☰ open Loading... 22 June 2024|  

दैलेखमा कुटपिटबाट एकजनाको ज्यान गयो
  | २४ फाल्गुन २०७९, बुधबार ०५:०९

दैलेख । दैलेखमा कुटपिटबाट एकजनाको ज्यान गएको छ । छिमेकी युवाहरुको कुटपिटबाट दैलेखको नारायण नगरपालिका–११ बिन्ध्यवासिनीका ५३ वर्षीय गगनबहादुर बिकको ज्यान गएको हो ।

छिमेकीका श्रीमान श्रीमति झगडा गरिरहेको ठाउँमा सम्झाउन खोज्दा गगनबहादुर माथि जाई लागेर घाइते बनाएको र उपचारको क्रममा ज्यान गएको बताइएको छ । गगनबहादुरलाई कसैले कुटपिट गरेका भन्ने जानकारीका आधारमा घटनास्थल पुगेर प्रहरीले घाइते अवस्थामा फेला पारेको र उपचारका लागि दैलेख अस्पताल पुर्‍याएपछि ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरीक्षक (डीएसपी) किशोर लम्सालले बताए ।

बिन्ध्यवासिनीको भन्भने पुल नजिकै आफ्नो घट्टमा काम गर्दै गरेका बिकलाई छिमेकी २६ वर्षीय तुलबहादुर सिंह र २२ वर्षीय भूपेन्द्र बुढाले कुटपिट गरेर मसानघाट लोहोरे खोला फाल्न खोेजेको बेला स्थानीयले प्रहरीलाई खबर गरेको बताइएको छ ।

घटनामा संलग्न आरोपितहरुको खोजी भइरहेको र घटनाको अनुसन्धानका लागि प्रहरी निरीक्षकको नेतृत्वमा टोली खटाइएको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरी नायव उपरीक्षक (डीएसपी) लम्सालले जानकारी दिए ।