☰ open Loading... 8 February 2025|  

कालीकोट : मान्म–कोटबाडा जोड्ने केबलकारको अन्तिम डीपीआर रिर्पोट सार्वजनिक
  | १६ फाल्गुन २०७९, मंगलवार ०५:३२

कालीकोट – कालीकोटको सदरमुकाम मान्म बजारदेखि सुनथराली विमानस्थल कोटबाडा जोड्ने केबलकारको अन्तिम डीपीआर रिर्पोट सार्वजनिक भएको छ । सोमवार जिल्ला सदरमुकाम मान्ममा कन्सलटेन्सीका तर्फबाट सहजकर्ता गुणराज ढकालले अन्तिम डीपीआर रिर्पोट सार्वजनिक गरेका हुन ।

रिर्पोट सार्वजनिक कार्यक्रममा प्रतिनिधि सभाका सदस्य महेन्द्रबहादुर शाही, कर्णाली प्रदेशका भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत मन्त्री मंगल शाही, कर्णाली प्रदेशका उपसभामुख यशोदा न्यौपाने, राज्यमन्त्री उर्मिला विश्वकर्मा, प्रदेश सभाका सदस्य, जिल्लामा रहेका राजनीतिक दल, पत्रकार र सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमका सहभागीहरूले केबलकारका विषयमा राखेका प्रश्नहरूको जवाफ दिँदै प्रतिनिधि सभा सदस्य शाहीले भन्नुभयो “केबलकार कसैको आँखामा छारो फाल्नका लागि नभई दक्षिण एसियाकै पर्यटकीय गन्तव्यको रूपमा विकसित गर्ने लक्ष्यका साथ सुरुवात गरिएको हो ।” सरकारले यो योजना गौरवको योजनाको रूपमा नलिए नागरिकको लगानीमा तयार गर्ने उहाँले प्रतिबद्धता जनाए ।

२ हजार १ सय ५७ मिटरको दुरीमा रहने केबलकारको डीपीआर स्विट्जरल्यान्ड र इटालीका इन्जिनियरको सहयोगमा तयार पारिएको सहजकर्ता ढकालको बताए ।

कर्णाली प्रदेशलाई पर्यटकीय गन्तव्य बनाउन, विमानमा कोटबाडा आएका यात्रुहरूलाई सदरमुकाम मान्म ल्याउन र सुनथराली विमानस्थलबाट बडीमालिका जान केबलकार बनाउन थालिएको हो । विमानस्थलबाट मान्म आउन धेरै समय लाग्ने भएकाले यात्राको दुरी छोटो बनाउन केबलकार बनाउ लागिएको हो ।

केबलकार निर्माणमा १ अर्ब १४ करोड ८४ लाख ६५ हजार ८ सय ९० रुपैयाँ ६८ पैसा लागत अनुमान गरिएको पूर्वाधार विकास कार्यालय कालीकोटको आयोजना प्रमुख रामचन्द्र बिसीले बताए।