☰ open Loading... 12 June 2024|  

कर्णालीका प्रशासकले हाँक्दैछन् उपत्यकाको सुरक्षा
  | १७ चैत्र २०७९, शुक्रबार ०५:१६

निजामतीमा प्रमुख जिल्ला अधिकारी अर्थात् सिडिओको आफ्नै आकर्षण छ । त्यसमा पनि काठमाडौँको सिडिओ भनेपछि त्यसको छुट्टै शान छ । एकाध जिल्लाको प्रजिअ भइसकेपछि उपत्यका पस्ने र काठमाडौँमा बसेर निस्किने चाहना सबैमा रहेकै हुन्छ । यद्यपि कतिपयको हकमा यो पुरा हुन्छ त कतिपयमा अधुरै ।

राजनीति र प्रशासनिक दृष्ट्रिले मात्रै होइन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्पर्क-सम्बन्धका हिसावलेसमेत बढाएको आकर्षण छोप्न जो कोही कर्मचारीले चाहनु स्वाभाविकै हो तर संयोग नै भन्नुपर्छ इतिहासमै पहिलो पटक काठमाडौँसहित सिङ्गो उपत्यका प्रशासन हाँक्न पुगेको छ कर्णाली ।

रोग, भोक र शोकको पर्यायका रूपमा चित्रित सुदूर भूगोल कर्णालीबाट उदाएका प्रशासकत्रय घनश्याम उपाध्याय काठमाडौँ जिल्लाको प्रमुख जिल्ला अधिकारी छन् भने ललितपुरमा जयनारायण आचार्य र भक्तपुरमा छन् खगेन्द्रप्रसाद रिजाल ।

कार्यालय सहयोगीसम्मै हुन सक्दा पनि गाउँ मात्रै होइन, फलानोको छोरोले त सरकारी सिन्दूर हालेको छ नि भनेर टाढासम्मका भूगोलसम्मै पहिचान बनाउने त्यो परिवेशबाट शक्तिकेन्द्रको पनि केन्द्रमा रहनु सिङ्गो कर्णालीका लागि नै गौरवको विषय त बन्ने भयो नै युवापुस्ताका लागिसमेत प्रेरणाका स्रोत बन्न पुगेका छन् उपाध्याय, आचार्य र रिजाल । दैलेखका उपाध्याय र रिजाल तथा जुम्लाका आचार्यले भूगोलप्रतिको हेराइलाई मात्रै बदलिदिएका छैनन्, विषम परिस्थितिलाई यसरी अवसरमा बदल्न सकिन्छ भनेर उदाहरणसमेत बनिदिएका छन् सिङ्गो सुदूर तथा कर्णाली समुदायका लागि ।

काठमाडौँ प्रजिअ उपाध्यायले २०७९ भदौ २२ गतेदेखि काठमाडौँ जिल्ला प्रशासनको कमान्ड सम्हालेका थिए । उनी ललितपुरको प्रजिअबाट काठमाडौँ आएका हुन् । २०७८ असोज १ गतेदेखि २०७९ भदौसम्म एक वर्ष ललितपुर बसेका थिए ।

ललितपुरअघि ७ महिना गृह मन्त्रालय बसेका उपाध्याय एक वर्ष प्रदेश अर्थ सचिवको रूपमा कर्णाली बसेर आइसकेका हुन् । उनी २०७६ वैशाखदेखि चैतसम्म प्रदेश बसेका थिए । पहिलो पटक सिडिओका रूपमा ललितपुर पुगेका उपाध्याय काठमाडौँ प्रजिअ हुने कर्णालीका दोस्रो व्यक्ति हुन् । कर्णालीबाट काठमाडौँको पहिलो सिडिओ बन्ने अवसर भने गोविन्द रिजालले प्राप्त गरेका थिए ।

