☰ open Loading... 15 June 2024|  

ऋण काढेर दसैँ मनाउँदै चेपाङ समुदाय
पश्चिम नेपाल   | ४ कार्तिक २०८०, शनिबार ०८:२७

जिल्लाको ग्रामीण क्षेत्रमा बसोबास गर्ने चेपाङ समुदायलाई दसैँ कसरी मनाउने भन्ने चिन्ताले सताएको छ। कतिपयले ऋण काढेर दसैँ मनाउने तयारी गरेका छन्। यो समुदायका अधिकांशको आफ्नो उब्जनीले छ महिनालाई पनि पुग्दैन। गिठ्ठा, भ्याकुरलगायतका कन्दमूल खाएर जीविकोपार्जन गर्न कतिपय बाध्य छन्।

इच्छाकामना गाउँपालिका–२ का चेपाङ अगुवा पदमबहादुर चेपाङले आफ्नो समुदायमा ९० प्रतिशतले ऋण सापटीमा चाडपर्व मनाउने गरेको बताए। अरुको देखासिकीले चाडपर्व भड्किलो बन्दै गएको उनले बताए। उनले भने, ‘चेपाङ समुदायले परम्परागतरूपमा चाडपर्व मनाउने भए पनि अहिले केही भड्किलो बनेको छ। चाडपर्वका लागि ऋण काढेर गरेर गर्ने गरेको पाइन्छ।’

दसैंमा टीका लगाउने क्रममा दिदी–बहिनीलाई कोसेलीअनुसारको रकम दिनुपर्ने चलनले समेत समस्या पर्दै आएको उनले बताए। यस समुदायले अर्काको सिको गर्दा आर्थिक अवस्था झन् बिग्रदै गएको उनको भनाइ छ। उनले थपे, ‘मासुदेखि खाद्यान्नसमेत उधारोमा ल्याएर दसैँ मान्ने गर्छन्’, केहीले दसैँका लागि जोहो गरेको भए पनि अधिकांशको समस्या उस्तै रहेको उनको भनाइ छ।