☰ open Loading... 20 September 2024|  

हात्तीपाइले रोग परीक्षण
  | १७ बैशाख २०८०, आईतवार ०५:२३

जुम्ला : जलवायु परिवर्तनसँगै हिमालको तापक्रम बढ्दै गएका कारण हिमाली जिल्लाहरुमा औलो र कालाजारका बिरामी भेटिन थालेका छन् । पहिले तराई र पहाडका जिल्लाहरुमा देखिने हात्तीपाइले, औलो र कालाजार रोग जलवायु परिवर्तनका कारण हिमाली जिल्लाहरुमा देखिन थालेको हो ।

 

यसैक्रममा जुम्लाका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीमा हात्तीपाइले रोग परीक्षण गर्न थालिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडा, मकवानपुरले राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रमअन्तर्गत विद्यार्थीहरुमा हात्तीपाइले रोग परीक्षण गरिएको हो ।

 

कनकासुन्दरी गाउँपालिकास्थित कालिका आधार विद्यालय हाँटसिंजा र पाण्डव गुफा माध्यमिक विद्यालयका ३२ जना विद्यार्थीको एन्टिजेन परीक्षण गर्दा सबै जनाको नेगेटिभ नतिजा आएको छ ।

 

मालिका आधारभूत गतिखोला र माध्यामिक विद्यालय बुढुचौताराका विद्यार्थीमा पनि परीक्षण गर्ने तयारी गरिएको कानकासुन्दरी गाउँपालिका स्वास्थ्य शाखा संयोजक जंगलाल बुढाले बताए ।

 

यहाँका ३२ सामुदायिक विद्यालयका ४८० जना बालबालिकामा हात्तीपाइले रोग परीक्षण गर्न लागिएको जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्णप्रसाद सापकोटाले बताएका छन् । उनका अनुसार जुम्लाभित्रै रहेका नागरिकबाट एक अर्कामा लामखुट्टेले रोग सार्छ वा सार्दैन भनेर जानकारी लिनका लागि नमुना परीक्षण गरिएको हो ।