☰ open Loading... 18 May 2024|  

तीजको भड्किलो अवतरण
पश्चिम नेपाल   | ३० भाद्र २०८०, शनिबार १९:३९

महिलाको महान् पर्व तीजको आगमन भइसकेको छ। तीजमा के लगाउने, कस्तो लगाउने, कसरी आफू सजिने, अरूभन्दा कसरी फरक देखिने? यस्तै मनोभावनाका साथ धेरै महिला तयार भइसकेका छन्। कति महिला चुरापोते, राता कपडा किन्न अझै व्यस्त नै देखिन्छन्।

सजिसजाउ भएर कतै दर खाने र खुवाउनेको लर्काे चलिरहेको छ भने कतै आफ्ना दिदीबहिनी, सासू, नन्दआमाजू, भाउजू, कसलाई के दिने, कस्तो दिने? तीजको कोसेली भन्दै तयारी भइसकेका छन्। तीजको साङ्गीतिक माहोल बनिरहेको छ। यति मात्र कहाँ हो र, सामाजिक सञ्जाल टिकटकमा दर खाएका भिडियोहरू बनाएर पोस्ट गर्ने होडबाजी नै चलेको छ।

तीजको आफ्नै विशेषता रहेको छ। तीज मनाउने चलन पौराणिक कथासँग जोडिएको छ। घरपरिवारले विष्णुसँग विवाह गर्ने निधो गरे पनि पार्वती शिवलाई चाहन्थिन्। आफ्नो चाहनालाई सार्थकता दिनकै लागि उनी घरबाट भागेर जंगल पसिन् र शिव श्रीमान् पाऊँ भनेर तपस्या गर्न थालिन्। लामो समयको तपस्यापश्चात् श्रीमान्का रूपमा उनले शिवलाई पाइन्। शिवपार्वतीको यही सुखद मिलनको सन्दर्भलाई लिएर तीज मनाइएको हो भन्ने किंवदन्ती छ।

तीजमा विशेषतः शिवजीलाई सृष्टिकर्ता आदिदेवका रूपमा पूजा गरिन्छ, साथै यो दिन पावतीको पनि पूजा गरिन्छ। उनको रूप, पे्रम र त्यागलाई विशेष महत्व दिइन्छ।

दोस्रो दिन महिलाहरू निराहार व्रत बस्छन्। नसक्ने कतिले पूजा पाठ गरेर फलाहार गर्छन्। यस दिन विवाहित नारीले आफ्ना सौभाग्यका स्रामग्री लगाई सिँगारिएर बस्छन्, नाचगान गर्छन्, शिव–आरती गर्छन्। त्यस दिन शिवालय दर्शन गर्नेहरूको भिड लाग्छ। आफ्ना श्रीमान्को कुशलमंगल र सुस्वास्थ्यको कामना गर्दै बसिने यो व्रत विशेषतः श्रीमान्कै उत्तरोत्तर प्रगति र दीर्घायुको कामना गर्दै बसिन्छ।

हुन त अहिले दर खाने र नाचगान गर्ने कार्यक्रम महिनाै दिन अघिदेखि नै सुरु हुन्छ। कतिले यसलाई देखावटी भन्ने गरेका छन् भने कतिले रमाइलोका रूपमा लिएका छन्। तर्क–वितर्क जति भए पनि यस पर्वले एकअर्कासँग सम्बन्ध जोडेकै छ। आजको व्यस्त समयमा वर्षको एकचोटि भए पनि आफ्नासँग भेटघाट गर्ने, नाचगान र रमाइलो गरेर मनाइने यो पर्वलाई हरेक महिलाले रमाइलो गरेको पाइन्छ।
व्रतले मानसिक रूपमा स्वस्थ पनि तुल्याउँछ भने व्रतले शारीरिक अवस्थामा सन्तुलन लिई शरीरलाई स्फूति तुल्याएको हुन्छ। आध्यात्मिक रूपमा शुद्धता ल्याई मानसिक स्वास्थ्यमा शुद्ध राख्छ। परम्परा र धार्मिक रूपले तीजको व्रत बसेमा श्रीमान्को आयु बढ्ने, माया–सम्बन्ध गाढा हुने भएकाले हिन्दु नारीहरूले तीजमा विशेष रूपमा व्रत लिने गरेका छन्।

कुनै समय चेलीहरूले तीजमा आफ्नो व्यथा र आफूमाथि भएको अन्याय–अत्याचारलाई गीतमार्फत व्यक्त गर्थे तर अहिले गीतसङ्गीतको यो धार परिवर्तन भइरहेको छ। महिलाहरू आज व्यथा र वेदना सुनाउनुभन्दा पनि लडेर नै अधिकारको खोजी गर्न थालेका छन्। तीजका गित चाहिनेभन्दा बढी आडम्बरी र विकृत भनेको पाइन्छ। पहिला पर्वसँग मेल खानेगरी भाका हालिन्थ्यो तर अहिले ढाँचा नै बदलिएको छ। परिवर्तन हुनु राम्रो हो तर समाजमा नकारात्मक सन्देश फैलाएर पर्वलाई विकृत तुल्याउनु हुँदैन।

पहिला आफ्नै नन्द–आमाजू, आमा–भाउजू, बुहारी र साथीभाइ मिलेर रमाइलो गर्थे तर अहिले साङ्गठनिक भएर दर खाने र नाचगान गर्ने चलन बढेको छ। समय समयमा आउने यस्ता पर्वले धर्म र संस्कार जोगाएकै छन् भने मिठो राम्रो लगाउने मौका पनि पाइएको छ।

तीजको किनमेल गर्न निस्केकी एक दिदीले भनिन्, ‘कति महँगो भएको। कपडा, चुर–पोते त छुनै नसकिने। घाँटीभरि लाखको सुन लगाएर मात्र पर्वको उत्साह बढ्छ भन्ने होइन। सय रूपैयाँको पोते लगाए पनि पर्वको उत्साह उस्तै हुन्छ। मन सफा गरेर पर्व मनाउनुपर्छ। यसले समाजलाई ऊर्जा दिन्छ।

केही वर्ष यता तीज पर्वलाई लिएर टीका–टिप्पणी धेरै हुने गरेको छ। लोग्नेको नाममा भोको बसेर व्रत लियो, लोग्नेको खुट्टाको पानी खायो भनेर आलोचना गर्नेहरू धेरै छन्। यो प्रथाले नारीलाई दबाएको छ भन्नेहरू धेरै छन्। तर, पर्वले कसैको कुभलो चाहँदैन। एउटा संरक्षक मानेर श्रीमान्लाई सम्मान गर्दा कसैले बाधाअड्चन निकाल्नु हुँदैन। जसलाई जसरी मनाउन मन पर्छ, उसैगरी मनाउँछन्। तीजको मुख्य आकर्षण नै व्रत हो। आफ्नो स्वास्थ्यलाई असर नपर्नेगरी कोही व्रत बस्छ र आफ्नो धर्मअनुसार पूजापाठ गर्छ भने आलोचना गर्ने अधिकार कसैलाई छैन।
-नागरिकन्युजबाट