☰ open Loading... 24 July 2024|  

फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन
  | १५ बैशाख २०८०, शुक्रबार ०५:२१

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विराटनगर भन्सार कार्यालयका तत्कालीन प्रमुख कृष्णबहादुर बस्नेतलगायतलाई सफाइ दिने विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

 

आयोगका प्रवक्ता भोला दाहालका अनुसार कृष्णबहादुर बस्नेत, उनकी श्रीमती सबिता गौली बस्नेत, जेठान नविन कुमार गौली, नविनकुमारकी श्रीमती शकुन्तला र छोरा शुलभलाई सफाइ दिने विशेष अदालतको फैसला त्रुटीपूर्ण भएको दाबीसहित बिहीबार सर्वोच्चमा पुनरावेदन गरिएको हो । अख्तियारले १० करोड ५६ लाख ९१ हजार ६०९ रुपैयाँ ९१ पैसा बिगो कायम गरी उनीहरुको चल अचल सम्पत्ती समेत जफत गर्न माग दाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको थियो । तर आरोप पुष्टि नहुने ठहर गर्दै विशेष अदालतले २०७९ साल पुस १ गते सफाइ दिने फैसला गरेको थियो ।

 

घुस रकमसहित रंगेहात पक्राउ

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उद्योग विभाग, औद्योगिक सम्पत्ति शाखा त्रिपुरेश्वरकी शाखा अधिकृत र कार्यालय सहयोगीलाई घुससहित पक्राउ गरेको छ । आयोगको टोलीले शाखा अधिकृत कुमारी तारा घिमिरे र कार्यालय सहयोगी दिपा थापालाई घुस रकमसहित रंगेहात पक्राउ हो ।

 

अख्तियारको स्टीङ टोलीले उनीहरु दुबैलाई सेवाग्राहीबाट १२ हजार रुपैयाँ  घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको हो । उनीहरु उद्योग विभागको औद्योगिक सम्पत्ति शाखामा कार्यरत थिए । अख्तियार टोलीले शाखा अधिकृत घिमिरेको कार्यकक्षबाट स्रोत नखुलेको ३७ हजार ५ सय ३२ रुपैयाँ पनि बरामद गरेको छ । उनले कम्पनीको ट्रेड मार्क दिने कार्यमा सहजीकरण गर्ने भन्दै सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा पक्राउ गरिएको अख्तियारले जनाएको छ ।