☰ open Loading... 21 May 2024|  

नेपालमा चामलको मूल्य घट्ने
पश्चिम नेपाल   | ३ कार्तिक २०८०, शुक्रबार १४:४७

धानको नयाँ बाली भित्र्याउने र भारतले चामल निर्यात खुलाएकाले चामलको मूल्य घट्दै जाने आकलन गरिएको छ । पछिल्लो समय नेपाललाई भारतले बासमती बाहेकका चामल निर्यातमा रोक लगाउँदा दुई सय रुपैयाँ प्रतिबोरासम्म मूल्य वृद्धि भएको थियो ।

भारतले निर्यात रोक लगाउनुअघि २५ किलो चामलसहित प्रतिबोरा दुई हजारदेखि दुई हजार ५० रुपैयाँमा बिक्री भएको थियो । तर तीन महिना यता प्रतिबोरा चामल दुई हजार दुई सय ५० रुपैयाँसम्म पुगेको छ । यही कार्तिक १ गतेबाट भारतले चामलमा लगाएको प्रतिबन्ध हटाएको छ ।

उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले चामलमा रोक लागेसँगै बढेको मूल्य भारतले नियाँत फुकुवा गरेसँगै घट्नुपर्ने तर्क गर्छन् । ‘प्रतिबन्धको बहानबाजी गरी चामलको मूल्यवृद्धि गर्ने तर घटाउन नमान्ने भन्ने हुँदैन,’ उनी भन्छन्, ‘नेपाली उत्पादन बजारमा आउने सिजन भयो, चामलको मूल्य घटाउन सरकारले पहल गर्नुपर्छ ।’

व्यापारीले अहिले चामलको थोक मूल्य केही घटेको दाबी गरेका छन् । नेपाल खुद्रा व्यापार संघका कार्यवाहक अध्यक्ष नरेश शाहीले २५ किलो बोराको जिरा मसिनो चामलमा ५० देखि ७५ रुपैयाँसम्म घटेको बताए । ‘भारतले निर्यात रोक लगाएपछि प्रतिबोरा चामलमा दुई सय रुपैयाँँ मूल्य वृद्धि भएको थियो,’ उनी भन्छन्, ‘अहिले प्रतिबोरा चामलमा ५० देखि ७५ रुपैयाँ थोक मूल्य घटेको छ ।’ हाल धान भित्र्याउने सिजन भएकाले पनि चामलको मूल्य घट्दै जाने शाहीको आकलन छ ।