☰ open Loading... 12 April 2024|  

ओलीको दाबी- कोशीमा एमालेले बहुमत जुटाएर सरकार बनाउँछ
  | ९ भाद्र २०८०, शनिबार १०:०३

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेशमा एमालेले सरकार बनाउने दाबी गरेका छन् । शुक्रबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै एमालेले बहुमत पुर्याएर सरकार चलाउने उनले बताए ।

नेपाली कांग्रेस जस्तो पुरानो पार्टीले गैरसंविधानिक काम गर्दा आफू अचम्ममा परेको ओलीको भनाइ छ । माओवादीले संविधान मान्दिनँ भन्दा अनौठो नभएको कांग्रेस जस्तो पुरानो पार्टीले संविधानको खिल्ली उडाएको देख्दा आफु अचम्ममा परेको उनले बताए ।

‘माओवादीले संविधान मान्दिनँ भनेर हतियार उठाएर गएको थियो, अहिले पनि मानेको छैन’, उनले भने, ‘तर कांग्रेसजस्तो पुरानो पार्टीले संविधानको खिल्ली उडाएको देख्दा अचम्म लागेको छ ।’

एमालेले अब ५० जनाभन्दा बढीको सांसदको समर्थनमा सरकार बनाउने ओलीको दाबी छ । उनले भने, ‘एमालेको सरकार बन्छ । एमालेको सरकार चल्छ । एमालेले मजाले चलाउँछ । ४७ होइन, ५० भन्दा माथि जान्छ ।’