☰ open Loading... 18 May 2024|  

भाइरल बन्दै खोकी र ज्वरो
पश्चिम नेपाल   | २८ भाद्र २०८०, बिहीबार ११:२९

अस्पतालमा खोकी र ज्वरोको सिकायत लिएर आउने बिरामी बढिरहेका छन्। तर उनीहरूमा के कारणले खोकी र ज्वरोको समस्या देखिएको भन्ने यकिन हुन नसकेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। वीर अस्पतालमा दुई सातादेखि ज्वरो र खोकीका बिरामी आउने क्रम बढेको तर परीक्षण गर्दा कारण यकिन हुन नसकेको मेडिसिन विभागका डा.ध्रुव गैरेले बताए।

डा. गैरेका अनुसार धेरैजसो बिरामीमा डेंगी पोजेटिभमा जस्तो जिउ दुख्ने, टाउको दुख्ने, ज्वरो आउने, निद्रा नलाग्ने, वाकवाकी लाग्ने, पखाला लाग्ने, खाना खान मन नलाग्नेजस्ता समस्या देखिएका छन्। तर ल्याब परीक्षण गर्दा कसैमा पनि डेंगी प्रमाणित नभएको उनले बताए। ‘ल्याब परीक्षण गर्दा डेंगी पोजिटिभ छैन, लक्षण पुरै डेेंगीको जस्तो देखिन्छ’, उनले भने।
सामान्य औषधि सेवनले ज्वरो नियन्त्रण हुन नसकेको डा. गैरेले बताए। वीर अस्पतालका अनुसार मेडिसिन विभागमा दुई सातायता दैनिक ज्वरो र खोकीको समस्या लिएर सरदर ६० जना आइरहेका छन्। केही बिरामीलाई भर्ना लिएर उपचार गरिएको छ। झापा, मोरङ र सुनसरी घुमेर आएका धेरैजसो यस्तो समस्या लिएर आएको जानकारी डा. गैरेले दिए।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा पनि यस्तै लक्षणका बिरामी आइरहेको जनरल प्राक्टिक्स विभागका प्रखुख डा. योगेन्द्र शाक्यले बताए।
अस्पतालको आकस्मिक कक्षका अनुसार दैनिक २० जनाजति ज्वरो र खोकी बिरामी आउने गरेका छन्। तर एकाधबाहेक धेरैमा डेंगी परीक्षण गर्दा पुष्टि नभएको डा. शाक्यले बताए। ज्वरो र खोकीका बिरामीमा लक्षण डेंगीको जस्तै छ। डेंगी संक्रमणको सात दिन पहिला र १५ दिनपछि परीक्षण गर्दा नेगेटिभ आउन सक्ने भएकाले अस्पतालले ज्वरोका बिरामीलाई भिन्नै राखेर उपचार गरिरहेको उनले बताए। डेंगी पुष्टि भएका ८ जनालाई भने भिन्नै वार्डमा झुल टाँगेर उपचार गरिरहेको उनले बताए।

‘दुई सातासम्म जाँच्दा पनि बिरामीमा डेंगी या अन्य रोग पुष्टि नभएपछि क्षयरोग, रगतको क्यान्सर परीक्षण गर्ने योजना छ,’ उनले भने।

डेंगीको जस्तो लक्षण भएर पनि पुष्टि हुन नसकेका बिरामीमा कोभिड १९ संक्रमितमा जस्तै जटिलता आउन सक्ने उनले बताए। यस्तो अवस्थालाई चिकित्सकीय भाषामा ‘एआरडिएस’ को अवस्था भनिन्छ। यो भनेको डेंगी संक्रमणले शरीरको सेतो रगतको मात्रा कम हुने र त्यसको कमीले मिर्गौला, कलेजो र फोक्सो नष्ट हुँदै जानु हो।

डेंगी संक्रमितलाई निमोनिया पनि हुन सक्छ। काठमाडौं महानगरपालिका–१६ का अध्यक्ष मुकुन्द रिजालको पनि डेंगीपछिको जटिलताले निमोनिया भई मृत्यु भएको उनले बताए।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल अनुसन्धान शाखाका संयोजक डा. शेरबहादुर पुनले मौसमी फ्लु र डेंगीका बिरामी मिश्रित भएको हुनसक्ने बताए।

‘समुदायमा अहिले मौसमी फ्लुले पनि जटिल समस्या बनाइरहेको देखिन्छ’, उनले भने।
-नागरिकन्यूजबाट