☰ open Loading... 14 July 2024|  

हिमालको टावर ‘केन्जो’
भीमकुमार बाँस्कोटा   | ९ आश्विन २०८०, मंगलवार १३:५२

फिदिम । तिम्बुङ पोखरीे नजिकैको पहरामा केन्जो फुलेको देखेपछि फिदिमका सुबास बाँस्कोटा खुसीले चिच्याए । ‘केन्जो त टावर जस्तो पो रहेछ !,’ केन्जोको फूल सुमसुम्याउँदै उनले भने ‘यसलाई हिमालको टावर भन्दा फरक पर्दैन ।’

बिगतमा केन्जोको फोटो हेरेर चित्त बुझाएका उनले प्रत्यक्ष देख्दा टावरसँग तुलना गरिदिए । हुनपनि केन्जोलाई झट्ट हेर्दा ठिङ्ग ठडिएको टावरजस्तै देखिन्छ । फेदमा मोटो र टुप्पोमा चुच्चो हुने भएकाले केन्जोलाई धरहरासँग तुलना गर्नेहरु पनि छन् ।

केन्जोको बारेमा पहिलोपटक बैज्ञानिक व्याख्या गरेका ब्रिटिस बोटानिस्ट सर जोसेफ टाल्टन हुकरले केन्जोलाई ठिङ्ग उभिएको टावरसँँग तुलना गरेको पाइन्छ । यसलाई पदमचाल पनि भन्ने गरिन्छ ।

‘पदमचाललाई मैले पहिलोपल्ट एक माइल टाढाबाट देखेँ । लाछेन उपत्यकाको १४ हजार फिट उचाईमा अवस्थित कालो पहाडलाई यसले अत्यन्त सुन्दर बनाएको थियो । अप्ठ्यारा ठाँउमा थिए,’ हुकरले आफ्नो पुस्तक हिमालयन जर्नल्स नोट्स अफ न्याच्युरलिस्टमा लेखेका छन् ‘तीन फिट जति अग्लो यस बनस्पति पिरामिड टावरको रुपमा ठिङ्ग उभिएको थियो ।’ हुकरले सन् १८४९ तिर सिक्किमको लाछेन उपत्यकामा टावरको रुपमा केन्जो देखेको उल्लेख गरेका हुन् ।

केन्जोको बिरुवामा पत्रपत्र परेका सेता पातहरु हुन्छन् । तल्लो भागमा पातहरु ठूला हुन्छन् । माथिल्लो भागका पातहरु तल्लो पातहरुको तुलनामा साना हुन्छन् । यसको उचाई एकदेखि तीन मिटरसम्म अग्लो हुन्छ । यसलाई पहराको आसपासमा फूलेको भेटिन्छ । केन्जो फूलेको बेला हिमाली टाकुरा र कन्दराको शोभा बढ्छ ।

औषधीय गुण भएको केन्जोलाई फूलहरुको रानी भनेर स्थानीयले भन्ने गरेका छन् । हिमालमा केन्जो फुल्दा बातावरण निकै आकर्षक देखिन्छ । साउनदेखि असोज महिनासम्म केन्जो फुलेको देख्न सकिने तिम्बुङ क्षेत्रका पर्यटन व्यवसायी अमिर राईले बताए । ‘केन्जोले हिमाली क्षेत्रलाई दुलहीजस्तै राम्रो बनाएको छ,’ उनले भने ‘हिमालको गहना हो केन्जो । यसले हिमाललाई शोभायमान बनाएको छ ।’

नेपालको तिम्बुङ पोखरी क्षेत्रमा केन्जो पाईन्छ । तिम्बुङ जाने यात्रुहरुले पोखरीको दर्शपछि केन्जो हेर्ने र केन्जोसँग फोटो भिडियो खिच्ने योजना बनाएका हुन्छन् । ‘यसपटक केन्जोलाई प्रत्यक्ष देखियो,’ पाँचथरको हिलिहाङ गाँउपालिकाका लोकेन खतिवडाले भने ‘केन्जो हेर्ने धोको बल्ल पूरा भयो । फोटोमा देखेभन्दा राम्रो हुँदोरहेछ केन्जो ।’
हिमालको पहरामा सेताम्य भएर केन्जो फुल्छ । यो दुर्लभ प्रजातिको फूल हो । बनस्पति बिभागका अनुसार नेपालको तिम्बुङ क्षेत्रमा मात्रामा केन्जो पाईन्छ । नेपाल सहित भारत र भूटानमा केन्जो भेटिएको उल्लेख छ ।

नेपालमा तीन हजार मिटरदेखि चार हजार पाँच सय मिटरसम्मको हिमाली भेगमा केन्जो पाइन्छ । पाँचथर र ताप्लेजुङको सिमावर्ती क्षेत्र तिम्बुङ क्षेत्रसहित दोलखा, गोरखा, लमजुङ, म्याग्दी, हुम्ला, बाजुरा, जुम्ला, पर्बत लगायतका हिमाली जिल्लाहरुमा केन्जो भेटिएको बनस्पति बिभागले उल्लेख गरेको छ ।

केन्जो आर्षक फूल मात्र नभएर यो एक प्रकारको जडिबुटि पनि हो । केन्जोमा औषधीय गुण धेरै हुने भएकाले स्थानीय मानिसहरुले यसलाई अति महत्वपूर्ण बनस्पतिको रुपमा लिएका छन् । आयुर्बेदमा केन्जोलाई निकै महत्वका साथ लिने गरेको पाइन्छ ।

स्थानीय मानिसहरुले यसको जारालाई बिभिन्न औषधीको रुपमा प्रयोग गरेको राईले बताए । यो एक प्रकारको जडिबुटि हो । केन्जोको जरा र जमिनमुनि रहेको काण्ड कसिएर चाम्रो हुन्छ । बाहिरि भाग चाहुरिएको हुन्छ । यसबाट मगमग बास्ना आउँछ । यसको स्वाद केही मात्रामा अमिलो, पिरो र टर्रो हुने गरेको स्थानीयहरु बताउँछन् ।

कब्जियत भएको, पखाला लागेको, ज्वरो आएको अवस्थामा स्थानीय मानिसहरुले औषधीको रुपमा केन्जो खाने गर्छन् । केन्जोको पात, र फूललाई स्थानीयले तरकारी तथा अचार बनाएर खाने गरेको समेत पाइन्छ । बनस्पटि बिभागले केन्जोलाई लोपन्मुख बनस्पतिको सूचीमा राखेको छ ।

जोरपाटीबाट