☰ open Loading... 3 December 2024|  

भारतले विश्वकपका लागि अरू सबै टोलीलाई भिसा दिँदा पाकिस्तानी टोलीलाई दिएन
पश्चिम नेपाल   | ७ आश्विन २०८०, आईतवार ०५:३०

काठमाडौं। आईसीसी एकदिवसीय विश्वकप २०२३ अक्टोबर ५ बाट भारतमा सुरु हुनेछ, जबकि यस प्रतिष्ठित प्रतियोगिताको फाइनल नोभेम्बर १९ मा खेलिनेछ। विश्वकपका अभ्यास खेलहरू सेप्टेम्बर २९ देखि हुनेछन् ।

भारत आउने अरू सबै टोलीको भिसा स्वीकृत भइसकेको छ । तर, बाबर आजमको नेतृत्वमा आउने पाकिस्तानी क्रिकेट टोलीले अहिलेसम्म भारत सरकारबाट भिसा स्वीकृति पाएको छैन।

जसका कारण पाकिस्तानी क्रिकेट टोलीको दुबई जाने र खेलाडीसँग क्याम्प गर्ने योजना रद्द भएको छ । विश्वकपअघि पाकिस्तानका लागि यो ठूलो झट्का हो ।

ईएसपीएनका अनुसार पाकिस्तान टोली व्यवस्थापनले सबै खेलाडीहरू प्रि-विश्वकप क्याम्पका लागि दुबई जाने योजना बनाएको थियो । जहाँबाट उनीहरु सबै भारतको हैदरावादको लागि उडान भर्ने तयारीमा थिए । यसका लागि बाबर एण्ड कम्पनी युएई गएर केही दिन त्यहाँ बिताएर भारत आउने भएका थिए ।

तर अहिले यो योजना ध्वस्त भएको छ । वास्तवमा अहिलेसम्म पाकिस्तानी टोलीलाई भारत आउने भिसालाई ग्रीन सिग्नल दिइएको छैन। पाकिस्तान क्रिकेट बोर्डले एक साताअघि भिसाका लागि आवेदन दिएको थियो तर अहिलेसम्म स्वीकृत भएको छैन ।

भिसा अनुमोदन नहुँदा पाकिस्तानी क्रिकेट टोली लाहोरमा बसेर २७ सेप्टेम्बरमा दुबई उड्नेछ। जहाँबाट सेप्टेम्बर २९ मा न्यूजिल्याण्डसँगको अभ्यास खेलका लागि हैदरावाद आउनेछ । टोलीले समयमै भिसा पाउने पाकिस्तानी व्यवस्थापनको विश्वास छ ।

भारतमा हुन लागेको विश्वकपमा १० टिमको सहभागिता रहेको छ । ९ विदेशी टोलीमध्ये पाकिस्तानले मात्र भिसा पाएको छैन । अब पाकिस्तानी टोलीको भिसामा ढिलाइले उनीहरुको तयारीमा पनि असर पर्न सक्छ । पछिल्लो १० वर्षमा पाकिस्तानी टोलीले सन् २०१६ मा मात्र टी–२० विश्वकप खेल्न भारतको भ्रमण गरेको थियो ।

पछिल्लो पटक पाकिस्तानी टोली भारतसँग द्विपक्षीय शृंखला खेल्न सन् २०१२-१३ मा भारत आएको थियो। त्यसयता दुई देशबीच कुनै पनि द्विपक्षीय शृङ्खला खेलिएको छैन। विश्वकप २०२३ मा पाकिस्तानले सेप्टेम्बर २९ मा न्युजिल्यान्डसँग अभ्यास खेल खेल्ने छ भने त्यसपछि ३ अक्टोबरमा अस्ट्रेलियासँग अभ्यास खेल खेल्ने छ ।