☰ open Loading... 21 May 2024|  

भेरीबाट पानीको भारी बोक्नुपर्ने बाध्यता हट्यो
पश्चिम नेपाल   | २८ आश्विन २०८०, आईतवार १३:५८

जहरेबाट विवाह गरेर गुर्भाकोट नगरपालिका–८ मेहलकुनामा आइसकेपछि तारादेवी बुढाले लगातार ४० वर्ष भेरी नदीको पानी बोकिन्। बिरामी र सुत्केरी हुँदा बाहेकको समय उनको पिठ्युँमा पानीको गाग्री छुट्दैनथ्यो। भेरीको पानी एक–दुई महिनाबाहेक सधैं धमिलो हुन्थ्यो। अझ बर्खामा पानी भन्दा धेरै गाग्रीमा लेदो भरिन्थ्यो। ‘भेरी किनारका लागि भेरीकै दुःख थिएँ,’ उनले भनिन्, ‘गाग्रीमा भरेर ल्याएको पानी घर पुर्‍याएर कपडाले छानेर खानुपर्दथ्यो,‘ ७० वर्ष पुगेकी बुढाले भनिन्, ‘मेरो पुस्ताको त भेरीकै पानी बोक्दैमा जीवन गयो।’

उहिले भेरी किनारमा छोरी–बहिनी दिनुहुन्न भन्ने चलन थियो। कारण, पानीको दुःख। ‘छोरी–बहिनीलाई भेरी किनारमा विवाह गरायो भने पानी बोक्नुपर्छ, दुःख पाउँछन् भन्ने थियो,’ उनले भनिन्, ‘मैले भेरी किनारमा विवाह गरेर पानी बोक्दाका दुःख भोगेँ।’ अहिले भेरी किनारमा पानीको दुःख छैन्। सुभाघाट सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले घरघरमा धारा जडान गरेको छ। टुटी खोल्ने बित्तिकै आँगनमा पानी बग्न सुरु हुन्छ। भेरीको धमिलो पानी खोसार्दाका दुःख अहिले मेटिएका छन्।

मेहलकुनाकी राममाया गुरुङको जीवन पनि भेरीको पानी ओसार्दै बित्यो। अहिलेको मेहलकुना बजारमा उनको चिया–नास्ता पसल थियो। चिया–नास्ता खाने बहानामा बटुवाहरू पानी खान आइपुग्थे। ‘उति बेला बटुवालाई पानी दियो भने धर्म हुन्छ भन्थे, बटुवाकै लागि रातभरमा आठ–दश गाग्री पानी ल्याएर कपडाले छानेर जम्मा गर्नुपर्दथ्यो,’ उनले भनिन्, ‘अहिले ती दिन सम्झँदा पनि आत्तुरी लागेर आउँछ।’

उनको घरदेखि भेरी पुग्न आधा घण्टा लाग्थ्यो। उकालोमा पानीको गाग्री बोकेर घर पुग्दाको थकानको त कुरै गरी साध्य छैन्। ‘अझ अहिलेको जस्तो शौचालय भइदिए कति दुःख हुँदो हो,’ उनले भनिन्, ‘उति बेला हामीलाई घाँटी चिस्याउनकै दुःख थिए।’ भेरीको धमिलो पानीले खाना पकाउँदा भातसँगै बालुवा पनि पाक्थ्यो। ‘खानासँगै बालुवा पनि धेरै खाएका छौँ हामीले,’ उनले भनिन्, ‘अहिले घरघरमा धारा छन्, पानीको गाग्री बोकेर भेरी धाउनु पर्दैन, खानासँगै बालुवा पनि खानु पर्दैन।’

आयोजनाको उद्घाटन एवम् उपभोक्ता समितिलाई हस्तान्तरण कार्यक्रममा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले जनतासँग निर्वाचनका बेला गरिएका बाचा अनुसार कामहरू भइरहेको बताए। ‘भेरी किनारलाई देशमै नमुनाको सहर बनाउने लक्ष्य अनुसार कामहरू भइरहेका छन्,’ उनले भने, ‘आधुनिक सहरका लागि खानेपानी आयोजनाले ठुलो टेवा पुर्‍याउँछ।’

संस्थाका अध्यक्ष मैना विकले गुर्भाकोट नगरपालिका–६, ७, ८ र ९ वडाका तीन हजार २५१ घरधुरीमा स्वच्छ खानेपानी पुर्‍याइएको बताइन्। एसियाली विकास बैङ्कको ७० प्रतिशत, नगर विकास कोषको २५ प्रतिशत ऋण लगानी र उपभोक्ताको पाँच प्रतिशत गरेर ६२ करोड ४८ लाख रुपैयाँको लागतमा खानेपानी आयोजना निर्माण सम्पन्न भएको हो। भेरी नदीको पानी लिफ्ट गरेर खटाङमा प्रति सेकेन्ड ३० देखि ३५ लिटर पानी उत्पादन गर्ने गरिएको छ। उक्त पानीलाई १७ किलोमिटर प्रशारणलाइन र १३० किलोमिटर वितरण लाइनमार्फत उपभोक्ताहरूलाई पानी वितरण गरिएको छ। उपभोक्ता संस्थाले मोबाइल र कम्प्युटरबाटै पानीको धारा खोल्न र बन्द गर्न मिल्ने प्रविधि पनि जडान गरेको छ । यसलाई स्काडा सिस्टम भन्ने गरिन्छ।

खानेपानी मन्त्रालयका सचिव राम आधार श्रेष्ठले गुर्भाकोट नगरपालिकाका अरु वडाका नागरिकहरूका लागि स्वच्छ खानेपानी पुर्‍याउने उद्देश्यले छुट्टै आयोजना सुरु गर्न लागिएको जानकारी दिए। उनले संविधानमै सुरक्षित खानेपानी नागरिकको अधिकार भनेर उल्लेख गरिएको बताउँदै सबै नागरिकहरूलाई स्वच्छ खानेपानी पुर्‍याउन सरकार क्रियाशील रहेको बताए। उनले स्वच्छ खानेपानी भए ८० प्रतिशत नागरिकहरू रोगमुक्त हुने बताउँदै पानीमा लगानी बढाउन आवश्यक रहेको बताए।