☰ open Loading... 18 May 2024|  

१५ हजार घुस लिने सबइन्जिनियरलाई १० दिन कैद
पश्चिम नेपाल   | १२ आश्विन २०८०, शुक्रबार २०:१८

विशेष अदालतले पोखरा महानगरपालिकाका सबइन्जिनियरलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै कैद तथा जरिवाना हुने सजाय सुनाएको छ। मुद्दा दायर भएको ६ महिना नपुग्दै विशेषले कसुर कायम हुने फैसला गरेको हो।

प्रवीण विक पोखरा महानगरपालिका– २८ मा सबइन्जिनियरका रूपमा कार्यरत थिए। उनले जग्गाको छेउबाट बाटो निकालिदिने प्रयोजनका लागि घुस लिएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो।

यसमा फैसला गर्दै विशेषले उनलाई १० दिन कैद तथा १५ हजार रुपैयाँ जरिवाना हुने सजाय सुनाएको हो। विशेषका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्य शालिग्राम कोइरालको शुक्रबारको इजलासले यस्तो फैसला गरेको हो।

सबइन्जिनियर विकले घुस मागिरहेको सूचना प्राप्त भएपछि अख्तियारको पोखरा कार्यालयबाट खटिएको टोलीले उनलाई १५ हजार घुससहित गत ३ चैतमा नियन्त्रणमा लिएको थियो। अख्तियारले यसै वर्ष २५ वैशाखमा मुद्दा चलाएकोमा ठहर हुने फैसला भएको हो।