☰ open Loading... 15 June 2024|  

नयाँ नागरिकता ऐन : आमाको नामबाट नागरिकता लिन अझै जटिलता
  | १७ असार २०८०, आईतवार ०५:३५

राजविराज : ‘नयाँ नागरिकता ऐन २०७९’ बमोजिम आमाको नामबाट नागरिकताको प्रमाणपत्र पाउन थप जटिलता उत्पन्न हुने देखिएको छ । ऐनले बाबुको पहिचान सम्बन्धमा स्पष्ट नबोलेकोले जटिलता उत्पन्न हुने भएको हो ।

 

पहिचानसँग जोडिएको नाम,थर र वतनमध्ये कुनै एकबारे आमाले पहिचान गर्न नसकेको अवस्थामा आमाको स्वघोषणा आवश्यक देखिएपनि जिल्ला प्रशासनहरुले बाबुको नाम थाहा पाउनेलाई  नागरिकता दिन जटिलता उत्पन्न हुने बताएका छन् ।

 

नेपाली नागरिक आमाबाट जन्म भइ नेपालमै स्थायी बसोबास गरिरहेका सन्तानलाई वंशजको आधारमा नागरिकता दिने संवैधानिक व्यवस्था रहेको छ । तर नयाँ ऐनले बाबुको कस्तो पहिचानलाई मुख्य मान्नेबारे अलमलिएको हो ।

 

गृह मन्त्रालयले कार्यविधि बनाएर नागरिकता वितरण गर्ने बताइएको छ । तर नेपाली नागरिक आमाको सन्तानको जन्मदर्तामा बाबुको नाम हुनेलाई पहिचान भएको अथवा नभएको बारे अन्योलता देखाएको छ । त्यसकारण ‘नागरिकता ऐन २०७९’ कार्यान्वयनमा आएपनि आमाको नामबाट नागरिकता दिन शुरु गरेको छैन ।

 

नयाँ नागरिकता  ऐन बमोजिम धमाधम नागरिकता वितरण भइरहेको छ । जिल्ला प्रशासन कार्यालय सप्तरीबाट दिनहुँ जन्मसिद्धका सन्तानले वंशजका आधारमा   नेपाली नागरिकताको प्रमाणपत्र लिइरहेका छन् । आमाको नामबाट नागरिकता प्रमाणपत्र दिन शुरु नगरेतापनि नेपाली नागरिक आमाको नामबाट नागरिकताको प्रमाणपत्र लिन थप जटिलता बनाएको पीडितको गुनासो छ ।

 

नयाँ ऐन बमोजिम आमाले आफ्नो सन्तानलाई बुबाको नाम समेत बताउन नसक्ने अवस्था सृजना गरिएको छ । आमाले गर्भधारण गरिरहेका बेला त्यो गर्भ कसको हो ? भन्ने बारे समेत खुलाउन नसक्ने अवस्था देखिएको छ । जसले आमा र सन्तानको स्वाभिमानमाथि औंला उठाएको हो । नागरिकता वितरण गर्न गृहको बुझाइमा बुबाको नाम उल्लेख भए जटिलता उत्पन्न हुने संकेत गरेसकेपछि लाखौं सन्तानको जन्मदर्ताको प्रमाणपत्रमा बुबाको नाम उल्लेख गरिएकाले नागरिकता पाउन मुस्किल हुने अवस्था आएको छ ।

 

बुबाको पहिचानसँग जोडिएको मुख्यतः नाम,थर र वतनमध्ये कुनै एक पहिचान हुन सक्नेलाई नागरिकता वितरण हुने संवैधानिक भावनाको विपरित गृहले बाबुको पहिचान सम्बन्धमा बाध्यात्मक स्थिति सृजना गरि अनागरिक बनाइ राख्ने मानसिकता देखाउन खोजिएको छ ।

 

नागरिकता लिँदा बुबाको नाम उल्लेख गरिएका सन्तानलाई सहजै नागरिकता दिनुपर्नेमा बुबाको नामै नहुनुको अर्थ आमाले जन्मदिएका सन्तानको स्वाभिमानमाथि प्रश्न उठने प्रष्ट छ । भोलिका दिनमा सन्तान कसरी जन्मेको भन्ने प्रमाणित गराउनुपर्दा थप पिडा हुने निश्चित छ । त्यसमाथि पनि आमाको स्वाभिमानको चिरहरण अवस्था आएको छ ।

 

गृह मन्त्रालयको बुझाइमा वैदेशिक रोजगारीमा गएका महिलाले नेपाल फर्किने बेला गर्भधारण गरी जन्माएका सन्तानलाई नागरिकता दिने संकेत गरेका छन् । त्यस्तै आमाले गर्भधारण गरिरहँदा त्यो गर्भ कसको हो भन्ने पहिचान हुन नसक्ने अवस्था सृजना गरिएको छ ।

 

नेपाली नागरिक आमाबाट जन्म भइ नेपालमै स्थायी बसोबास गरिरहेका सन्तानले प्राप्त गरेको शैक्षिक योग्यता, जन्मदर्ताको प्रमाणपत्र, स्थायी बसोबास प्रमाणित र नाता प्रमाणित र स्वघोषणाका आधारमा नागरिकता दिन सक्नुपर्छ । तर बाबु बिना नै आमाले सन्तानको जन्म कसरी दिने भन्नेबारे समेत अन्योलतामा पार्ने षड्यन्त्र हुँदैछ । बलात्कृत महिलाले समेत आफुले जन्मदिएको सन्तानको बुबा बलात्कारीको नाम लिन सकिन्छ । तर नयाँ ऐन बमोजिम आमाले सन्तानको बुबा समेत उल्लेख गर्न नपाउनुले संकट थपिने देखिन्छ ।

 

यसर्थ, पहिचानसँग जोडिएको नाम, थर र वतनमध्ये कुनै एक पहिचान नहुने अवस्थामा समेत स्वघोषणा गरिएको अवस्थामा नागरिकता दिँदा नागरिकता समस्या हदैसम्म समाधान हुने सरोकारवालाहरुले जनाएको छ । नागरिकता समस्या समाधानका निमित्त गृहले स्पष्ट कार्यविधि बनाइ छिटोभन्दा छिटो नागरिकता वितरण शुरु गर्नुपर्नेमा पीडितहरुको जोड छ । नेपाल सरकार गृह मन्त्रालयको तथ्यांक अनुसार नेपालमा करिब एक लाख सन्तानले आमाको नामबाट नागरिकता प्राप्त गर्न योग्य रहेको बताइएको छ ।