☰ open Loading... 2 May 2024|  

त्यो दसैंको याद
सोनी शर्मा   | ६ कार्तिक २०८०, सोमबार १९:१९

‘यसपटक खोटोसोट ल्याइदिएन, यसैले काम चलाउने हो।’

हाते लाइट र रेडियोमा बजेर अन्तिम अवस्थामा पुगेपछि कुच्याएर फेरि घाममा सुकाएर स्लोमोसनमा बजाउँदा कामै नलाग्ने गिला भएका ‘एभरेडी’ र ‘टाइगर’ लेखिएका ब्याट्री घाम सुकाउँदै आमाले भन्नुभयो।

आमाले घाममा लस्करै सुकाउनुभएको ब्याट्री हातमा लिँदा भ्यासिलिन जस्तो च्यापच्याप लागेपछि मैले छाब्दीखोला कट्ने गरी मिल्काइदिएँ।

एक अध्याय आमाको गाली खाइयो, ‘केही राख्न पाइँदैन, देख्यो कि फाल्दिहाल्छे।’

‘फोहोर फाल्दा पनि केको गाली हो आमा, अरू पनि सबै फाल्दिन्छु’ भनेँ।

अनि आमाले सम्झाउँदै भन्नुभयो, ‘नानी यसपटक सालघारी बाट खोटो (सालको रूखको बोक्राबाट निकाल्ने कालो रङ) कसैले ल्याइदिएनन्। यी थोत्रा ब्याट्रीबाट डाँडाको घरको बार्दलीमा लगाउने कालो रङ बनाउने हो। फाल्नु हुँदैन। पराइले लगेर आफ्नो घर सिँगार्छन्। अनि हाम्रो घर नराम्रो देखिन्छ। भित्तामा कमेरो अनि रातोमाटो (गेरू) अनि ब्याट्री फुटाएर मट्टितेल मिसाएर लगाउँदा बार्दली र झ्याल ढोका चिटिक्क देखिन्छ।’

आमाले थप्नुभयो, ‘पसल भएको दुईवटा घरको कौसीमा निलो डाँफे इनामेल लगाउने हो। त्यो बाटाको दुईतले घर र पसलमा कपडामा नलाग्ने रङ लगाउनुपर्छ। मन्दिर आउने दर्शनार्थीको लुगा बिग्रियो भने गाली गर्छन्।’

दसैं आउने हरेक वर्ष आमा र माइली भाउजू घरमा काम गर्ने साइँलाका दाजुभाइलाई लिएर तामाको ताउलो र डेक्चीमा भिजाएको कमेरो बाबियोको कुचोले भित्तामा छर्केर पोत्दै गर्नुहुन्थ्यो। उहाँहरूको अनुहार र कपडा कमेरो र राटोमाटोले बुटैबुट्टा बन्थ्यो। हामी खित्का छोडेर हाँस्थ्यौं ।

साइँला माइलाले कमेरो र गेरू पोखे भने गाली खान्थे। कमेरो र गेरू ल्याउन दिनभरि लाग्थ्यो रे। एकपटक त म पनि गएको थिएँ। यसरी नै हुने-खाने र हुँदा-खाने सबैका घर कमेरो र गेरूले समान रूपमा सिँगारिन्थे। लगाउने कपडा, खाना र छानोमा विभेद देखिए पनि भित्ता रंग्याउने गेरू र कमेरोमा समानता थियो। पछि इनामेल र चुनाले कमेरो, गेरू, ब्याट्रीको कालो विस्थापित गर्‍यो।

बाटो सफा गरेर चिटिक्क, दायाँबायाँ फुल्न लागेका पातिका बोटहरू। बिहान बेलुका चिसोचिसो आनन्द लाग्ने मौसम। पाक्न लागेका लहलह झुलेका धानका बाला यी सबैले दसैं डाकेको भान हुन्थ्यो। घरको आँगनमा टाउको अगाडि र पछाडि चुच्चो भएको सुन्दर चरा आउँथ्यो। बाबाले हेर त दसैं चरा आयो भन्नुहुन्थ्यो। आमाले दसैंमा मात्र देखिने भएको हुनाले दसैं चरा भनिएको भन्नु हुन्थ्यो।

गाउँमा अरूको घरमा भन्दा हाम्रो घरमा पहिला पिङ बनाइदिनुपर्छ भन्थ्यौं। सोह्रश्राद्ध सकिनेबित्तिकै बाबा र दाजुले बाबियोमा सनपाट मिसाएर दसैंदेखि तिहारसम्म पुग्ने गरी बलियो डोरी बाटेर काउरोको बोटमा पिङ बनाइदिनुहुन्थ्यो।