नारायण नगरपालिका दैलेख घर भएका उपाध्याय २०५४ सालमा नायव सुब्बा(नासु)बाट निजामतीमा प्रवेश गरेका हुन् । जिल्ला सिँचाइ कार्यालय बर्दियामा पाँच वर्ष सेवा गरेका उपाध्याय २०५९ सालमा शाखा अधिकृत भए र ८ वर्ष अर्थ मन्त्रालय अन्तर्गत काम गरे । २०६८ मा उपसचिव भएसँगै राष्ट्रिय योजना आयोगको कार्यक्रम निर्देशक बसेका उनी २०६९ चैत ६ गते खुल्ला प्रतिस्पर्धाबाट सहसचिव भए । तीन वर्ष प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, चार वर्ष संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय बसेका उनी त्यसपछि प्रदेश, गृह, ललितपुर हुँदै यति बेला जिल्ला प्रशासन काठमाडौँको कमान्ड सम्हालिरहेका छन् ।

नीति निर्माण गर्ने तहसमेत मानिने सहसचिवका रूपमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहँदा अफिस अटोमेसन सिष्टममा नेतृत्व गरेका उपाध्यायले पर्यटन मन्त्रालयमा छँदा फेक रेस्क्यूको छानबिन गरे । उनकै संयोजकत्वमा भएको छानबिन राष्ट्रिय/अन्तर्राष्ट्रिय रूपमै चर्चाको विषय बनेको थियो ।

ललितपुरको सिडिओ रहँदा सेवा प्रवाह र विकास सहजीकरणमा सक्रिय भूमिका निर्वाह गरेका उपाध्यायले काठमाडौँ आइसकेपछि भौतिक पूर्वाधार सुधार, अभिलेख पद्धतिको व्यवस्थापनसँगै सेवा प्रवाहमा टायम कार्ड लागू गर्दै गुनासो सुन्ने परिपार्टिको विकास गरेका छन् ।

निजामती सेवामा चढ्दै आएको खुड्किला र प्राप्त गरेको अवसरलाई इमान्दारीता र सेवा प्रवाहसँग जोड्छन् प्रजिअ उपाध्याय । ‘इमान्दारीता मुख्य कुरा हो र हामीले दिएको सेवालाई मूल्याङ्कन गरेर नै राज्यले अवसर प्रदान गरेको हो’ उपाध्यायले भने । निजामती सेवाबाट आफूलाई त्यो अवसर प्राप्त गरेको बताउँदै इमानदारीताका साथ नागरिकले प्राप्त गर्ने सेवामा सन्तुष्टि बढाउने आफ्नो लक्ष्य भएको उपाध्यायले सुनाए ।

उपत्यकाका तीनै जिल्लाको प्रशासनिक कमान्डमा कर्णालीको उपस्थितिको संयोगलाई सुखद भन्दै उनले उपत्यकाको सुरक्षा र विकास सहजीकरण समन्वयमा सहज अनुभूति गरेको बताए । शालीन स्वभावका सरल प्रशासकका रूपमा आफ्नो छवि बनाएका उपाध्याय अबको केही महिनामा सचिव हुने लाइनमा छन् । उनी दैलेखबाट नेपाल सरकारको विशिष्ट श्रेणी(सचिव) हुने पहिलो व्यक्ति हुनेछन् ।

यस्तै ललितपुर जिल्लाको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य २०५९ फागुन ६ गते निजामती सेवामा प्रवेश गरेका हुन् । काठमाडौँका प्रजिअ उपाध्याय र उनी सँगै शाखा अधिकृत भएका हुन् ।

सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा जिल्ला प्रशासन कार्यालय रामेछापमा पहिलो पोस्टिङ भएका आचार्य डेढ वर्षको रामेछाप बसाई पछि अछाम, विनायक हुँदै २०६६ सालमा सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आए ।

२०६८ सालमा खुल्ला प्रतिस्पर्धाबाट उपसचिव भएका आचार्यको उपसचिवपछिको पहिलो पोस्टिङ पनि प्रधानमन्त्री कार्यालयमा नै भयो । त्यही छँदा पढाइका लागि कोरिया गएका उनी सउल नेशनल युनिभर्सिटीको गोल्ड मेडलिष्टसमेत हुन् ।

उनले २०७१ सालमा खुल्लाबाट एक नम्बरमा सहसचिव पास गरे । पहिलो पोस्टिङका रूपमा राष्ट्रिय योजना आयोग बसेका आचार्य ९ महिना जति पर्यटन विभागको महानिर्देशक बसे । त्यसपछि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय हुँदै उनी ०७४ तिर एक वर्ष जति प्रदेश प्रमुखको कार्यालय सुर्खेत बसे ।

