☰ open Loading... 24 July 2024|  

झाडापखालाबाट एक जनाको मृत्यु
  | २२ फाल्गुन २०७९, सोमबार ०५:२६

जाजरकोट — जाजरकोटको जुनीचाँदे गाउँपालिकामा झाडापखालाका कारण एक जनाको मृत्यु भएको छ । जुनीचाँदे गाउँपालिका-७ जुनीका ५१ वर्षीय जयराज रोका मगरको मृत्यु भएको स्वास्थ्य शाखा प्रमुख प्रेमबहादुर शाहीले बताए।

गत फागुन १८ गतेदेखि झाडापखाला लागी बिरामी भएका रोकाको मृत्यु भएको शाहीले बताए। साथै उनका छोरा १४ वर्षीय अनमोल रोका मगर बिरामी छन् ।

आइतबार स्वास्थ्य शाखा मजकोट र प्रहरी चौकी मजकोटको टोली उक्त स्थानमा पुगेर अनमोलको प्राथमिक उपचार गरेको शाहीले बताए।

रोकालाई थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पठाइएको छ। गाउँपालिकामा असोजदेखि औषधि अभाव छ।

गाउँपालिकाले मंसिरमा २१ लाख ५० हजारको औषधि खरिद गर्दा समेत स्वास्थ्य संस्थामा नदिएको स्वास्थ्यकर्मीहरूको गुनासो छ। जाजरकोटमा यसअघि पनि विभिन्न समयमा झाडापखालाका कारण मानिसहरूको मृत्यु भएको थियो । तैपनि सरकारले दुर्गम क्षेत्रमा औषधि वितरणलाई व्यवस्थित गर्न सकिरहेको छैन ।