लागत अनुमानविपरीत कार्य गरी कागजमा सडक निर्माण भएको भनी देखाएर पूर्वाधार विकास कार्यालयका निमित्त कार्यालय प्रमुखलगायतले भ्रष्टाचार गरिएको पाइए पछि मुद्दा दर्ता गरिएको आयोगले जनाएको छ ।

 

आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार पूर्वाधार विकास कार्यालय सल्यानका तत्कालीन निमित्त प्रमुख इन्जिनियर विनोद पुन, सवइन्जिनियर प्रकाश शाही र कुमार बोहोराले सडक निर्माणमा नगरेको कामकोसमेत विवरण चढाई प्रतिवेदन तयार पारेको पाइएको छ । उनीहरुविरुद्ध आयोगले रु सात लाख १४ हजार ४१ बराबरको बिगो दाबी गरेको छ ।

 

नापी किताबमा गलत विवरण तयार पारेर नक्कली बिल भर्पाई बनाइको पाइएकाले आरोपीसँग बिगोबमोजिमको कारबाही र कैद सजायको माग आयोगले गरेको छ । आयोगले सुन्दरडाँडा थाङनेखोला सडक निर्माण उपभोक्ता समितिका तत्कालीन अध्यक्ष कुलबहादुर बुढा, कोषाध्यक्ष नन्दकुमारी कवर र सचिव मानदेव कवरविरुद्ध रु सात लाख १४ हजार ४१ बराबरको भ्रष्टाचार गरेको आयोगको दाबी छ ।