☰ open Loading... 11 December 2023|  

पहिरोले एक घर पुरियो, ७ परिवार बिचल्लीमा
पश्चिम नेपाल   | १७ आश्विन २०८०, बुधबार १२:४६

लगातारको वर्षाका कारण पहिरो खस्दा म्याग्दीमा एउटा घर पुरिएको छ।म्याग्दीको मंगला गाउँपालिका–३ बरंजाको घाम्ताङ्गमा शेरबहादुर दर्जीको एउटा घर पुरिएको हो।

दुई दिनदेखिको लगातारको वर्षासँगै घरमाथिबाट ढिस्को खसेर दर्जीको घरगोठ पूर्णरुपमा क्षति भएको हो। पहिरोले गोठमा रहेका पशुचौपाया समेत मरेको बताइएको छ।

पहिरो खस्न थालेपछि दर्जी परिवारसहित घरबाट निस्किएर सुरक्षित स्थानमा हिँडेकाले मानवीय क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ। घर पहिरोले पुरिए पछि दर्जीको परिवार छिमेकीमा बास बस्न थालेका छन्।

ढुङ्गामाटोले छाएको घर भत्किँदा पीडित दर्जीसहित ७ जना परिवारको बिचल्ली भएको छ। तत्कालै पहिरोले पुरिएको आसपासमा बस्ने अवस्था नभएकाले वैकल्पिक स्थानको पहिचान गरी त्रिपालसहितको खाद्यान्न आवश्यकता रहेको दर्जीले बताएका छन्।

सोमवार रातिदेखि लगातार भइरहेको वर्षाले म्याग्दीको जनजीवन प्रभावित बनेको छ भने म्याग्दी सदरमुकाम जोड्ने मुख्य सडकमार्गहरू अहिले अवरुद्ध बनेका छन्।