☰ open Loading... 20 June 2024|  

अब समग्र जीवन राष्ट्रका लागि अर्पण गर्छु : प्रधानमन्त्री
  | १५ भाद्र २०८०, शुक्रबार ०९:५८

कर्णाली : प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो समग्र जीवन राष्ट्रका लागि दिने बताएका छन् ।

 

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा समाजवादी मोर्चा नेपालद्वारा आज आयोजित ‘सन्देश सभा’लाई सम्बोधन गर्दै उनले नयाँ संकल्पसहित राष्ट्र निर्माणको अनवरत यात्रामा रहेर मुलुकको सुशासन, विकास र समृद्धिका लागि आफ्नो सिङ्गो जीवन अर्पण गर्ने बताएका हुन् । उनले मुलुकमा व्याप्त भ्रष्टाचारविरुद्ध लडाइँ शुरु भएको र अब यो नरोकिने प्रतिबद्धता व्यक्त गरे ।

 

“सरकारले थालेको सुशासन र भ्रष्टाचारविरुद्धको अभियान अझ पेचिलो गरी अगाडि बढ्छ”, उनले भने, “यसमा नेपालका राजनीतिक दललगायत सबै सरोकारवालाले सहयोग गर्नुपर्छ ।”

 

उनले आन्दोलनको उपलब्धि, रक्षा र क्रान्तिको उर्वर भूमि कर्णाली भएको बताउँदै सुर्खेत–हिल्सा सडक सबैभन्दा अगाडि रहने वचन दिए । कर्णाली कोरिडरले यहाँका जनताको भविष्यलाई सुनिश्चित गर्नुका साथै यहाँको आर्थिक क्रान्तिको आधार हुने र सडक निर्माणका कार्य अगाडि बढ्ने विश्वास व्यक्त गरे ।

 

प्रधानमन्त्री दाहालले क्रान्तिकारीलाई चनाखो बन्न र अझ ठूलो मोर्चा बनाएर एकताबद्ध ढङ्गले अगाडि बढ्न आग्रह गरे । कम्युनिष्ट आन्दोलनले नेपालको परिवर्तनमा ऐतिहासिक भूमिका खेलेको बताउँदै उनले विगतको आन्दोलनमा अग्रणी भूमिका खेलेको कर्णाली अब पनि समाजवादी मोर्चाको केन्द्र बन्ने जिकिर गरे ।