☰ open Loading... 16 June 2024|  

सोमपाल र दिपेन्द्रको उत्कृृष्ट बलिङमा नेपालकाे शानदार जित
  | २३ फाल्गुन २०७९, मंगलवार ०५:१२

काठमाडौं । विश्वकप लिग दुई अन्तर्गत युएईमा भएको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले शानदार जित हासिल गरेको छ । दुबईमा भएको खेलमा नेपालले घरेलु टोलीलाई ४२ रनले पराजित गरेको हो ।

नेपालले दिएको २३० रनको लक्ष्य पछ्याएको युएईले ४५ ओभरमा सबै विकेट गुमाएर १८७ रन बनायो । नेपालको जितमा सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले उत्कृष्ट बलिङ गरे । सोमपालले ७ ओभर बलिङ गर्दै २६ रन दिएर ३ विकेट लिए भने दिपेन्द्रले ८ ओभरमा १८ रन दिएर ३ विकेट नै लिए । ब्याटिङमा युएईका आसिफ खानले सर्वाधिक ८२ तथा आर्यन लाक्राले ५० रन बनाए । यस्तै वृत्य अरविन्दले १३ रन बनाउँदा अन्य कुनै ब्याटरले दोहोरो रन बनाउन सकेनन् ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभर खेल्दै आठ विकेट गुमाएर २२९ रन जोडेको थियो । नेपालका लागि सर्वाधिक भीम सार्कीले ९९ बलमा सात चौका प्रहार गर्दै ७० रनको योगदान गरे। उनको यो राष्ट्रिय टिमबाट पहिलो अर्थशतक हो। यसैगरी आरिफ शेख ५६ बलमा २ चौका र एक छक्काको मद्दतमा ४३ रनमा नटआउट रहँदा ३२ रन जोडेर कुशल मल्ल आउट भए। सन्दीप लामिछानेले २७ रन जोडेर आउट भए। युएईका जुनैद सिद्धिकीले ३ विकेट लिए ।

जितसँगै नेपालले युएईलाई पछि पार्दै ३२ अंकका साथ लिग २ मा पाँचौं स्थानमा उक्लिएको छ । शीर्ष पाँचमा रहँदै सोझै ओडीआई मान्यता प्राप्त गर्न अब चार मध्ये दुई खेलमा जित निकाले पर्याप्त हुनेछ । लिग २ को अन्तिम सिरिज नेपालमा बिहीबार देखि सुरु हुनेछ । नेपाल, पपुवा न्युगिनी र युएईबीच टियुमा त्रिकोणात्मक ओडीआई सिरिज हुनेछ ।