☰ open Loading... 3 May 2024|  

डिपो प्रमुखलाई पाँच वर्ष कैद सजाय माग
पश्चिम नेपाल   | २४ भाद्र २०८०, आईतवार १७:५४

नेपाल आयल निगमको गण्डकी प्रादेशिक कार्यालय, पोखरा (गगनगौँडा)का निलम्बित प्रमुख चित्तरञ्जन दासलाई तेल अपचलन अभियोगमा कम्तीमा पाँच वर्ष कैद र ५० हजार जरिवाना माग दाबीसहित जिल्ला अदालत, कास्कीमा मुद्दा दायर गरिएको छ ।

गत २५ साउनमा निगमको डिपोबाट १२ हजार लिटर डिजेलको बिल बनाई निस्केको ट्यांकरलाई जिल्ला प्रशासन कार्यालय, कास्कीको टोलीले नियन्त्रणमा लिई परीक्षण गर्दा १५ हजार दुई सय लिटर तेल भेटिएपछि डिपो प्रमुख दासले तेल अपचलन गर्ने गरेको घटना बाहिर आएको थियो । सोही घटनामा संलग्न आरोपितहरू डिपोका प्रमुख दास, डिपोबाट खरिद गरेको भन्दा बढी तेल लैजाने ट्यांकरधनी तथा पश्चिमाञ्चल ट्रेडर्स नामका पम्प सञ्चालक बाबुराम जमरकट्टेल, पेट्रोलपम्प व्यवसायीहरूका तर्फबाट ट्ंयाकरमा लोड भएको पेट्रोलियम प्रदार्थ डिप गर्ने गण्डकी–धौलागिरि पोट्रोलियम डिलर्स एसोसिएसनका कार्यालय सचिव जगन्नाथ ढुगाना र ट्यांकरका चालक निर्मल थापालाई कारबाही गर्नुपर्ने ठहरसहित इलाका प्रहरी कार्यालय हंसपुरले सरकारी वकिलको कार्यालयमा अभियोजन दर्ता गरेको थियो ।