☰ open Loading... 23 June 2024|  

पर्यटक आउने सिजनमा सुनसान पोखरा
पश्चिम नेपाल   | ५ आश्विन २०८०, शुक्रबार १२:३६

पोखराबाट बिहानीपख हिमाल देखिन थालेको छ। साँझपख चल्ने शीतल बतासले चाडपर्वको छनक दिन थालेको छ। विदेशी पर्यटक नेपाल घुम्न आउने, यहाँको प्रकृति र संस्कृतिमा रमाउने अनि पदयात्रा गर्ने समय पनि यही हो।

नेपाल पर्यटन बोर्डका पूर्वसदस्य टीकाराम सापकोटाका अनुसार अंग्रेजी महिना सेप्टेम्बर, अक्टोबर र नोभेम्बर नेपाल घुम्ने ‘पिक सिजन’ हो। नेपालमा सबैभन्दा धेरै विदेशी पर्यटक यही सिजनमा आउने गरेका छन्। अर्को सिजन फेब्रुअरी, मार्च र अप्रिल हो। अन्य समय ‘लो सिजन’ मानिन्छ।

नेपाल आउने अधिकांश विदेशी पर्यटक पदयात्रा रुचाउँछन्। यो समय मौसम सफा हुने भएकाले सबैभन्दा धेरै पर्यटक पदयात्रा गर्छन्।

‘यति बेला (सेप्टेम्बर–नोवेम्बर) हावाहुरी, हिमपात, बाढी पहिरोजस्ता प्रकोपको जोखिम कम हुन्छ। यसै कारण यो सिजनमा धेरै पर्यटक आउँछन्,’ सापकोटा भन्छन्, ‘यही बेला हिमाल प्रष्ट खुल्छ। वातावरण औधी रमाइलो हुन्छ।’

कोभिड–१९ (कोरोना भाइरस संक्रमण) महामारीअघि यो सिजनमा पोखराको लेकसाइडका गल्लीभरि नेपाली र विदेशी पर्यटहरू सराबरी देखिन्थे। पदयात्रामा नेपाली भन्दा विदेशी धेरै हुन्थे।

कोभिड–१९ सुरु भएको वर्ष सन् २०१९ मा १२ लाख विदेशी पर्यटक नेपाल आएका थिए। हाल वार्षिक ६ लाखको हाराहारीमा आउँदैछन्।

कोभिड–१९ को समयमा लकडाउन हुँदा पर्यटनको दोस्रो सिजन चल्दै थियो। चैतमा लकडाउन हुँदा कतिपय पर्यटक गन्तव्यमा पुग्नै नपाई फर्किनु परेको थियो।

सापकोटाका अनुसार नेपाल आउने कुल पर्यटकमा झन्डै आधा जति पोखरा आउँछन्। विदेशीकै हाराहारीमा नेपाली पर्यटक पनि पोखरा आउँछन्। कोभिड–१९ पछि मानिसहरू सामान्य अवस्थामा फर्किसकेका छन्। पर्यटन बजार भने अझै त्यो महामारीको प्रभावबाट मुक्त भएको छैन।

लेकसाइडमा हस्तकला सामग्रीका व्यापारी ग्याल्पो हेल्बु कोभिड–१९ पछि निरन्तर घाटामा छन्। यसपालिको सिजनमा पनि राम्रो व्यापार नभए व्यवसाय बन्द गर्ने विचारमा छन्।

‘दिनभरिमा एक जना पनि ग्राहक आउँदैन। कहिलेकाहीँ थोरै व्यापार हुन्छ,’ उनी भन्छन्, ‘यो सिजन पनि यस्तै भयो भने व्यवसाय नै बन्द गर्छु।’

कोभिड–१९ अघि दैनिक ५० हजार रुपैयाँसम्मको व्यापार हुने गरेको उनले बताए। लेकसाइडमा हस्तकलाका सामग्री बेच्न थालेको २५ वर्षमा अहिलेजस्तो मन्दीको अवस्था कहिल्यै भोग्नु नपरेको पनि उनले बताए ।

