☰ open Loading... 30 April 2024|  

‘स्पेनबाट एक लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य छ’
पश्चिम नेपाल   | ४ आश्विन २०८०, बिहीबार १५:२८

स्पेनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालसंगको अन्तर्वार्ता

 

नियुक्ति पाएको एक वर्ष पूरा भएको छ, यसलाई कसरी लिनुभएको छ?

म भाग्यमानी कूटनीतिज्ञ हुँ, जसले नेपाल र नेपालीको सेवा गर्ने अवसर दुईपटक पाएँ। प्रत्येक जिम्मेवारी केही चुनौती र केही अवसरसहित आउँछ। त्यसैगरी स्पेनका लागि नेपाली राजदूत भइरहँदा पछिल्लो एक वर्षलाई मैले चुनौती र अवसर दुवैको सम्मिश्रणका रूपमा लिएँ। ओमानको राजदूत हुँदा प्राप्त अनुभवले म यो जिम्मेवारीलाई थप न्याय दिन सक्छु भन्ने विश्वास गरेकी थिएँ र सोही अनुरूप एक वर्ष फलदायी र सफल रहेको अनुभव गरेकी छु।

स्पेनसँगको सम्बन्धलाई कसरी फलदायी बनाउन सक्छौं?

नेपाल र स्पेनको दौत्य सम्बन्ध सन् १९६८ मा स्थापना भएको हो। त्यसपश्चात् दुई देशबीच विभिन्न समयमा उच्चस्तरीय भ्रमण भएका छन्, जसले दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउँदै लगेको छ। यसका साथै दुई देशका नागरिकको अन्तक्रिया बढ्दै गरेको छ। जस्तै- हाल स्पेनमा १० हजारभन्दा बढी नेपाली हुनुहुन्छ भने कोभिडअगाडि उन्नाईस हजार स्पेनिस प्रत्येक वर्ष पर्यटकका रूपमा नेपाल जाने गरेका थिए। यसले दुई देशबीचको संस्कृति, कला तथा जीवनशैली आदानप्रादन एवं सम्बन्ध प्रगाढ पार्न ठूलो भूमिका खेल्यो।

नेपाल र स्पेनको दौत्य सम्बन्ध सन् १९६८ मा स्थापना भएको हो। त्यसपश्चात् दुई देशबीच विभिन्न समयमा उच्चस्तरीय भ्रमण भएका छन्, जसले दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउँदै लगेको छ।

म म्याड्रिडस्थित युएनडब्लुटिओका निम्ति पनि जिम्मेवारीमा छु। मैले पर्यटन प्रवद्र्धनका निम्ति नेपाल पर्यटन बोर्ड, नेपाल सरकार र युएनडब्लुटिओबीच समन्वय गर्दै आएकी छु। हामीले युएनडब्लुटिओमार्फत पर्यटन प्रवद्र्धनका निम्ति सक्रियतापूर्वक सहभागिता जनाउनुपर्छ। साथै, दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइ प्रदान गर्न पर्यटन, विशेषगरी हरित ऊर्जा, हाइड्रोजन, संस्कृति, कृषि, स्वास्थ्य, खेल लगायतका क्षेत्रमा सहकार्य तथा समन्वय गरी अघि बढ्नुपर्छ।

स्पेनमा तपाईंलाई त्यहाँको सरकार र प्रबुद्ध समाजले कसरी लिएको पाउनुभयो, यस बीचमा काम कत्तिको चुनौतीपूर्ण रहे?

दुई देशबीच रहिआएको मित्रता तथा आत्मीयतालाई थप टेवा पुर्‍याउन सकें भन्ने मेरो विश्वास छ। म आएपश्चात् यहाँको परराष्ट्र तथा अन्य सरोकारवाला मन्त्रालयसँग नियमित भेटघाट गरी दुई देशबीच विभिन्न आयाममा हुन सक्ने सम्भावित सहकार्य तथा सहयोगका बारेमा निरन्तर छलफल भए भएअनुसार सकारात्मक प्रतिक्रिया पाएकी छु। साथै, म्याड्रिडस्थित नेपाली दूतावास सन् २०१८ मा मात्र स्थापना भएकाले हामीले संस्थागत सबलीकरण, नयाँ सम्पर्क स्थापना तथा स्पनेबाट नेपालले लिन सक्ने फाइदासम्बन्धी खोज एवं अनुसन्धान निरन्तर गरिरहेका छौं।

नेपाल स्पेनमा धेरै सुनिन र देखिन थालेको छ। पर्यटन र राजस्वको आँकडा बढेको छ। यहाँको कूटनीतिक समुदाय र स्पेन सरकारका प्रतिनिधिले सबैभन्दा सक्रिय राजदूत भन्दा खुसी लाग्छ।

स्पेन पुगेपछि तपाईंंले दूतावासमार्फत विभिन्न गतिविधि गर्दै आउनुभएको छ, हाम्रो दूतावासनिम्ति यस्ता कार्यक्रम आयोजना गर्न कत्तिको सहज छ?