प्रदेश सचिवपछि करिब ९ महिना निजामती कितावखानाको महानिर्देशक भएका आचार्य डेढ वर्ष जति सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत काम गरे ।

कनकासुन्दरी–६, सिञ्जा जुम्लामा जन्मेका आचार्य २०७६ सालमा गृह मन्त्रालय प्रवेश गरे । दाङ जिल्लाको प्रमुख जिल्ला अधिकारीबाट सिडिओको यात्रा शुरु गरेका उनी  सप्तरी, कास्की हुँदै अहिले ललितपुर जिल्लाको प्रशासन कमान्डरका रूपमा कार्यरत छन् ।

२०७९ भदौ २७ गतेदेखि ललितपुर प्रशासन प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका आचार्य कर्णालीप्रतिको हेराई परिवर्तन गर्न सकेकोमा गौरव गर्छन् । ‘कर्णाली तथा सुदूर पश्चिमजस्ता पछाडि परेका क्षेत्रहरूमा अशिक्षा, भोकमरी मात्रै छ भन्ने जुन भ्रम अर्थात् बुझाई छ त्यो यथार्थ होइन’ प्रजिअ आचार्यले भने ‘त्यहाँ पनि क्षमतावान् मान्छे छन् र अवसर पायो भने गर्न सक्छन् भन्ने हो’

भौगोलिक विकटताले सिर्जना गरेका अनेकन् अभावहरूका बिच पनि तत्कालीन अवस्थाको नेपाल अर्थात् आजको परिवर्तित राज्य व्यवस्थाको सङ्घीय राजधानी काठमाडौँ उपत्यका प्रशासनमा कर्णालीको उपस्थिति आफ्ना लागि सुखद अनुभूति त हो नै, आउँदो पीढीका लागि पनि मार्ग दर्शन भएको प्रजिअ आचार्यको भनाई छ । उनी थप्छन् ‘पहिले जुन गर्न सकिँदैन भन्ने खालको सोचाई बनाइएको थियो, त्यो होइन । सकिन्छ, गर्न’

आफूमा भएको इच्छाशक्ति र निष्पक्ष लोक सेवा आयोगकै कारण आफू आज यो अवस्थासम्म आई पुगेको बताउँदै आचार्यले देशमै केही गरौँ भन्ने युवा वर्गका लागि सार्वजनिक सेवा अत्यन्तै उर्वर प्लेटफर्म रहेको बताए । ‘लोक सेवा आयोग नभइदिएको भए हामी कोही पनि यहाँ हुँदैनथ्र्यौं’ भन्दै उनी भन्छन् ‘किनभने राज्य प्रणाली भित्र हाम्रो कुनै पहुँच नै थिएन’

लोक सेवा आयोगको परीक्षा प्रणाली र निष्पक्षताकै कारण अहिले पनि आम नागरिकहरूको भरोसा रहेको र अवसरका लागि लोक सेवा आयोग जननी नै भएको आचार्यले सुनाए ।

सप्तरीको प्रजिअ हुँदा छोएको एउटा विषय सुनाउँदै गर्दा उनी गम्भीर बने । ‘आजका दिनसम्म मलाई सबैभन्दा बढी छोएको भनेको सप्तरीको सिडिओ हुँदाखेरि हो’ उनले थपे, ‘राज्य र नागरिकको बिचमा ग्याप छ, जसका कारण अझै पनि आम नागरिक राज्यको पहुँचमा सहजै आउन नसक्ने तथा नखोज्ने अवस्था छ ।’

कहाँ के कस्तो सेवा दिन्छ र आफूले कसरी लिने भन्नेसम्म अन्योल देखिएपछि आफै गाउँ–गाउँमा जान थालेको उनले बताए । त्यसपछि कुनै पनि अफिसमा ढोका बन्द नगर्ने सोंच बनाएको बताउँदै आचार्य भन्छन्, ‘त्यसपछि मैले मेरो कार्यकक्ष कहिल्यै बन्द गर्दिन, म सधैँ ढोका खुल्ला राख्छु, ताकि कुनै पनि सेवाग्राही केही पनि कामले आउँदा रोकिन नपरोस्’

