☰ open Loading... 16 June 2024|  

भेडी गोठालाको गाउँ रिनी पुग्दा…
  | ५ बैशाख २०८०, मंगलवार ०५:०७

जुम्ला । जुम्लाको रिनीगाउँको सैन लेक, जहाँ रिनीगाउँका भेडीगोठालाको बास छ । खुला आकाशले चिसो बनेको जमिनमा बिहानको घामले न्यानो भर्दै छ । लस्करै जोडिएका एकतले भेडीगोठबाट धुँवा उडिरहेको छ । रातभर अलगअलग गोठमा बसेका पाठापाठी र भेडीको मिलन गराउँदै छन्, गोठाला ।

चरण क्षेत्रमा लैजानुअघि साना पाठापाठीलाई दूध खुवाउनुपर्छ । दिनभर साना पाठापाठी गोठमै हुन्छन् । गोठगोठबाट भोटेकुकुरको आवजले त्रसित बनाइरहेको छ । १ सय ९० घरधुरीको रिनी गाउँ भेडापालनबाटै समृद्ध छ । यहाँका नागरिकको जीविका धान्ने भरपर्दो पेसा बनेको छ, भेडापालन ।

भेडीगोठाला पुर्खाले तय गरेको समय तालिकालाई अनुसरण गरिरहेका छन् । उनीहरूको आफ्नै दुनिँया छ, आफ्नै संस्कार र जीवनशैली । बिहानको ९ बज्दा गोठालालाई गोठगोठबाट भेडा चरण क्षेत्रमा लैजाने चटारो छ । कसैले भेडालाई दाना दिइरहेका छन्, कोही गोठाला पाठापाठी व्यवस्थापनमा जुटेका छन् ।

वसन्तको आगमनपछि वनमा पालुवा पलाउन सुरु भएको छ । उराठलाग्दो हिँउदमा खस्रु र निगालोले पालिएका भेडा चराउन सहज हुँदै छ । ‘हाम्रो आफ्नै समय तालिका छ, बिहान ९ बजे वनमा प्रवेश गरेको बथान साँझ ७ बजे मात्रै गोठ फर्काउने गरिन्छ, १० देखि ११ घण्टा चरेपछि मात्रै भेडालाई खाना पुग्छ,’ स्थानीय जिरा खड्काले भनिन् ।

गोठगोठमा भोटेकुकुरले पहारा दिइरहेका छन् । गोठालाबाहेकका आगन्तुकलाई भोटेकुकुरले रेखदेख गरिहेका भेडाको बगालमा पस्न मुस्किल पर्छ, छिरिसकेपछि कुकुरले टोक्दैन । भेडीगोठको सुरक्षाको जिम्मा भोटेकुकुरलाई सुम्पिएर भेडा चरण क्षेत्रमा लगिँदै छ । भोटेकुकुर गोठको सिपाही हो, शंकास्पद गतिविधिको चाल पाउना साथ कुकुर गोठको सुरक्षाका लागि तैनाथ हुन्छन् ।

भोटेकुकुर केवल शोभाका दृष्टिले मात्रै होइन सुरक्षा र उपयोगिताका हिसाबले भेडीगोठालाको रोजाईमा पर्छ । जसलाई गोठालाहरूले भोटबाट खरिद गरेर ल्याउँछन् । ‘भोटेकुकुर अरू प्रजातिका कुकुरभन्दा निकै बलियो र ठूलो हुन्छ, यसले बाघ, भालु र चितुवासँग पनि मुकाबिला गर्ने हिम्मत राख्छ, यो अलि बढी हिंस्रक पनि हुन्छ,’ स्थानीय तेजबहादुर रावतले सुनाए ।

भेडापालनले रिनी गाउँको विपन्नता घटाएको छ । प्रतिभेडा न्यूनतम ७ हजारदेखि ५० हजारसम्ममा बिक्री हुन्छन् । दसैं, तिहार, नयाँ वर्षजस्ता पर्वमा गोठालाले भेडा बिक्री गर्दै आएका छन् । भेडापालनका उपयोगिता थुप्रै छन् । भेडापालनले नगद आम्दानीसँगै राडीपाखी, उनका कपडा र मलसमेत उपलब्ध हुन्छ ।

प्राकृतिक विपद््, रोगव्याधीले किसानले पटकपटक नोक्सानीसमेत बेहोर्नुपर्ने स्थानीय विक्रम खड्काले बताए । ‘हाम्रो रोजीरोटी भनेकै भेडापालन हो तर कहिलेकाँही चट्याङ, हावाहुरी र रोगव्याधीले बगालै रित्तो बनाइदिन्छ,’ उनले भने । पातारासी कृषि र पशुपालनको प्रचुर सम्भावना भएको पालिका भएकाले यसलाई व्यावसायिक रूप दिन पालिकाले जोड दिने उपाध्यक्ष जनमाया रोकायाले बताइन् । पशु सेवा कार्यालयका अनुसार जुम्लामा ८४ हजारको हाराहारीमा भेडा छन् । पाटन र खर्कहरूमा व्यवस्थित भेडीगोठ निर्माण हुनुपर्ने भेडीगोठालाको जोड छ ।