म आएपश्चात् आर्थिक कूटनीति, पर्यटन, व्यापार तथा लगानी प्रवद्र्धनका क्षेत्रमा बाह्र भन्दा बढी कार्यक्रम सम्पन्न भए। दूतावासको सीमित स्रोतसाधनमा यतिका कार्यक्रम हुनु पक्कै पनि सहज परिस्थिति हुँदैन। तथापि दृढता तथा सामूहिक प्रयास निरन्तर गरियो भने कुनै पनि विषयमा सफल हुन सकिन्छ भन्ने उदाहरण यस दूतावासले पेस गरेजस्तो लाग्छ।

दूतावासले कार्यक्रम आयोजना गर्दा स्रोतसाधन प्राथमिकता हो वा अन्य पक्ष? राजदूतको व्यक्तिगत सक्रियताको भूमिका कति रहन्छ?

कुनै पनि कार्यक्रम आयोजना गर्न र सो कार्यक्रम सफल बनाउन विभिन्न आयामबाट गहिरो सोच-विचार गर्नैपर्छ। विशेषगरी दूतावासद्वारा सञ्चालित कार्यक्रममा झनै ध्यान पुर्‍याउनुपर्छ।

त्यसमा स्रोतसाधनको व्यवस्थापन महत्वपूर्ण हुन जान्छ। तर, स्रोतसाधनका अलावा यहाँका सम्बन्धित संस्थासँगको सहकार्य तथा समन्वय, नेपाली डायस्पोरासँगको सहकार्य, सम्बन्धित देशको संस्कृति तथा नियम-कानुन लगायतका पक्षमा ध्यान दिनुपर्ने हुन्छ।

कुनै पनि कार्यक्रम आयोजना गर्न र सो कार्यक्रम सफल बनाउन विभिन्न आयामबाट गहिरो सोच-विचार गर्नैपर्छ।

राजदूतको व्यक्तिगत पहलले अवश्य धेरै अवसरमा निर्णायक भूमिका खेल्छ। एउटा राजदूतको समर्पण, सक्रियता, सम्बन्ध निर्माण र नेतृत्व क्षमताले महत्वपूर्ण भिन्नता ल्याउन सहयोग पुर्‍याउँछ, कहिलेकाहीं सीमित स्रोतको क्षतिपूर्तिका रूपमा।

प्रायः दूतावासले काम गर्न नसकेको गुनासो सुनिन्छ। अझ आर्थिक कूटनीतिमा ध्यान दिएको देखिँदैन। तपाईंंले यस दिशामा केही गर्नुभएको छ?

कुनै पनि दूतावासको प्राथमिकता क्षेत्रमा के पर्छ भन्ने विषय सम्बन्धित नियोग तथा नेपाल सरकारको निर्णयमा निर्धारित हुन्छ। हाम्रो दूतावासको एक प्रमुख प्राथमिकता स्पेन, पोर्चुगल तथा माल्टामा रहेका नेपाली नागरिकलाई सहज र सरल रूपमा राहदानी वितरण तथा अन्य कन्सुलर सेवा प्रदान गर्नु हो।

स्पेनमा रहनुभएका करिब १० हजार नेपाली र म स्पेन आएपछि नेपाल सरकारको निर्णयद्वारा पोर्चुगलमा थपिनुभएका २० हजार र माल्टामा रहनुभएका करिब पाँच हजार नेपालीलाई यस दूतावासले राहदानी तथा कन्सुलर सेवा प्रवाह गर्दै आइरहेको छ। यद्यपि हामीले आर्थिक कूटनीतिका अन्य पक्षमा भने प्रयास कम हुन दिएका छैनौं।

हामीले गरेका १२ भन्दा बढी आर्थिक कूटनीतिका कार्यक्रममध्येबाट सबैभन्दा उल्लेख्य कार्यक्रम म्याड्रिडको हिपोड्रोमो डे ला जारजुएलामा घोडा दौडसहितको एक सांस्कृतिक कार्यक्रम आयोजना गरेका थियौं।