‘यही ठाउँमा सटर (कोठा) भाडामा लिएर २५ वर्ष व्यापार गरें, यस्तो सुनसान लेकसाइड कहिल्यै देखेको थिइनँ,’ उनले भने, ‘दिनभर एक जना पनि आउँदैन, कहिलेकाँही पाँच रुपैयाँको व्यापार हुन्छ। यसरी त व्यवसाय चल्दैन।’

यसपालि पनि पर्यटनको मुख्य सिजन सुरू भइसक्दा पोखरामा पर्यटकको चहलपहल छैन। नेपाली पर्यटक पनि देखिँदैनन्। नेपाली पर्यटकलाई पोखरा आउन सडकले असर गरेको छ।

पोखरा आउने मुख्य सडक पृथ्वी राजमार्ग र सिद्धार्थ राजमार्ग विस्तारका नाममा भत्काएर छाडिएको छ। चिनियाँ ठेकदार कम्पनीले नियमित रूपमा काम गरेको छैन।

यता नेपाल सरकारको नीति पनि विदेशी पर्यटकका लागि अनकूल नरहेको पर्यटन व्यवसायीहरूको भनाइ छ। सरकारले प्रोत्साहनको नीति र कार्यक्रम दिन सकेको छैन।

अहिले सिजन सुरू भइसक्दा पनि ट्रेकिङ एजेन्सीहरू फुर्सदमा देखिन्छन्। ‘इथिकल ट्रेकिङ’ कम्पनीका सञ्चालक कृष्ण आचार्यका अनुसार चालु सिजनमा हालसम्म कोभिडअघिको ‘लो सिजमा’ आउने जति पर्यटकले मात्र बुकिङ गराएका छन्। ।

‘कोभिडअघि जस्तो बुकिङ छैन। धेरै पर्यटकले सोधपुछ मात्र गरेका छन्, आउने निधो गरेका छैनन्,’ उनले निराशा प्रकट गर्छन्, ‘यसपालिको सिजन पनि फुर्सदमै बित्ला जस्तो छ।’

ट्रेकिङ कम्पनीकै जस्तो हालत छ होटल, रेस्टुरेन्ट लगायत अन्य व्यवसायको पनि। पश्चिमाञ्चल होटल संघका अध्यक्ष लक्ष्मण सुवेदी भन्छन्, ‘पर्यटक नै नआएपछि व्यवसाय हुने आशा नै भएन।’

नेपाल पर्यटन बोर्डका पूर्वसदस्य सापकोटाले गण्डकी प्रदेशमा पर्यटक स्तरको पूर्वाधारमा निजी क्षेत्रबाट लगभग पाँच खर्ब रूपैयाँ लगानी भएको बताए। यसमध्ये चार खर्ब त पोखरामा मात्रै छ।

उनका अनुसार गण्डकीमा पर्यटक स्तरका सात सय वटा होटल र १५० वटा रेस्टुरेन्ट छन्। ट्राभल एजेन्सी २०३ वटा, ट्रेकिङ एजेन्सी १५९ वटा, प्याराग्लाइडिङ कम्पनी ६५ वटा, अल्ट्रालाइट कम्पनी तीन वटा र ट्रेकिङ सााग्रीका पसल ११५ वटा छन्। विदेशी मुद्रा सटही केन्द्र ४२ वटा छन्। याफ्टिङ एजेन्सी १२ वटा र स्पा ६३ वटा छन्। ग्रामीण पर्यटनमा गण्डकीमा मात्र ३४१ वटा होम–स्टे छन्।पोखरामा केबुलकार, बन्जी, जीपलाइन, क्यानोनिङ जस्ता साहसिक खेलहरूमा पनि यथेष्ट लगानी छ। यी सबै व्यवसायमा ७५ हजार जनाले रोजगारी पाएको अनुमान गरिन्छ।
व्यवसायीको लगानीअनुसार प्रतिफल नआउँदै विस्थापित हुनुपर्ने अवस्था आएको सापकोटाको भनाइ छ।

