☰ open Loading... 21 May 2024|  

बाल विवाहविरुद्ध बाल सम्मेलन
पश्चिम नेपाल   | ४ आश्विन २०८०, बिहीबार १५:२३

कालिकोटको दुईवटा स्थानीय तहमा बाल विवाहविरुद्ध बाल सम्मेलन गरिएको छ। अब कसैले पनि सामाजिक अपराधका रूपमा रहेको बाल विवाह नगर्ने र नगराउने प्रतिबद्धतासहित तिलागुफा नगरपालिका र शुभकालिका गाउँपालिकामा बाल सम्मेलन गरिएको हो।

‘नगरौं बिहेका कुरा, भएको छैन २० वर्ष पूरा’ भन्ने नाराका साथ तिलागुफा नगरपालिकाको गाल्जे बजारमा आयोजित सम्मेलनमा ११ वटै वडाका तीन सय बढी बालबालिका सहभागी भए भने एक साताअघि शुभकालिका गाउँपालिकामा आठवटै वडाबाट दुई सय बढी बालबालिका सहभागी भए। १० देखि १९ वर्ष उमेर समूहका बाल क्लबबाट प्रतिनिधिका रूपमा छनोट भएर आएका बालबालिकाले बाल विवाहले गर्ने असरबारे मन्तव्य, गीत, गजल, देउडामार्फत मात्र पोखेनन्, नगरका जनप्रतिनिधि, धार्मिक अगुवा, सामाजिक कार्यकर्ता, प्रहरीलगायतका सरोकारवालाको पनि ध्यानाकर्षण गराएका छन्।

बालबालिकाप्रति संवेदनशील भएकाले तिलागुफा नगरले बालबालिकालक्षित कार्यक्रममा जोड दिएको नगर प्रमुख शंकर उपाध्यायले बताए। ‘सधैं वयस्कले मात्र सम्मेलन गर्थे’, उनले भने, ‘यसपटक त बालबालिकाले आफूलाई परेको बाल विवाहको मुद्दामा सम्मेलन गरे।’ उनले तिलागुफा नगरपालिकाले बालबालिकाविरुद्ध हुनै सबैखाले हिंसा अन्त्य गर्न ३१ प्रतिशत बजेट बालबालिकाका क्षेत्रमा विनियोजन गरेको जानकारी दिए।

तिलागुफा नगरपालिकाको समन्वयमा सञ्चालित सहयात्रा परियोजनाको सहजीकरणले पाँच वर्षअघि ५२ प्रतिशत रहेको बाल विवाह हाल आठ प्रतिशतमा झरे पनि भएका बाल विवाहलाई शतप्रतिशत मान्दा अझै पनि ९० प्रतिशत बालबालिका आफैंले भागेर विवाह गर्ने चलन रहेको न्यायिक समिति संयोजक तथा नगर उपप्रमुख महेन्द्रबहादुर शाहीले बताए। ‘बाल विवाह घट्दो अवस्थामा छ’, उनले भने, ‘तर भएका विवाह पनि बालबालिका आफैंले भागेर गर्ने अत्यधिक छ।’ उनले बालबालिकाले सानैमा विवाह गर्दा हुने असरबारे बुझेर लाग्ने प्रतिबद्धतासहित हस्ताक्षर गरेकाले नगरलाई बाल विवाह निषेधित क्षेत्र घोषणा गर्न सहज हुने सुनाए।