काभ्रे भकुन्डेबेंसीकी ८८ वर्षीया पूर्णकुमारी काफ्लेले जानेर तीज मनाउन थालेको आठ दशक भयो। १३ वर्षको उमेरमा वैवाहिक जीवनमा बाँधिएकी उनले तीज र दरका विभिन्न स्वरूप र कहर देखे–भोगेकी छन्। ‘उतिबेला दरका परिकार निकै कम थिए तर खाने रहर निकै बढी हुन्थ्यो,’ उनी भन्छिन्, ‘अहिले थरीथरीका दर छन् तर खान त्यति रहर छैन।’
आफू सानी छँदा आमाले मध्यरातमा उठाएर दर खुवाएको र आफूले छोराछोरीलाई मध्यरातमै उठाएर दर खुवाएको सबै क्षण उनलाई याद छ। ‘दर खानेकुरा मात्र हैन, यो पर्व मनाउने एउटा तरिका र रहर पनि हो,’ उनी भन्छिन्, ‘तर विगतको तुलनामा अहिले सबैमा रहर कमी भएको पाएँ।’
यस्तै अनुभव छ, ओखलढुंगाको रुम्जाटारकी ६६ वर्षीया आशा पौडेलको पनि। बाल्यकालमा दर खाने दिन घरमा खिर र बाबर खाएकी उनले अहिले विभिन्न थरी मिठाइ र परिकार घरमा पाक्ने गरेको सुनाइन्।
त्यतिबेला दर खाने प्रचलन पनि भूगोलसँगै फरक हुने गरेको देखिन्छ। घरमा गाईभैंसी भएका कारण आफ्नो भेगमा दरको रूपमा खिर, कुरौनी, सेलरोटी, पुरीलगायत खाने गरिएको धादिङकी ७९ वर्षीया हीरादेवी सापकोटा बताउँछिन्।
‘साँझैदेखि कुरौनी घोटेर मध्यरातमा दर खाने गरिन्थ्यो,’ उनले भनिन्, ‘सुतेका साना छोराछोरीलाई पनि मध्यरातमा उठाएर दर खुवाउँदा र खाँदाको रमाइलो नै बेग्लै हुन्थ्यो।’
कुनै ठाउँमा भने घिउ र भातलाई मात्र दर मानिन्थ्यो। ‘धान उत्पादन कम हुने ठाउँमा दरका रूपमा घिउ र भात, चाम्रे पकाएर खानुलाई निकै रमाइलो मानिन्थ्यो,’ ओखलढुंगाकी प्रमिला बुढाथोकी भन्छिन्, ‘दर जे पाके पनि त्यसले ऊर्जा र खुसी दिन्थ्यो।’
हिन्दु महिलाले मनाउने तीज पर्वअन्तर्गत आइतबार दर खाने दिन हो। यो दिन चेलीलाई विभिन्न परिकार बनाएर खाइन्न्छ, खुवाइन्छ। यसैलाई दर भन्ने गरिन्छ। चेलीहरू माइतीमा होस् या आफ्नै घरमा रहँदा दर खाने चलन छ। दरका रूपमा धेरै ठाउँमा खिर खाने चलन छ। पहिला खिरसहित हलुवा, ढकनी, चाम्रे, घिउ, दही, दूध, मिठाइ, फलफूललगायत परिकारलाई दरका रूपमा लिइन्थ्यो। ‘तर अहिले त दरमा मासु लगायत नानाथरी खाइन्छ भन्ने पनि सुनेकी छु,’ दोलखाकी ७० वर्षीया नैनकुमारी भन्छिन् , ‘हामी त उतिबेला दरको रूपमा घिउ–भात खाएर रमाउँथ्यौं।’
पहिले हरितालिका (तीज) को अघिल्लो दिन मात्र दर खाने परम्परा थियो। अहिले एक महिनाअगाडिदेखि नै दर खाने प्रचलन सुरु भएको छ। दरमा केही विकृति देखिए पनि कतिपयले यसलाई पर्वप्रतिको लगावका रूपमा समेत लिएका छन्।
दर खाएको भोलिपल्ट निराहार व्रत बस्ने भएकाले पौष्टिक तत्त्व भएका खानेकुरा खाने चलन चलेको हो। ‘अघिल्लो रात दरका रूपमा खाएको आडिलो भोजनले तीजको पुरै दिन निराहार व्रत बसिन्थ्यो,’ नैनकुमारी भन्छिन्, ‘समयसँगै दरका परिकार पनि थपिँदै गए।’
तीजका दिन पानीसमेत नखाईकन व्रत बस्ने र धेरै नाचगान गर्दा शक्ति आवश्यक हुने भएकाले अघिल्लो दिन दर खाने प्रचलन रहेको संस्कृतिविद् ओम धौभडेल बताउँछन्। ‘यही प्रचलनले पछिल्लो समयमा दरको स्वाद र स्वरूप फेर्दै गएको छ,’ उनी भन्छन्, ‘तीजको अघिल्लो दिन खाने दरले सबैलाई स्वाद दिएरै जाने गरेको छ।’
-नागरिकन्युजबाट