☰ open Loading... 24 February 2024|  

कर्मचारी सरुवा अनियमित भएको आरोप
पश्चिम नेपाल   | ५ आश्विन २०८०, शुक्रबार १९:५६

सुर्खेत । कर्णाली प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा भएको कर्मचारी सरुवा अनियमित भएको आरोप लागेको छ । मन्त्रालयले गत भदौ ३१ गते लेखा समूहका कर्मचारीको पदस्थापना र सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको थियो । उक्त निर्णयले केही कर्मचारीको सरुवाले मनोबल नै कमजोर हुनेगरी निर्णय भएको कर्मचारीको गुनासो छ ।
एउटै व्यक्तिलाई उही प्रकृतिको काममा पुनः सोही कार्यालयमा दोहो¥याएर सरुवा पठाएको प्रति कर्मचारीले आपत्ती जनाएका छन् । जुम्लास्थित खानेपानी सिचाई तथा उर्जा विकास कार्यालयमा सरुवा भएका लालचन्द्र उपाध्यायको त्यस प्रकारको सरुवा भएको हो ।
अधिकृत छैठौं तहका उपाध्यायलाई कृषि विकास कार्यालय जुम्लाबाट खानेपानी कार्यालयमा सरुवा गरिएको हो । कृषि कार्यालयमा आउनुपूर्व उनि खानेपानी कार्यालयमै कार्यरत थिए । एक महिना अघि मात्रै कृषि कार्यालयमा सरुवा आएका उपाध्याय पुनः खानेपानी कार्यालयमै सरुवा भएपछि अन्य कर्मचारीले आपत्ती जनाएका हुन् ।
एउटै व्यक्तिलाई सोही कार्यालयमा दोहा¥याएर सरुवा हुँदा यसप्रति आशंका गर्ने सुविधा प्राप्त भएको जुम्लास्थित डिभिजन वन कार्यालयमा कार्यरत लेखा सहायक पाचौं उपेन्द्र चौलागाईले बताए । एउटै व्यक्तिलाई दोहो¥याएर सरुवा गर्नुको कारण के हुनसक्छ? उनले प्रश्न गर्दै भने, ‘की भने त्यो कार्यालय कर्मचारीको कमाउ अड्डा हुनुपर्छ, या अनियमितताको ढाकछोप गर्न कागजात मिलाउने लगायतको कारण हुनसक्छन् ।’ यसरी गरिएको सरुवाले कर्मचारीलाई नै हतोत्साही बनाएको उनले बताए ।
उक्त कर्मचारी सरुवाका क्रममा आर्थिक चलखेल भएको हुनसक्ने चौलागाईको आरोप छ ।
कर्णाली प्रदेश सरकार मातहतका कर्मचारीको पदस्थापना र सरुवा तथा कामकाजमा खटाउनका लागि ‘कर्णाली प्रदेश निजामती कर्मचारीको सरुवा तथा काज सम्बन्धी मापदण्ड २०७७’ कार्यान्वयनमा छ । उक्त मापदण्ड बमोजिम एकै प्रकृतिको कार्यालयमा पाँच वर्ष व्यतित गरिसकेको कर्मचारीलाई पुनःसोही प्रकृतिको ठाउँमा सरुवा गर्न नमिल्ने उल्लेख छ । तर, उपाध्यायले भने खानेपानी कार्यालयमा चार वर्ष व्यतित गरिसकेको छन् । मापदण्ड बमोजिम सरुवा हुन नमिल्ने संकेत पाएपछि उनि एक महिनाका लागि मात्रै कृषि कार्यालयमा खटिइएका थिए । त्यसपश्चात उनि पुनः सोही कार्यालयमा सरुवा भएका हुन् ।