‘गण्डकीमा पर्यटन व्यवसायीको पाँच खर्ब लगानी डुब्ने अवस्था भएको छ। सरकारले साथसहयोग छैन,’ उनी भन्छन्, ‘यसपालिको सिजन पर्खेर बसेका व्यवसायी पनि उत्साहित हुन सकेका छैनन्। यस्तै हो भने व्यवसायबाट पलायन हुन सक्छन्।’

पोखरामा अहिले भएको लगानीले वार्षिक डेढ /दुई करोड पर्यटकलाई सुविधा दिन सक्ने पश्चिमाञ्चल होटल संघका अध्यक्ष सुवेदीको दाबी छ। उनका अनुसार पोखरामा मात्र ४० हजार बेड पर्यटक स्तरका छन् तर लगानी अनुसार प्रतिफल पाउने अवस्था भएन।

उनी भन्छन्, ‘सरकारले पर्यटक आउने वातावरण बनाइदियोस्, हामी पोखरामा दैनिक ४० हजार पर्यटकलाई सेवा दिन सक्छौं। नत्र निजी क्षेत्रको लगानीको जिम्मेवारी पनि सरकारले लिनुपर्छ।’

मुख्य सिजनमै पर्यटक नआउने छाँटकाँट देखिएपछि व्यवसायी पलायन हुने अवस्था आएको छ। कोभिड–१९ पछि साना लगानीका धेरै होटल र रेस्टुरेन्टबाट व्यवसायी पलायन भएको र पछि लगानी गरेका व्यवसायी पनि डुब्ने अवस्थामा पुगेको सुवेदीले बताए।

पर्यटन व्यवसाय धराशायी भएका बेला सरकारले विशेष योजना ल्याउनुपर्ने ‘एभिया क्लब’ की निर्देशक नतसा श्रेष्ठको भनाइ छ। पोखरामा पहिलो अल्ट्रालाइट सञ्चालनम ल्याएकी श्रेष्ठका अनुसार संकटको अवस्थामा विश्वका धेरै मुलुकले पर्यटकलाई भिसा शुल्क फ्री गर्नेदेखि अन्य आकर्षक प्याकेजहरू दिने गरेका छन्।

उनी भन्छिन्, ‘नेपाल सरकारले पनि पर्यटकलाई आकर्षित गर्ने प्याकेज ल्याउनुपर्छ। पर्यटक आउँदामात्रै हाम्रो व्यवसाय चल्छ, सरकारलाई पनि फाइदा हुन्छ।’

पर्यटन व्यवसाय खस्किएर व्यवसायी पलायन हुन थाल्दा समेत सरकार कानमा तेल हालेर बसेको व्यवसायीहरूको आरोप छ। पोखरा पर्यटन परिषदका पूर्वअध्यक्ष बच्चुराम तिवारीका अनुसार कोभिड–१९ अघि पर्यटक संख्या बढ्दो क्रममा थियो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले पनि पर्यटक बढाउने अपेक्षा थियो। यही आधारमा लगानी गरेका व्यवसायी अहिले निराश छन्।

‘नेताहरू पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल तयार भएपछि पर्यटकको संख्या बढ्छ तर पर्यटकका लागि पूर्वाधार भएन भन्थे,’ उनले भने, ‘बढ्दो पर्यटक संख्या र विमानस्थलबाट आशावादी भएर हामीले लगानी बढायौं तर पर्यटक आउने छाँटकाँट देखिएन।’

नेपाल पर्यटन बोर्डले आफ्नै समस्या देखाउँछ। चालु आर्थिक वर्षका लागि अहिलेसम्म पनि बजेट पारित गर्न सकेको छैन। बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) धनञ्जय रेग्मीले बजेट पारित नहुँदा दुई महिनादेखि बोर्डका कर्मचारीले तलब नपाएको बताए।