नागरिक र राज्यका बिच देखिएको बुझाइको खाडल चिर्दै राज्य संरचना नागरिकहरूका लागि हो भन्ने सोचले आफू निर्देशित रहेको उनले बताए । सार्वजनिक प्रशासन अर्थात् कर्मचारीतन्त्रले पहिलो गर्नुपर्ने काम भनेकै राज्यको संयन्त्रमा हरेक सर्वसाधारणको सहज पहुँच स्थापित गर्नु रहेको उनको निष्कर्ष छ ।

त्यस्तै दुल्लु-५, दैलेखका खगेन्द्रप्रसाद रिजालले सम्हाल्दै आएका छन् उपत्यकाको सुन्दर नगरी भक्तपुरको प्रशासनिक कमान्ड । २०५५ सालमा नेपाल न्याय सेवाको नायव सुब्बा(नासु) पदबाट निजामती सेवामा प्रवेश गरेका रिजालले ७ वर्षपछि नेपाल प्रशासन सेवातर्फ शाखा अधिकृत पास गरे ।

शाखा अधिकृत भएपछि बर्दिया र बाँके जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयको कार्यालय प्रमुख भएका रिजाल काठमाडौँ जिल्ला प्रशासन कार्यालय हुँदै राष्ट्रिय योजना आयोगमा पनि बसे । योजना आयोगमै कार्यरत रहेका बेला २०६९ मा उपसचिवमा पास गरे । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उपसचिवको पहिलो पोस्टिङ खाएका रिजाल ४ वर्ष लगानी बोर्डमा बसे ।

जापान सरकारले दिने छात्रवृत्तिमा दुई वर्ष जापानमा अध्ययन गरेर फर्किसकेपछि उनी करिब सात महिना सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा बसे ।

विभागपछि जाजरकोटको छेडागाड नगरपालिका पुगेको रिजाल त्यहाँ गएको केही समयमै सहसचिवको परीक्षामा उत्तीर्ण भए । २०७७ मा सहसचिव भएसँगै पहिलो पोस्टिङका रूपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुदूर पश्चिम कार्यालय, महेन्द्रनगर पुगेका रिजाल त्यसपछि छिमेकी जिल्ला कैलालीको प्रमुख जिल्ला अधिकारी बने । करिब सात महिना अख्तियार बसाई पछि सातै महिना जति कैलालीको सिडिओ बसेका उनी केही समय सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय हुँदै सुर्खेतको सिडिओ बनेर गए । एक वर्ष सुर्खेत बसाई पछि उनी दुई महिना अघिदेखि भक्तपुर जिल्ला प्रशासन कार्यालयमा कार्यरत छन् ।

२०७७ फागुन २३ गते कैलाली प्रशासन पुगेका उनी कार्तिक १ गते गृहमा आएर २०७८ पुस २६ मा सुर्खेत हुँदै २०७९ माघ ११ देखि भक्तपुरमा छन् ।

‘अलिकति भाग्य पनि भनौँ र हाम्रो कामले पनि होला, राजनीतिक र प्रशासनिक नेतृत्वले गरेको गरेको मूल्याङ्कनकै कारण यति बेला उपत्यकाका तीनै जिल्लामा कर्णालीले प्रमुख जिल्ला अधिकारी पाएको छ’ प्रजिअ रिजालले भने ।

पिछडिएको क्षेत्रका रूपमा परिचित कर्णालीबाट निजामतीमा आएको धेरै समय नभएको कुरा सम्भवतः असारमा घनश्याम उपाध्याय कर्णालीबाट पहिलो सचिव बन्ने कुराले नै प्रस्ट्याउँछ ।

त्यसो त अन्य क्षेत्र तथा कतिपय जिल्लाकै हकमा यो सामान्य रहे पनि कर्णालीका लागि भने एउटा स्वर्णिम अवसर भएको रिजालको भनाई छ । ‘त्यो स्थानबाट यहाँसम्म जुन आई पुगेका छौँ, यसमा आफै पनि गौरवान्वित छौँ’ उनले थपे ‘जति दिन बस्छौ, हाम्रो समाजको नाक राख्ने र प्रत्येक सेवाग्राही अझ त्यसमा पनि दूर दराजबाट आएका नागरिकलाई पहिलो प्राथमिकतामा राखेर सेवा गर्छौ’