दसैंतिहार एकैपटक बिदा हुने हुँदा गृहकार्य सकेपछि मात्र हामीलाई पिङ खेल्न दिइन्थ्यो। ‘कन्या’ बाट उद्घाटन भन्दै पहिला पिङ खेल्ने पालो मेरो आएपछि भाइ मुर्मुरिँदै पिङ काट्दिन्छु भन्दै रून थाल्थ्यो। लिंगे पिङमा थाकेर गाउँ डुल्दा कसैका घरका पिँढीमा एकपिर्के पिङ चुइँचुइँ गर्दै बजिरहेका हुन्थे।

एक छिमेकीको घरमा जाँतेपिङ बनाएका रहेछन्। भाइ र म त्यस्तै चाहियो भनेर एक स्वर लगाएर टोल थर्किने गरी रून थाल्यौं। त्यो माग पनि पूरा भयो।

एक थाल मासुभात खाएर जाते पिङमा दुईतिर बसेका दिदीभाइले बान्ता गरेर ‘झर्छु, भयो’ भन्दै रून थाल्यौं। त्यसपछि त्यो जातेपिङतिर फर्केर पनि हेरिएन।

रोटेपिङ छाब्दीबाराहीमा थिएन। त्यो खेल्न कि त फर्लुंगे कि रासी भन्ज्याङ पुग्नुपर्थ्यो। हामीलाई त्यो अनुमति थिएन। बाल्यकालमा त्यो रोटेपिङ मितिनीको घर टीका लगाउन जाँदा दाइले सलले बाँधेर खेलाइएको याद छ। मितिनी र म एउटै सिटमा बस्दा पिर्काले च्यापेपछि निक्कै रोएको थिएँ।

घटस्थापादेखि मालश्री धुन बज्थ्यो!

त्यो धुन बाल्यकालमा जस्तै आज पनि उत्तिकै प्रिय लाग्छ। त्यही धुन बजेदेखि दसैं आएजस्तो लाग्छ। घटस्थापनादेखि बाबाले चर्को स्वरमा बिहान चण्डी पाठ गर्नुहुन्थ्यो। दुर्गा भवानीको नवदुर्गामा छुट्टाछुट्टै नामले पूजा हुने, प्रत्येक दिन घिरौंलालाई बलि मानेर काटेपछि बाबाले काटिएको घिरौंलाको दुवै भागमा अबिर लगाइदिनुहुन्थ्यो। बलि दिएको हुनाले रगत बनाउनुभएको रे। फूलपातीको दिन फूलपाती भित्र्याउने गरिन्थ्यो।

फूलपातीकै दिन गुरूङ जाति लगायतले कुडुलेको ठूलो ढुंगा भएको आँपको रूखमा भैंसी काटेर भाग लगाउँथे। एक पटकको फूलपातीमा बन्चरोको प्रहारले घाइते भएको भैंसीले एक जना मान्छे मारिदियो। घाइते भैंसीले धेरैको धानबाली बिगारेको थियो।

आजभोलि फूलपातीमा दमौलीको बिपी वन बाटिकामा रहेको बेलको फेदमा पूजा गरी तेल चढाएर कालिका मन्दिरमा जान्छौं। तर बाल्यकाल भेटिँदैन। अष्टमीमा धेरै खसीबोका काटिने हुँदा मन रमाउँदैन। निक्कै डर लाग्थ्यो।

नयाँ लुगा लगाएर टीका लगाउन पाइने भएर पनि दसैं विशेष लाग्थ्यो मलाई। धेरैजसो फुलबुट्टे जामा, टिसर्ट, तीनखण्डे, सिल्कका बेल्ट भएका स्कर्ट, जिन्सका वेस्टकोट, यस्तै लुगा पाउँथे। फूल भएको पछाडि बाँध्न मिल्ने चप्पल, दुई लाइन काँडा भएको पुतलीमा सेतो थोप्ला भएको हेडब्यान्ड। ओहो! संसाभरिकै राम्री भएँ भन्ने लाग्थ्यो!

