☰ open Loading... 21 June 2024|  

आम्दानीको औषधी बन्दै अल्लो
  | २६ जेष्ठ २०८०, शुक्रबार ०५:३४

यामराज विष्ट दैलेख । बेरोजगारले देश थलिएको छ । धेरै युवा रोजगारीका विदेश हानिएका छन् । उद्यमीहरू धेरै पलायन हुने अवस्थामा रहेका छन् । आर्थिक मन्दीले व्यापार व्यवसायमा समेत असर पारेको छ । बजारका धेरै व्यावसायिक सटर धमाधम बन्द भइरहेका छन् । कतिपय व्यक्तिले स्वदेशमै गरिएको लगानीले सोचेजस्तो फाइदा नदिँदा पलायन हुने अवस्थामा पुगेका छन् । तर, दैलेखमा उद्यमी गरिरहेका आफूलाई सबल बनाउँदै लगेको पाइएको छ ।

उनीहरूले गर्ने उद्यमको माग बजारमा दिनप्रतिदिन बढिरहेको छ । जसका कारण उनीहरूलाई जंगलबाट कच्चा पदार्थ अर्थात् अल्लो निकाल्न भ्याइ नभ्याई छ । अल्लोबाट राम्रो कमाइ गरिरहेका एउटा प्रतिनिधिमूलक पात्र हुन् नारायण नगरपालिका–६ का ४८ वर्षीया पदम खड्का । उनले जीवनमा धेरै गोल चक्कर खाए । कहिले भारत त कहिले नेपालमा विभिन्न व्यवसाय गरे । भनेजस्तो आम्दानी हुन नसकेपछि उनी आफ्नै थाकथलातिर हानिए ।

२०५४ सालमा भारत पुगेका खड्का भारतमै उद्योग क्षेत्रमा लामो समय काम गरे । करिब एक दशकभन्दा बढी जीवन भारतमा बिताएका खड्काले आफ्नो गाउँ फर्कनलाई १२ वर्ष लाग्यो । आर्थिकरूपमा फड्को मार्न उनले अनेकौं काम गरे । कति सफल कति असफल पनि भए । पछिल्लो पाँच वर्षयता नौमुले गाउँपालिका–१ नौमुले बजारमा अरूलाई रोजगारी दिनेगरी अल्लोबाट धागो उत्पादनको उद्योग खोले । अल्लोको धागोबाट गुणस्तरीय कपडा उत्पादन हुने भएकाले दिनानुदिन माग बढिरह्यो । त्यसयता उनले फर्केर हेर्नु परेन । उद्योग सञ्चालन गरिसकेपछि आर्थिक मात्र नभई समाजमा पनि राम्रो पहिचान बनाउन सफल भएका छन् ।

गाउँका स्थानीयलाई रोजगारीसमेत दिएका खड्काले दैलेखका उच्च भागमा पाइने अल्लोको धागोबाट उत्पादन भएको कपडाले जिल्लालाई चिनाएको छ । ‘विदेशमा जति नै श्रम गरे पनि गुमनाम नै हो, नेपालमा केही गर्ने हो भने नाम पनि कमाएको छु र आम्दानी पनि गरेको छु,’ व्यवसायी पदम खड्काले भने, ‘सुरुमा बजार अभावदेखि अनेकौं समस्या थिए, विस्तारै उत्पादन भएको धागोले बजार पायो, रोजगारी पनि थपियो ।’ अल्लो व्यवसायबाट आफू पनि रोजगारी बन्ने र अरूलाई समेत रोजगारी दिने उद्देश्यले पाँच वर्षदेखि अल्लो व्यवसाय सञ्चालन गरिएको मालिका अल्लो प्रशोधन तथा धागो उद्योगले जिल्लाकै नाम उँचो राखेको उनको दाबी छ ।

पछिल्लो समय अल्लोबाट उत्पादन गरिएको कपडाको माग सोचेभन्दा राम्रो बन्दै गएकाले अल्लो कपडा बिक्रीबाट वार्षिक १२ लाखसम्मको आम्दानी गरिरहेको उद्यमी खड्काले बताए । अहिले जिल्लामा अल्लोको कपडाको मूल्य प्रतिमिटर हजारदेखि १५ सयसम्म छ भने धागो किलोको १ हजार ५ सयसम्म हुने गरेको खड्को भनाइ छ ।

