☰ open Loading... 19 April 2024|  

नागरिकको मन जित्दै स्थानीय सरकार
  | ५ चैत्र २०७९, आईतवार ०५:१७


दैलेख  :  स्थानीय सरकारले नागरिकको मत जित्न नसकिरहेको आरोप लागिरहेको बेला जिल्लाका केही स्थानीय सरकारले नागरिकको मत जित्न प्रयास गरेका छन् । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा विजयी भएका जनप्रतिनिधिले निर्वाचनको बेला गरिएका प्रतिबद्धताहरू पुरा नगरेको भन्दै दोहोरिएर निर्वाचन लडेका सबै उम्मेदवार पराजित भए सँगै २०७९ वैशाखमा भएको स्थानीय निर्वाचित भएका जनप्रतिनिधिले त्यस्तो प्रवृत्ति दोहोरिने डरले नागरिकको मत कसरी जित्न सकिन्छ भन्दै लागि परेका छन् ।

जिल्लाको नारायण नगरपालिकाले नागरिकको मन जित्न ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच,औषधी वितरण,असल आमा प्रोत्साहन,किशोरीलाई आइरन चक्की वितरण, गर्भवती सँग उपमेयर ,कृषकलाई कृषिमा प्रोत्साहन गर्न किसान घर भेट, विपन्न नागरिककाका मुन्ना घर विस्थापित, खानेपानी महसुलमा छुट, विद्यालय नर्स लगायतका कार्यक्रम सञ्चालन गरिएको छ । नारायण नगरपालिकाका नगर प्रमुख लोमन शर्माले नगरपालिकाको आम्दानी अनुसार नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने खालका कार्यक्रम सञ्चालन गरिएको बताए । उनले नागरिकको अपेक्षा धेरै भए पनि पालिकाले गर्न सकिने विभिन्न कामहरू सञ्चालन गरेको बताए ।

त्यस्तै गुराँस गाउँपालिकाले नागरिकको मन जित्न घरदैलोमै सामाजिक सुरक्षा भत्ता, वडामै योजना सम्झौता, प्रत्येक वडामा जेष्ठनागरिकका लागी निःशुल्क शिविर,दिर्घरोगीहरुलाई घरमै औषधी वितरण, मोतीबिन्दुको निःशुल्क शिविर, विकास निर्माणमा यूथ प्यानल, युवा संसद् लगायतका कार्यक्रम सञ्चालन गरेको छ । गाउँपालिका –८ का वडाध्यक्ष एवम् प्रवक्ता दीपेन्द्र ओलीले गाउँपालिका बाट प्रवाह गरिने सेवा सुविधाको प्रभावकारितालाई विशेष ध्यान दिएको बताए । उनले जनप्रतिनिधि प्रति नागरिकको आक्रोश नभएर मन जित्ने पात्रका रूपमा कम गरिरहेको बताए ।

महावु गाउँपालिकाले नागरिकको मन जित्न घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरण, जेष्ठनागरिकको स्वास्थ्य परीक्षण,प्रत्येक वडाका २५ घरधुरीलाई नमुना पोषणमैत्री टोल,गर्भवती र सुत्केरीलाई क्याल्सियम चक्की वितरण,बालविवाह बहुविवाह सम्बन्धी कानुनी सचेतना लगायतका कार्यक्रम सञ्चालन गरेको छ । महावु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयराज उपाध्यायले स्थानीय सरकार प्रति नागरिकको विश्वास बढाउन विविध कार्यक्रम सञ्चालन गरिएको बताए । उनले नागरिक सेवा लिन आएको खण्डमा तत्काल सेवा प्रदान गर्ने गाउँपालिकाको प्रमुख उद्देश्य रहेको बताउनुभयो । उहाँले भन्नुभयो नागरिक समस्या भएर पालिकामा आएका हुन्छन् उनीहरूका समस्या तत्काल समाधानका लागी सम्बन्धित निकाय सँग समन्वय गर्ने गरेका छौ ।

त्यस्तै भगवतीमाई गाउँपालिकाले श्रम रोजगार बैक,१५ शय्याको अस्पताल निर्माण,निःशुल्क स्वास्थ्य शिविर, घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने तयारी, पर्यटकीय क्षेत्रको, पूर्वाधार विकास,जनमैत्री सेवा लगायतका कामहरू गरिरहेको छ । त्यस्तै नौमुले गाउँपालिकाले पनि नागरिकको मत जित्न विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको गाउँपालिकाले जानकारी दिएको छ । गाउँपालिका अध्यक्ष छवि सुबेदीले स्थानीय सरकारले नीति निर्माण,आवश्यक पूर्वाधार निर्माण,कर्मचारीको व्यवस्थापन ,निःशुल्क औषधी वितरण, स्वास्थ्य जाँच कार्यक्रम सञ्चालन गरिएको बताए । उनले गाउँपालिकाको विकासका लागी श्रम अभियान समेत सञ्चालन गरिएको बताए । डुगेश्वर गाउँपालिका,दुल्लु नगरपालिका, चामुण्डाबिन्द्रासैनी नगरपालिका, आठबिस नगरपालिका,भैरवी गाउँपालिकाले समेत शिक्षा, स्वास्थ्य,खानेपानी,पूर्वाधार निर्माण लगायतका कामहरूअगाडी बढाइरहेका छन् ।
अधिकांश स्थानीय तहमा राजनीतिक दलहरूको मिश्रित परिणाम भएका कारण काम गर्न किठनाई भएको जनप्रतिनिधिहरुले जानकारी दिएका छन । सुशासन, समृद्धि र सामाजिक न्यायका कामहरूमा दलविशेष भन्दा माथि उठेर काम गर्ने वा गर्न दिने वातावरण अझै बन्न नसकेको कारण नागरिकको मन जित्न अझै कठिन रहेको जनाएका छन ।

facebook sharing button