सन् १९९८ मा पहिलोपटक नेपाल भ्रमण वर्ष मनाएर समापन गरेकै दिन सरकारी र निजी क्षेत्र मिलेर पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्ड स्थापना भएको थियो। बोर्डले नेपाल आउने पर्यटकसँग शुल्क लिन्छ। ट्रेकिङ एजेन्सीसँग मिलेर पदयात्रामा जाने पर्यटकसँग पनि यात्रा अनुमतिपत्रका नाममा बोर्डले शुल्क लिने गरेको छ। पर्यटन प्रवर्द्धन गर्ने नाममा पर्यटकसँग असुलेको रकममा पर्यटनमन्त्री, बोर्डका अध्यक्ष रहने पर्यटन मन्त्रालयका सचिव र प्रमुख कार्यकारी अधिकृतबीच बजेट बाँडफाँडमा स्वार्थ नमिलेर बजेट पारित हुन नसकेको बोर्डकै केही अधिकारीहरूको आरोप छ।

बोर्डका सिइओ रेग्मीले असार मसान्तमै बजेट बनाएर बोर्ड अध्यक्षलाई बुझाएको बताए। पर्यटन मन्त्रालयका सचिव बोर्डमा अध्यक्ष रहने व्यवस्था छ।
रेग्मीका अनुसार असार मसान्तमा बजेट बनाएर बुझाउँदा पर्यटन मन्त्रालयमा सुरेश अधिकारी सचिव थिए। उनीपछि भरतमणि सुवेदी आए। सुवेदी नै अहिले बोर्डका अध्यक्ष छन्।

मन्त्रालयका नयाँ सचिव (बोर्ड अध्यक्ष) आएपछि उनलाई बजेट विवरण बुझाएको रेग्मीले बताए।

‘बोर्डको अध्यक्ष भएर भरतमणि सुवेदी आउनुभयो, उहाँलाई पनि बजेटबारे ब्रिफिङ गरेको छु। बजेट बुझाएको छु,’ उनले भने, ‘सबैका आआफ्ना स्वार्थले बजेट पास हुन दिएको छैन।’

कसको स्वार्थले पर्यटन बोर्डको बजेट पारित नभएको भन्ने प्रश्नमा रेग्मीले कही पनि खुलाएनन्।

पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठका विचारमा नेपाल पर्यटन बोर्डले पर्यटन प्रवर्द्धनका कार्यक्रम मात्र सञ्चालन गर्नुपर्छ। भौतिक पूर्वाधारमा बोर्डले लगानी गर्न आवश्यक छैन। तीन वटै तहका सरकारहरू पर्यटन प्रवर्द्धन र पूर्वाधारमा गम्भीर बन्नुपर्छ।

‘पर्यटक नहुँदा व्यवसायीको लगानीमात्र डुबेको छैन, सरकारी लगानी पनि डुबेको छ,’ श्रेष्ठ भन्छन्, ‘पर्यटक धेरै आए मात्रै सरकारले विदेशी मुद्रा आर्जन गर्छ, व्यवसायीहरूले कर तिर्छन् र राज्यको आम्दानी बढ्छ।’

चालु सिजनमा पनि पर्यटकको आगमन उत्साहजनक नभए व्यवसायी पलायनको क्रम बढ्ने उनको अनुमान छ।

‘बैंकबाट ७–८ प्रतिशत ब्याजमा लिएको ऋणको ब्याज बढेर १५ प्रतिशतसम्म पुगेको छ। ऋण लिएर गरेको लगानी डुबेको छ,’ श्रेष्ठ भन्छन्, ‘पर्यटन व्यवसायी पलायन हुन थाल्दा पनि सरकारलाई मतलब छैन।’

सबैभन्दा बढी पर्यटक आउने सिजनमा सुनसान पोखरा र व्यवसायीहरूको निराशाले खस्कँदो पर्यटनको चित्र देखाएको छ।

सेतोपाटीबाट