☰ open Loading... 5 May 2024|  

वन फडानी गरेको आरोपमा वडा अध्यक्ष पक्राउ
पश्चिम नेपाल   | ९ आश्विन २०८०, मंगलवार २२:४२

रुकुम पश्चिममा एक वडा अध्यक्ष सहित चार जना पक्राउ परेका छन् ।

अवैध रुपमा सामुदायिक वन क्षेत्रका रुख फडानी गरेको आरोपमा चौरजहारी नगरपालिका वडा नम्वर ११ का वडा अध्यक्ष तुल्से ओली सहित चार जनालाई डिभिजन वन कार्यालयले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा वडा अध्यक्ष ओलीसहित ५१ वर्षिय कुले नेपाली, २६ वर्षिय बिशाल केसी (बिजय) र ५१ बर्षिय दिलबहादुर शाह रहेका छन् । डिभिजन वन कार्यालय रुकुम पश्चिमका निमित्त कार्यालय प्रमुख शेरबहादुर परियारका अनुसार वडा अध्यक्ष ओलीलाई आज मंगलबार, नेपाली र केसीलाई असोज ८ गते र शाहलाई भदौ २९ गते नै नियन्त्रणमा लिईएको बताईएको छ ।

उहाँहरु बिरुद्ध चौरजहारी नगरपालिका वडा नम्वर ११ स्थित जनकल्याण सामुदायिक वन र सोही स्थानमा अवस्थित सर्केना सामुदायिक वन क्षेत्रको रुख अवैध ढङ्गले फडानी गरेको आरोप छ ।

आरोपी चारै जनालाई अदालतबाट पक्राउ पूर्जि जारीभएपछि डिभिजन वन कार्यालय रुकुम पश्चिमले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान सुरु गरेको जनाएको छ ।

पक्राउ परेका वडा अध्यक्ष ओली गत २०७९ बैशाखमा भएको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित हुनुभएको हो ।