☰ open Loading... 17 September 2024|  

कर्णालीमा प्रहरीको ‘लालटिन’ अभियान
पश्चिम नेपाल   | २५ आश्विन २०८०, बिहीबार १८:२७

कर्णाली प्रदेशमा लागु औषध विरुद्ध लालटिन अभियान सुरु भएको छ।

प्रदेश राजधानी विरेन्द्रनगरमा एक भव्य समारोहबिच उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काले लालटिन बालेर अभियानको उद्घाटन गरेका हुन्।

कर्णाली प्रदेश प्रहरी कार्यालयको आयोजनामा उक्त अभियान प्रदेशका १० जिल्लामा एकैसाथ बिहीबारबाट सुरु भएको हो। मंगलगढी चौकबाट वृहत् प्रभातफेरी सहित सिटीहलबाट लालटिन अभियानको उद्घोष भएको थियो।

कार्यक्रममा कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकालले लालटिन अभियानको औचित्य र कार्यान्वयनका रणनीति, योजनाबारे प्रष्ट पारेका थिए। २०८० वैशाख १ गतेबाट सुरु भएको सुरक्षित कर्णाली विशेष अभियान अन्तर्गत लागु औषध विरुद्धको लालटिन अभियान थालिएको हो।

उपप्रधान तथा रक्षा मन्त्री पूर्ण बहादुर खड्काले लागु औषध विरुद्ध लालटिन अभियानको उद्घाटन गर्दै कर्णालीका जनताको सुरक्षाका लागि प्रहरीले राम्रो अभियानहरु गरिरहेको बताए।

कर्णाली प्रदेश प्रहरी प्रमुख लगायतका प्रहरीहरुले कर्णालीको शान्ति सुरक्षा र सुरक्षित कर्णाली राख्न महत्त्वपूर्ण कार्यक्रमहरु गाउँ गाउँसम्म गरेको भन्दै रक्षा मन्त्री खड्काले प्रशंसा समेत गरे।

उनले १६ देखि ३६ वर्ष उमेर समूहमा बढी लागू औषध सेवन गर्न सक्ने भन्दै उनीहरुलाई जोगाउन लालटिन अभियान सहयोगी बन्ने विश्वास व्यक्त गरे। यस अभियानमा आफू पनि समर्पित हुने समेत खड्काले उद्घोष गरे। कर्णालीमा पछिल्लो समय लागूपदार्थ दुर्व्यसनी र ओसारपसारका घटनाहरु बढ्दै गएपछि प्रहरीले लालटिन अभियान थालेको हो।

लालटिन अभियानमा लागूपदार्थ उत्पादन, ओसारपसार, बिक्री वितरण र सेवनविरुद्ध प्रहरी परिचालन गरी कानुनी दायरामा ल्याउने, लागु औषध दुर्व्यसनले प्रभाव पारेका क्षेत्र, समुदाय वा वर्ग पहिचान गर्ने र बढी प्रभाव परेका क्षेत्र वा वर्ग लक्षित नियन्त्रणका उपायहरु अपनाउने, विभिन्न लक्षित वर्गहरुको लागि निरन्तर रुपमा प्रभावकारी तवरले लागु औषध विरुद्ध सचेतना अभिवृद्धि कार्यक्रमहरु गर्ने र आम नागरिकलाई सचेत बनाई सक्रिय रुपमा सहभागी गराउँदै लागु औषध दुर्व्यसन र अपराधलाई निरुत्साहित पारी समाज र नागरिकहरुमा सुरक्षा अनुभूति बढाउने अभियानको मुख्य लक्ष्य रहेको प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता गोपाल चन्द्र भट्टराईले बताए।

कर्णालीमा लागु औषध विरुद्धको लालटिन अभियान कार्यक्रममा कर्णाली प्रदेशका मन्त्रीहरु, सचिवहरु, जनप्रतिनिधिहरु, सुरक्षा निकाय, शिक्षक, विद्यार्थी, समाजसेवी, व्यवसायी लगायत सहभागी रहेको थियो।