हुम्ला : हिमाली जिल्ला हुम्लामा एकमात्र यातायातकाे साधन हवाई सेवा अवरुद्ध हुँदा दैनिक उपभाेग्य वस्तुसहित विकास निर्माणमा बधा पुगेकाे छ । माैसमका कारण हवाई सेवा अवरुद्ध हुँदा गाउँघरबाट सदरमुकाममा दैनिक उपभाेग्य सामन र निर्माण विकासका सामग्री लिने पुग्ने उपभोक्ताहरु खाेजेकाे सामन नपाउँदा मारमा परेका छन् ।
हुम्लामा वर्षाका कारण हवाई सेवा अवरुद्ध भएको हो । जसका कारण बजारमा तरकारी, माछा, मासु, अण्डा, तेललगायतका दैनिक भान्सामा चाहिने वस्तु अभाव भएकाे व्यापारी मेगराज शाहीले बताए । उनले पैदल मार्गबाट दैनिक भान्सामा प्रयाेग हुने सामन नआउने हुँदा बजारमा उपभोग्य वस्तुको अभाव भएको बताए । यस्तै विकास निर्माणमा प्रयोग हुने छड, सिसा, किला, कब्जाजस्ता सामग्री बजारमा अभाव भएको स्थानीय पदम शाहीले बताए ।
त्यस्तै लाेक सेवा आयाेगकाे विभिन्न पदमा परीक्षा दिन जाका लागि सिमकाेट विमानस्थल पुगेकाहरु पनि हवाई सेवा अवरुद्ध हुँदा घर फर्किनु परेकाे छ । यस्तै जिल्ला बाहिरबाट आउनका लागि हातमा हवाई टिकट लिएर बसेका यात्रुहरु पनि हवाई सेवा अवरुद्ध हुँदा आउन पाएका छैनन् ।
सिमकाेटका स्थानीय अबि लामाले राष्ट्रिय सडक नजाेडिँदासम्म हुम्ली नगरिकले सास्ती पाहिरहने बताए । हुम्लामा राष्ट्रिय सडक जाेड्न स्थानीय, प्रदेश र संघीय सरकारले चासो देखउन जरुरी रहेको बताउँदै अर्का स्थानीय भागिन्द्र शाहीले सडक निर्माण भए हुम्लाका नागरिकले सास्ती खेप्नु नपर्ने बताए ।
हुम्लाको मध्य क्षेत्रका चार वटा गाउँपालिकामा सडक जाेडिएकाे भएपनि नियामित नहुँदा समस्या उस्तै छ । यता माथिल्लो क्षेत्रका तीन वटा गाउँपालिकामा राष्ट्रिय सडक जोडिन अझै तीनदेखि चारवर्ष लाग्ने देखिएकाे छ । त्यस्तै दुर्गम हुम्लामा सरकारले ढुवानीमा अनुदानमा दिँदै आएकाे खाध्य पनि ढुवानी हुनबाट राेकिएकाे छ । शनिबार पनि माैसमका कारण हवाई सेवा अवरुद्ध भएकाे विमानस्थल कार्यालयले जानकारी दिएको छ ।