☰ open Loading... 24 February 2024|  

‘हाइप्रोफाइल’को रोजाइमा खरायोको टोपी
पश्चिम नेपाल   | ८ आश्विन २०८०, सोमबार १४:२३

जुम्ला चन्दननाथ नगरपालिका– ८ उमखलाका पदमबहादुर रोकाया खरायोपालक कृषक हुन्। उनले ३० वर्षदेखि खरायोपालन गर्दै आएका छन्। विशेष गरी खरायोको ऊनबाट टोपी उत्पादन गर्ने गरिन्छ। खरायोबाट मासु पनि उत्पादन हुन्छ। तर, किसानले खरायोको ऊनको टोपीबाट बढी फाइदा लिने गरेका छन्। खरायोको ऊनबाट टोपी, गलबन्दी, स्विटर उत्पादन हुने भए पनि बजारमा बढी टोपीकै माग छ।

कर्णाली प्रदेश सरकारले अनुदानमा दिएको खरायोबाट सुरु गरेका पदमबहादुरले अहिले एक सय ३० वटा खरायो पालेका छन्। उनले ४० वटा त खरायो नै बिक्री गरिसके। वार्षिक ४० देखि ५० वटासम्म उनले खरायोको उनबाट बनेको टोपी उत्पादन गरी बिक्री गर्ने गरेको सुनाए। एउटा टोपी तीन हजारदेखि तीन हजार पाँच सयसम्ममा बिक्री हुने गरेको छ। उनले भने, ‘अहिले मेराे मुख्य पेसा नै खरायो पालन हो। यसबाट राम्रो आम्दानी छ । घर–व्यवहार चलाउन सहज भएको छ।’

पदमबहादुरजस्तै स्थानीय भैरव धराला, सुकधुने बोहरा, वृषबहादुर धराला, भक्तबहादुर रावललगायतले खरायो पालन गर्दै आएका छन्। खरायोको ऊनबाट बनेको टोपी ‘हाइप्रोफाइल’ व्यक्तिहरूले खरिद गर्ने गरेका किसानहरू बताउँछन्। उत्पादन कम र बजारमा माग बढी भएकै कारण महँगो मूल्यमा बिक्री हुने गरेको हो।

चन्दननाथ नगरपालिकाको वडा नम्बर ८ र ९ का किसानले खरायोपालन गर्दै आएका छन्। खरायोको ऊनको टोपी बढीजसो सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी, नेता, जनप्रतिनिधि, व्यापारीले खरिद गर्ने गर्दछन्। आफूभन्दा माथिल्ला ओहाेदाका कर्मचारी वा नेताहरूलाई उपहार दिनका लागि खरिद गर्ने गरेको किसानहरू बताउँछन्।

खरायोपालक किसान वृषबहादुर धराला भन्छन्, ‘सरकारको सानो सहयोगले परिवारकै लागि रोजगारी मिलेजस्तो भएको छ।’ उनी आफूले ऊन कात्ने, भाइले टोपी बुन्ने र परिवारका अन्य सदस्यले अरू सहयोग गर्दै आएको बताउँछन्। ‘अहिले घरमा ७० वटा खरायो छन्। दुई खरायोको ऊनबाट एक टोपी हुन्छ,’ उनले भने। वृषबहादुरका अनुसार अंगुरा जातको खरायोबाट हरेक तीन महिनामा ऊन निकाल्न सकिन्छ।

किसानले बर्सेनि एकदेखि दुई लाखसम्म आम्दानी भइरहेको बताएका छन्। उचित खोर व्यवस्थापन, आधुनिक औजार र दाना पिस्ने मेसिनको आवश्यकता रहेको उनीहरूको भनाइ छ। चन्दननाथ बहुउद्देश्यी सहकारी जुम्लाका प्रमुख ऋषिराम पाण्डेका अनुसार सहकारीको मिनि मार्केटमार्फत खरायोको ऊनको टोपीको बजारीकरण भइरहेको छ। ‘दुई वर्षदेखि एक हजार एक सय ७२ टोपी करिब ४१ लाख रुपैयाँबराबरमा खरायोको टोपी बिक्री–वितरण गरेका छौँ,’ उनले भने।

खरायोको ऊनबाट आम्दानी बढी देखिएकाले गत आर्थिक वर्षमा तलिउम गाउँका पाँचजना खरायोपालन किसानलाई ५० प्रतिशत अनुदानमा पाँच सय खरायो वितरण गरिएको थियो। पशु अस्पताल तथा पशुसेवा कार्यालय जुम्लाका प्रमुख ज्ञानेन्द्र बुढ्थापाका अनुसार गत वर्ष चन्दननाथ– ८ का खरायोपालक किसानलाई प्रतिउद्योग रु. एक लाख २८ हजारका दरले पाँच सयवटा खरायो अनुदान दिइएको हो।

नयाँ पत्रिका बाट