☰ open Loading... 30 May 2024|  

सयपत्री फुलमा आत्मनिर्भर बन्दै कर्णाली
  | २३ श्रावण २०८०, मंगलवार ०५:१९

सयपत्री फुलमा कर्णाली आत्मनिर्भर हुने भएको छ। भारत तथा नेपालका विभिन्न जिल्लाहरुबाट सयपत्री फुल आउने गरेकोमा अब यहाँका युवा किसानहरुले ठुलो क्षेत्रमा फुल लगाएर परनिर्भरता हटाउने भएका हुन्।

उनीहरुले कर्णाली प्रदेशलाई सयपत्री फुलमा आत्मनिर्भर बनाउन लाखौं फुलका बेर्ना वितरण समेत गर्ने भएका छन्। जसका लागि उनीहरुले बेर्ना समेत तयार पारिसकेका छन्।

गुर्भाकोट नगरपालिका –१४, हिरा बहादुर घर्तीमगरले १ बिघा ५ कट्ठामा फुल खेती विस्तार गर्न लागेका हुन्। योसँगै कर्णालीमा फुल बाहिरबाट ल्याउन नपर्ने उनी बताउँछन्। पछिल्लो समय घर्तीमगरसंगै सुर्खेतमा फुल खेती गर्ने किसानहरुको संख्या बढ्दो छ।

घर्तीमगरले कर्णाली ड्रागन फ्रुट फर्म नामक कृषि फर्म संचालक गरी विगत २ वर्षदेखि ड्रागन, सयपत्री र मखमली फुलको खेती गर्दै आएका छन्।

कर्णाली प्रदेशसहित बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र महेन्द्रनगर गरी झन्डै १ लाख सयपत्रीका बिरुवा वितरण गर्नुका साथै फूलमा आत्मनिर्भर बनाएर मनग्ये आम्दानी गर्न सहयोग गर्ने लक्ष्य लिएको व्यवसायी घर्तीमगरले सुनाए।

उनले मखमली फुल, लोकल रैथाने प्रजाति, कलकत्ते भेराइटीज जातको सयपत्री, टेनिस बल भेराइटीज जातको सयपत्री र गारल्यान्ड ओरेन्ज भेराइटीज जातको सयपत्री फुलका प्रजातीहरु लगाउने बताए।

नेपालमा वर्षेनी ५० करोडको फुल आयात हुँदै आएको बेला यसलाई कम गर्न स्थानीय युवाहरूले फुल खेती सुरु गरेका हुन्।

‘किसानहरुलाई सयपत्री फुलको बेर्ना वितरण गर्ने लक्ष्य राखेको छु।’ युवा व्यवसायी घर्तीमगरले भने, बेर्नासँगै सबैले निःशुल्क प्राविधिक सहयोग समेत पाउनुहुनेछ।’ कुनै पनि काम कर्मशील भई गरेमा देशमै बसेर धेरै आम्दानी गर्न सकिने घर्तीमगरको भनाई छ।