कुनै पनि दूतावासको प्राथमिकता क्षेत्रमा के पर्छ भन्ने विषय सम्बन्धित नियोग तथा नेपाल सरकारको निर्णयमा निर्धारित हुन्छ।

उक्त कार्यक्रम नेपाल र स्पेनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५५औं वार्षिकोत्सव, सन् २०२६ सम्ममा स्पेनबाट प्रत्येक वर्ष कम्तीमा एक लाख पर्यटक नेपाल पठाउने लक्ष्यअनुरूप पर्यटन प्रवर्धन गर्ने तथा जलवायु परिवर्तनले नेपालका हिमाल तथा हिमनदीमा पुर्‍याएको असरबारे सचेतना जगाउने उद्देश्यका साथ आयोजना गरिएको थियो।

यसरी एउटै कार्यक्रम तीन प्रमुख लक्ष्यसहित आयोजना गरेका थियौं। सो कार्यक्रममा स्पेनका लागि आवासीय राजदूत, कूटनीतिज्ञ, स्पेनको परराष्ट्र मन्त्रालयका पदाधिकारी, भ्लगर, प्रभावशाली व्यवसायी, गैरआवासीय नेपाली, कलाकार, सञ्चारकर्मी, विश्वविद्यालयका प्राध्यापक तथा विद्यार्थी, स्पेनका विभिन्न आयामका व्यक्तिसहित तीन हजारभन्दा बढीको सहभागिता थियो।

नेपालले स्पेनबाट कुनकुन क्षेत्रमा सहयोग प्राप्त गर्न सक्छ? नेपालले स्पेनका लागि के गर्न सक्छ?

दुई देशबीच विभिन्न आयाम तथा क्षेत्रहरूमा सहकार्य तथा समन्वयको प्रचुर सम्भावना छ। स्पेनले प्रत्येक वर्ष करिब नौ करोड पर्यटन भित्र्याउने गरेको, युरोपमा हरित ऊर्जामा एक प्रमुख नेतृत्वदायी भूमिका निर्वाह गरेको, अर्थतन्त्रको प्रमुख पक्ष कृषि बनाएको फुटबलको शक्ति केन्द्र स्थापना गरेको छ।

नेपालले यी चार क्षेत्रमा विशेष ध्यान दिन जरुरी छ। साथै, प्रचुर सम्भावना रहेको नेपालको ऊर्जा क्षेत्र विशेष गरी हरित हाइड्रोजन स्पेनका लागि लगानीको एउटा ठुलो आकर्षण हुन सक्छ।

नेपालको हिमाली पर्यटन पनि स्पेनिस पर्यटकका लागि ठुलो आकर्षणको केन्द्र बन्दै गएकोमा पछिल्लो समय आध्यात्मिक पर्यटनसमेत फस्टाउँदै गएको छ। साथै, स्पेनमा रहनुभएका नेपालीले प्रायः हस्पिटालिटी, पाककला क्षेत्रमा आफ्नो कला, संस्कृति तथा स्वादिष्ट परिकार पेस गरिराख्नुभएको छ।

तपाईंको कार्यकाल पूरा हुँदा नेपाल-स्पेन सम्बन्ध कति उठ्ला?

करिब एक लाख पर्यटन स्पेनबाट नेपाल भित्र्याउने, दुई देशबीच सर्कुलर माइग्रेसनलगायतका विभिन्न विषयमा श्रम सम्झौता गर्ने, स्पेनबाट हरित ऊर्जामा उल्लेख्य लगानी भित्र्याउने, कृषिसम्बन्धी प्राविधिक ज्ञान लैजाने तथा दुई देश र नागरिकबीच रहिआएको सौहार्दपूर्ण सम्बन्ध तथा मित्रतालाई थप उचाइ दिने अपेक्षा गरेकी छु।

नेपालले स्पेनबाट सिक्नुपर्ने पक्ष केके छन्?

सबै देशको आआफ्नै विशेषता हुन्छ। स्पेनबाट नेपालले सिक्नुपर्ने पक्ष धेरै छन्, जसमध्ये सफल पर्यटन प्रयास, आधुनिक कृषि खेती, स्वास्थ्य प्रणाली, विपद् तथा फोहोरमैला व्यवस्थापन, विज्ञान प्रविधिलगायतका छन्।

नागरिकन्यूजबाट