☰ open Loading... 24 July 2024|  

झोलुङ्गे पुल मर्मत नहुँदा सास्ती
  | १ चैत्र २०७९, बुधबार ०५:१३

सुर्खेत, । जाजरकोटको शिवालय गाउँपालिका वडा नम्बर ५ र ७ जोड्ने कल्यानमा झोलुङ्गे पुल जीर्ण हुँदा स्थानीयवासीलाई सास्ती भएको छ । २०७२ सालमा विदेशी संस्थाको करिब ३५ लाख बजेटमा निर्माण भएको झोलुङ्गे पुल गत असोजमा अविरल वर्षका कारण जीर्ण हुँदा स्थानीयलाई सास्ती भएको हो ।

 

शिवालय गाउँपालिकाको कार्यालय जाने बाटो पनि यहीँ पर्छ । शिवालय गाउँपालिकाको व्यापारीक केन्द्रमा पनि यही पुल हुँदै दैनिक सयौँ नागरिकको आउजाउ हुन्छ । गाउँपालिका ५ का सल्लेरी, बिराल्सीमा, काउँला, डाँडाबाडा र वडा नम्बर ६ का काडागाउँ लगायतका नागरिक गाउँपालिकाको कार्यालय आउजाउ गर्ने बाटो यही पुल भएर हो । तर वर्षौंदेखि सञ्चालनमा आएको पुल मर्मतमा भने कसैले चासो देखाएका छैनन् । झोलुङ्गे पुलको जीर्णोद्वारका लागि स्थानीयवासीले आवाज उठाए पनि पुलको अवस्था झनै नाजुक हुँदै गएको छ । शिवालय गाउँपालिकाको विभिन्न स्थानमा नयाँ पुलहरु बनाउन सरकारी निकाय सक्रिय भएपनि भएका पुराना पुलहरु मर्मत सम्भार गर्नतर्फ कसैको ध्यान जान सकेको छैन । पुल जीर्ण बन्दा शिवालय गाउँपालिका ५ र ७ का नागरिकलाई निकै समस्या भएको स्थानीयवासी सपना बुढाले बताइन् ।

 

‘गाउँपालिकाकी उपाध्यक्ष र ५ का वडा अध्यक्ष लगायत अन्य जनप्रतिनिधि पनि गाउँपालिकाको कार्यालय जाने बेला यही बाटोबाट जानुहुन्छ । पुल जीर्ण अवस्थामा रहेको थाहा हुँदै पनि यसमा केही चासो दिनुभएको छैन् । दैनिक यस्तो जीर्ण बनेको पुलमा एक सय भन्दा बढी नागरिकको आवतजावत हुने गर्दछ ।

 

तर पनि पुल मर्मत गर्ने केही कुरा उठेको छैन्’ उनले भनिन् । गाउँपालिका–५ का स्थानीयवासी उक्त पुलबाटै दैनिकजसो घट्ट, मिललगायत अन्य कामको लागि उनीहरुले जाखिम मोलेर ओहोर–दोहोर गर्ने गर्दछन् । ‘हामी जोखिम मोलेरै यो पुलबाट ओहोरदोहोर गर्छाैं, पुलका फलेक, तार जाली केही पनि छैन, वडा अध्यक्षदेखि गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष समेतलाई पुल जीर्ण बनेको थाहा भएपनि उहाँहरुले पुल मर्मतको लागि कुनै पनि पहल गर्नुुहुन्न’ अर्का एक जना स्थानीय निर्मल क्षेत्रीले मध्यान्हसँग भने ।

 

वडा नम्बर–५ का नागरिकहरु पनि जोखिम मोलेरै जीर्ण अवस्थामा रहेको पुलबाट गाउँपालिकाको कार्यालय, खलङ्गा, सुर्खेत आउँने गर्दछन् । हामी केही सामान किन्न परे पालिकामा यही पुलबाट जान्छौँ, भनेको समयमा गाडी पाइएत गाडीमा जान्छौं, यो पुलमा जानुपर्देन्, तैपनि सधँैभरि गाडी पाइँदैन, हामी गाडी नपाएपछि हिँड्दै सामानको भारीसँग यो पुलमा डरैडरले ओहोरदोहोर गर्छाैं’ ५४ वर्षकी एक जना महिलाले भनिन्  । यता गाउँपालिकाकी उपाध्यक्ष गिता शाहीले उक्त स्थानमा पुल मर्मत गर्ने कि नयाँ पुल बनाउने भन्ने विषयमा ठोस निर्णय लिन नसेकेको बताइन् । ‘हामीले बजेट त विनियोजन गरेका छौं, तर पुल नयाँ निर्माण गर्ने कि त्यही पुललाई मर्मत गर्ने भन्ने बारेमा हामीले छलफल गर्दै छौं’ उनले भनिन् । उक्त पुल मर्मत सम्भारको लागि गाउँपालिकाबाट करिब ५२ लाख बजेट विनियोजन गरिएको छ ।