☰ open Loading... 19 October 2024|  

रारा तालमा आफन्त घुमाउन सरकारी गाडी
  | १९ जेष्ठ २०८०, शुक्रबार ०५:३५

कृषि क्षेत्र विकास कार्यक्रम सुर्खेतका उपसचिव शालिकराम पौडेलले कार्यालयको गाडी आफ्नो बुवा र आफन्त रारा घुमाउनका लागि प्रयोग गरेको पाइएको छ।

कर्णाली प्रदेश ०२००१ झ ०५८२ नम्वरको सेतो नम्वर प्लेटको सरकारी गाडी उपसचिव पौडेलले सुर्खेत घुम्न आएका बुवा तथा आफन्तलाई रारा घुमाउन बुधबार पठाएका हुन्।

बिहिबार पौडेलका आफन्तहरु रारा घुमेर शनिबारसम्म सुर्खेत पुग्ने जनाइएको छ। कृषि क्षेत्र विकास कार्यक्रमका प्रमुख विनोद कुमार भटराई सरुवा भइसकेका छन्। नयाँ सरुवा भएर आउने कार्यालय प्रमुख वासुदेव काफ्ले अहिलेसम्म आईपुगेका छैनन्। कार्यालयका कर्मचारी फिल्ड जाँदा प्रयोग गरिने गाडी पौडेलले रारा पठाएका हुन्।

कार्यालयमा ४ वटा गाडी चालु अवस्थामा र १ वटा गाडी बिग्रीएको अवस्थामा छ। एउटा गाडी प्राय काठमाडौंमा राख्ने गरिएको छ।

श्रोतका अनुसार यसअघि पनि पौडेलले उक्त गाडी घर तथा ससुरालीमा १५ देखि २० दिनसम्म राख्ने गरेका थिए।  कृषि क्षेत्र विकास कार्यक्रम सरकारी कार्यक्रम हो । जसले कर्णालीमा रहेका कृषि समुह तथा सहकारीसंग साँझेदारीमा कृषिसंग सम्वन्धीत भएर काम गर्दछ। जुम्लामा सामान लगेर गएको त्यही मौकामा बुवाहरुलाई रारा घुम्न पठाएको उपसचिव शालिकराम पौडेलले नागरिक न्यूजसंगको कुराकानीमा स्वीकार गरे।