सेवा प्रवाहकै माध्यमबाट नागरिकलाई रिझाउन लागि परेको बताउँदै उनी भन्छन् ‘निष्कलङ्क र दागरहित तवरले सेवा गर्ने दृढ सङ्कल्प छ ।’

आफू निजामतीमा आईपुग्नुमा भाग्य सँगसँगै कर्म नै मुख्य ठानेको बताउँदै यहाँसम्म आईपुग्नुको थप श्रेय आमा र भिनाजुमा नै जाने रिजाल बताउँछन् ।

आफ्नो पुस्ता जेनतेन यो अवस्थासम्म आई पुगे पनि पछिल्लो पिँढी भने निजामतीमा आउँछ कि आउँदैन त्यो यसै भन्न नसक्ने अवस्थामा रहेको बताउँछन् रिजाल । ‘इमानदारितापूर्वक जिम्मेवारी निर्वाह गर्ने कर्मचारीको हैसियत देखेर मेरै छोराछोरी पनि आउँछन् आउँदैनन्’ प्रजिअ रिजालले भने ‘यसलाई चिर्नको लागि राज्यले निजामतीमा सेवा सुविधा थप्दै लैजानु पर्छ भने स्वयं कर्मचारीहरूले आफ्नो छवि सुधार्न जरुरी छ’

दैनिकरुपमा बिदेसिइरहेका युवापुस्ता प्रति चिन्ता व्यक्त गर्दै उनीहरूलाई सार्वजनिक सेवाप्रति आकर्षित गरेर देशमै अड्न सक्ने वातावरण बनाउन कदम चाल्नुपर्ने प्रजिअ रिजालको सुझाव छ ।

दैनिक प्रशासन सञ्चालनमा स्थापित प्रणाली र पद्धति नै पर्याप्त रहे पनि एउटै क्षेत्र, जिल्लावासी तथा साथीभाइ नै हुँदा अलि सहजता भने आउने रिजालको अनुभव छ । प्रजिअ रिजाल भन्छन् ‘स्वाभाविक रूपले, चिनजानसँगै एउटै प्रदेशवासी पनि भएकोले आइपर्ने कतिपय स–साना कुराहरूमा पनि एक अर्कालाई सोध्ने गर्छौ, यसले सहजता त हुन्छ नै, त्यसमाथि पनि कुनै अफ्ठेरो पर्दा अग्रजसँग सोध्ने त परम्परा नै छ’

उपत्यका प्रशासनका तीनै जिल्लाको प्रजिअ कर्णालीकै हुनुअघि कर्णालीबाट पहिलो काठमाडौँको सिडिओ हुने सौभाग्य पाएका सहसचिव गोविन्द रिजाल दैलेख जिल्लाकै सिडिओ हुने पहिलो भाग्यमानी प्रशासकसमेत हुन् । जाजरकोटमा प्रजिअ भएर गएसँगै रिजाल नै दैलेखबाट सिडिओ हुने पहिलो व्यक्ति थिए ।

त्यसो त सुदूरपश्चिमबाट पनि काठमाडौँको प्रजिअ हुनेमा छोटो समयका लागि कृतिबहादुर चन्द र योगेन्द्रनाथ ओझा मात्रै हुन् ।

उपत्यकाका तीनै जिल्लाको प्रजिअ कर्णालीबाटै हुनु एउटा सुखद संयोग त हो नै, ज्येष्ठतासँगै अनुभव र खटनपटनका क्रममा जुरेको अवसर यति बेला कर्णाली मात्रै होइन, सङ्घीय सरकारका लागिसमेत खुसीको कुरा हो । स्थापित प्रणाली तथा मूल्यमान्यतालाई आत्मसाथ गर्दै देशमा आएको परिवर्तनलाई भूगोलभित्रका सबै समुदायसम्म यसैगरी फैलाउन सके हरेकले राज्यप्रतिको अपनत्व सहजै अनुभूत गर्न सक्नेछन् ।