अरू बेला गुन्द्रुके भन्दा जंगिने म त्यो दिन गुन्द्रुके कपालमा हेडब्यान्ड कति राम्रो भन्दा मुस्कुराउँथेर बाल्यकालमा भ्रम पनि सत्य लाग्ने रहेछ।

‘कन्या’ भन्दै बाबाआमा लगायत घरै भरिकाले टीका लगाइदिने, पैसा दिने अनि मेरो खुट्टा ढोग्ने। ओहो’ सबैले मान्नेगुन्ने मै रहेछु भन्दै गमक्क पर्थेँ म।

भाइ त्यो दिन ‘पैसा पनि उसैलाई, ढोग्ने पनि उसैलाई’ भन्दै जंगिन्थ्यो। मेरो आधा पैसा दिएपछि ऊ शान्त हुन्थ्यो।

खाना खाएर टीका लगाउने भन्दै गाउँ डुल्ने अभियान सुरू हुन्थ्यो। त्यो बेला सबैका घरमा टीका लगाउन आउने/जाने चलन थियो। को आए, को आएनन् रेकर्ड राखे जस्तै हुन्थ्यो। तेरा छोराछोरी ठूला पल्टे भन्ने गुनासो आमाबाबाले सुन्नपर्थ्यो

स्कुले ड्रेसमा टीका लगाउन हिँडेका साथीहरू निक्कै हुन्थे। त्यो बेला धेरै जसोले दसैंमा स्कुलको ड्रेस किनिदिन्थे। त्यो बेला अरू बेला बोलचाल बन्द भएका पनि आफूभन्दा ठूलाको हातको टीका लगाउन गएपछि सम्बन्ध सुध्रिन्थ्यो। टीका लगाउन कोही आएन भने बोलचाल र आउनेजाने नै बन्द हुन्थ्यो।

हामी बालबालिकाहरू टीका लगाउनभन्दा पनि कसको दक्षिणा धेरै हुन्छ भन्ने उद्देश्यसाथ गाउँ डुल्थ्यौं। घरमै पसल थियो। पैसाको दुःख थिएन। तर गाउँ डुलेर कमाएको दक्षिणाको महत्व बयान गरी साध्य हुन्थेन।

सबभन्दा धेरै पैसा आफ्नो घर र पुजारीको घरमा प्राप्त हुन्थ्यो। एकपटक आधा घन्टाको उकालो हिँडेर टीका लगाउन जाँदा मैले एक मोहोर र भाइले एक सुका दक्षिणा पायौं। भाइले त्यो सुका घारीतिर बत्ताएर केही नखाइ हिँड्यो। म एउटा हातमा उसको भाग प्रसाद (काटेर कालो भएको बोक्रासहितको केराको टुक्रा) लिएर घर जाँदै थिएँ। खेतको आलीबाट खुट्टा चिप्लेर पाक्न लागेको घान बारीमा लडेँ। मोहोर त्यही धान बारीमा हरायो।

टीका लगाउन पूर्णिमाको दिनसम्म भए पनि मामाघर पुगिन्थ्यो।

आजभोलि सबैको रहनसहन फेरिएको छ। मिठोमसिनो खान, नयाँ लुगा किन्न दसैं कुर्नुपर्दैन। मेला-महोत्सवमा पिङ खेल्न जत्ति पाइन्छ।

बाल्यकालमा पाँच रूपैयाँले आउने कुरा किन्न अहिले हजार खर्चिनुपर्छ। प्रविधिले विश्व जोडिरहँदा एकै घर र कोठाभित्र बसे पनि परिवारसँग भन्दा प्रविधिसँग रमाउने भएका छन्। अहिले घरमा पाहुना आउने बित्तिकै सन्चो, बिसन्चो होइन नेटको पासवर्ड सोधिन्छ।

आजभोलि अहिले विश्व बजारमा प्रतिस्पर्धा गर्ने सामग्रीले घर सजिन्छ। गेरू, कमेरो, खोटो त बिजुलीको उज्यालोमा जुनकीरी लोप भएजस्तै भएको छ। एकाघरका सन्तान सानासाना ‘इगो’ बोकेर पानी बाराबारको अवस्थामा पुगेको पनि देखिन्छन्।

आजभोलि टीका, आशीर्वाद र दक्षिणा बटुल्न कोही गाउँ डुल्दैन। आफ्नै टोलमा एकले अर्कालाई नचिन्ने भइसके। अनलाइन सपिङले खाना तथा मनपरेको सामान घरमै आइपुग्छ।

पछिल्लो समय आ–आफ्नो क्षमता अनुसारको रोजगार र व्यवासायले सबैलाई पैसासँग दैनिक रूपमा खेल्ने बनाएको छ। पैसा प्राथमिकतामा पर्दै गर्दा सामाजिक सदभाव र भाइचाराको सम्बन्धमा दुरी बढ्दै गएको छ। अनलाइन टीका र दक्षिणाले स्थान लिँदै छ।

हामीले बाल्यकालमा बिताएका दसैंका यादहरू नयाँ पुस्तालाई एकादेशको कथा जस्तै भइसक्यो।

आर्थिक-सामाजिक रूपान्तणमा जतिसुकै फड्को मारे पनि दसैं भन्नेबित्तिकै सधैं सम्झानामा त्यही आइरहन्छ- आहा बाल्यकालको त्यो दसैं!