☰ open Loading... 9 February 2025|  

कर्णाली राजमार्गमा खाल्डाखुल्डी
  | २१ फाल्गुन २०७९, आईतवार ०५:२३

सुर्खेत — पहिलो पटक राराताल हेर्न मुगु पुगेका काठमाडौंका महेश हमालले धेरै सास्ती खेपे । ‘साँघुरो बाटो, एउटा गाडी बिग्रिए पनि घन्टौं जाम, दुर्घटनाको जोखिम उस्तै,’ उनले भने । जताततै खाल्डाखुल्डीको पट्यारलाग्दो यात्रा पार गरेर झण्डै १४ घण्टापछि सुर्खेतबाट रारा पुगेको उनको भनाइ छ ।

कर्णाली राजमार्गअन्तर्गत दैलेख र कालीकोटको सीमास्थित दहीखोला आसपासको क्षेत्रका सडक ।कतिपय ठाउँमा माथिबाट ढुंगा खसेर जाम हुने र सडकको पिच देख्नै मुस्किल रहेको यात्रुहरू बताउँछन् ।

संघीय सरकारले कर्णाली राजमार्गलाई बेवास्ता गर्दा कर्णालीवासी कष्टकर यात्रा गर्न बाध्य भएको स्थानीयको बुझाइ छ ।एक दशकअघि ओटासिल प्रविधिको कालोपत्र गरिएको कर्णाली राजमार्गको अधिकांश खण्ड ‘वान वे’ छ ।

अधिकांश ठाउँको कालोपत्रे उप्किएपछि वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे यात्रा गर्नुपर्ने बाध्यता छ । जसका कारण कर्णाली राजमार्गको बाटोमा एकपटक यात्रा गरेकाहरू अर्कोपल्ट फर्केर जानै डराउँछन् । उनका अनुसार अधिकांश ठाउँमा ५ मिटरमा मात्र सडक छ भने घुम्ती नमिलेका कारण गाडी ब्याक गर्दै यात्रा गर्नुपर्ने बाध्यता छ । उनले पर्यटकहरू कर्णालीमा नआउनुको मुख्य कारण नै सडकको दुरवस्था भएको बताए ।

सुर्खेतदेखि जुम्ला सदरमुकामसम्म २ सय २४ किलोमिटर सडक छ । तर खाल्डैखाल्डा भएको सडकमा खाल्डा जोगाउन खोज्दा दुर्घटनामा पर्नुपर्ने खतरा भएको गाडीचालक कमल विकले बताए । उनका अनुसार सुर्खेतबाट जुम्ला गाडी लैजाँदा पट्टा नभाँचिएको, टायर नपड्किएको दिनै हुँदैन । ०७२ सालमा विश्व बैंकको झन्डै १ अर्ब रुपैयाँ अनुदानबाट सुर्खेत–जुम्ला सडकमा कालोपत्र गरिएको थियो । तर अधिकांश ठाउँको कालोपत्र उप्किसकेको छ ।

सडक डिभिजन डिभिजन कार्यालय सुर्खेतका अनुसार मर्मतका लागि २०७६ यता ६८ करोड ७९ लाख ७१ रुपैयाँ खर्च भइसकेको छ । त्यस्तै सडक डिभिजन कार्यालय जुम्लाले पनि २०७७ यता ७० करोड ८२ लाख रुपैयाँ मर्मतमा खर्च भइसकेको जनाएको छ । तर पनि सडकको अवस्था भने उस्तै भएको नागरिक अगुवा कमान पाण्डेले बताए । उनका अनुसार रारा पुगेर फर्केका पर्यटकहरू कर्णाली राजमार्गको पहिलो यात्रा नै आफूहरूका लागि अन्तिम भएको बताउँछन् ।

पादुका, दहीखोला, कालेखोला, हुल्म, सेरिघाट, सुनारखोला, ताडी, टिमुरेलगायत भीरमा जोखिमै जोखिममा यात्रा गर्नुपर्ने बाध्यता भएको उनले बताए । उनका अनुसार रिजर्भ गाडी एक दिनमा सुर्खेतबाट जुम्ला पुगे पनि यात्रुवाहक गाडीहरू एक दिन कालीकोटमा बास बस्छन् ।

सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी चित्र चौलागाईंले पर्याप्त बजेट नआउँदा राजमार्ग झन् जीर्ण बन्दै गएको बताए । जुम्लादेखि कालीकोटको दहीखोलसम्मको १ सय ४ किलोमिटर छ । तर बर्षेनि ६० किलोमिटर खण्डमा मात्र मर्मतका लागि बजेट आउँछ । सडक बिग्रिँदै गएपछि दुर्घटनासमेत बढेको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार कर्णाली राजमार्गमा भएका दुर्घटनामा २०७६ यता ४ सय ३४ जनाको ज्यान गएको छ ।कान्तिपुरबाट