‘युवाहरू पैसा कमाउन भन्दै विदेश जान्छन् तर यहाँ पैसा फलाउने स्थानीय कच्चा पदार्थ कुहिएर गएको कसैले देख्दैनन्,’ खड्काले भने, अल्लोलाई प्रशोधन गर्दा आम्दानी हुने थाहा पाएँ, गाउँघरमा प्रशस्त पाइने अल्लोलाई सही सदुपयोग गर्दा बिनालगानी चोखो आम्दानी हुने भएकाले उद्योग स्थापनाका लागि उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेखबाट अल्लो बुनाइको तालिम लिएको उनको भनाइ छ । सीप सिकेर घरमै धेरैलाई स्वरोजगार दिएको उनी बताउँछन् । खड्काले सञ्चालन गरेको मालिका अल्लो प्रशोधन तथा धागो बुनाइ उद्योगमा स्थानीय ६ जनालाई रोजगारी दिएका छन् ।

रोजगारीका लागि बिदेसिने युवालाई उनको सुझाव छ, ‘गाउँमै धेरै काम छ, मात्रै जाँगर लगाएर गर्नुपर्छ ।’ जडिबुटीदेखि अन्य उद्यमका लागि नेपालमा प्रशस्त सम्भावना देखेका छन् उनले । खड्का भन्छन्, ‘त्यसका लागि स्थानीय सरकारले बजारीकरण गर्नुपर्छ ।’

अल्लोको खेती नै नगरी स्थानीयस्तरमा पाइने अल्लोलाई प्रशोधन गरेर यसबाट कपडा बनाउने सम्भावना देखेर नौमूले गाँउपालिकामा उद्योग स्थापनाका लागि उद्योग तथा उपभोक्ता हित सरंक्षण कार्यालय दैलेखले सहयोग गरेको उनको भनाइ छ । नौमूले क्षेत्रमा जंगलभरि अल्लो (वन सिस्नो) पाइन्छ । त्यसको बाहिरीभाग निकालेर प्रशोधनमार्फत धागो बनाइन्छ । त्यसपछि कपडालगायत अन्य कुरा बनाउन प्रयोग गरिन्छ । जसबाट उत्पादन भएको कपडा र धागो निकै महँगो हुने गर्छ ।

सरकारले उद्यमीहरूका लागि प्रोत्साहनका कार्यक्रम ल्याए पनि बजारीकरणमा ध्यान नदिएको आरोप उद्यमीहरूको रहेको छ । बर्सेनि ग्रामीण भेगको जंगलमा खेर गइरहेको अल्लो संकलन र सदुपयोगबाट अल्लो व्यवसाय दुर्गम भेकका स्थानीयको समेत जीविकोपार्जनको प्रमुख स्रोत भएको छ । अल्लोबाट बनेका टोपी, आस्कोट, कोट, जुहारी कोट, झोला, पर्स, सललगायतका सामान बजारमा राम्रो मूल्यमा बिक्री भइरहेको छ ।

नौमूले गाउँपालिकामा अल्लो उत्पादन बढी हुने गर्छ । नौमूले अल्लोका साथै जडिबुटी उत्पादनसमेत दैलेखकै बढी हुने क्षेत्रका रूपमा रहेको छ । नौमूले क्षेत्रका उद्यमीहरूलाई पालिका र उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेखबाट आवश्यक सामग्रीहरू हस्तान्तरण कार्यक्रम बर्सेनि भइरहेको छ । जसका कारण उद्यमीहरूलाई काम गर्न सहज हुने गरेको छ । नौमूले क्षेत्रको जंगलमा पाइने जडिबुटी, अल्लोलगायतका वस्तुहरूबाट उद्यमीहरूले राम्रो आम्दानी गरिरहेको नौमूले गाउँपालिकाका अध्यक्ष छविराम सुवेदीले बताए ।