☰ open Loading... 18 May 2024|  

व्यासगुफा शास्त्र र शक्तिको प्रमुख केन्द्रबिन्दु :नेपालऋषि जगमान गुरुङ
सोनी शर्मा   | १७ कार्तिक २०८०, शुक्रबार ०८:५४

नेपाल ऋषि तथा वरिष्ठ संस्कृतिविद् डाक्टर जगमान गुरुङले व्यास ऋषिको जन्मभूमि, पराशर ऋषिको तपोभूमि व्यासगुफा शास्त्र र शक्तिको प्रमुख केन्द्रबिन्दु भएको बताएका छन् । व्यास गुफा परिसरमा कार्तिक १ गतेबाट भइरहेको आठौ विश्व ॐकार तथा हिन्दू महामिलन पर्व अन्तर्गत विश्व हिन्दु महासंघ नेपाल स्याङ्जा शाखाले बिहीबार बाट आयोजना गरेको श्रीमद् भागवत सप्ताह ज्ञानमहायज्ञ एवम् धार्मिक महोत्सव २०८० को शुभारम्भ कार्यक्रममा बोल्दै डाक्टर गुरुङले नेपाली भूमि विश्वकै तपोभूमि रहेको भन्दै व्यासको जन्मस्थल शास्त्र र शक्तिको प्रमुख केन्द्रबिन्दु भएको बताएका हुन् ।

डाक्टर गुरुङले भगवान विष्णुको २४अवतार मध्येको एक अवतार भगवान वेद व्यासको ऋषिको जन्मस्थलमा बग्ने हिमनदीको पानी र कन्दमूल खाएर तपस्या गर्दा अलौकिक ज्ञान र शक्ति हासिल गर्न सकिने भएकाले सत्य, त्रेता, द्वापर र कली चारै युगमा भारतीय ऋषिमुनि यहाँ आउने गरेको बताए ।

नेपाल सिद्धहरुले तपस्या गरेको सत्यको भूमि नेपाल रहेको भन्दै गुरुङले तनहुँको व्यास गुफा र पराशर खोटाङको हलेसी, गोरखाको गोरखनाथ ऋषिमुनिको तपस्यास्थल रहेको बताए । डाक्टर गुरुङले व्यासको जन्मस्थलमा व्यासको कृति भागवत बाचन गर्नु अत्यन्त पवित्र कार्य रहेको भन्दै वेदमा धार्मिक भेद नभएकोले धार्मिक आचार संहिता पालना गर्नेले भागवत् भन्न सक्ने उनको भनाइ थियो । हिन्दू ग्रन्थ बहुत शक्तिशाली रहेको भन्दै समस्या समाधानका लागि दुर्गा सप्तसती चण्डी पाठ एक महत्पूर्ण ग्रन्थ रहेको बताए । कृष्ण स्वयम् भगवान रहेको भन्दै डाक्टर गुरुङले भक्तिको लागि श्रीमद् भागतमहापुराण सर्वश्रेष्ठ रहेको बताउनु भयो।
डाक्टर गुरुङले सत्यम परम धीमहि यसको व्याख्या परम सत्य हो भन्दै सचितानन्दको रूप भगवान श्रीकृष्णको भक्ति शरणागति लिने माध्यम भनेको भागवत रहेको बताउनुभयो । डाक्टर गुरुङले व्यास गुफामा एउटा सिँहासन् बनाएर चार वेद अठार पुराणको बोधि राख्ने र त्यसको सम्पूर्ण खर्च आफूले दिने बताउनु भयो। नियमित सत्सङ्गको बीजारोपणगर्दै हरिबोधनीएकादशी नियमित अखण्ड भागवतकथा सुरु गर्न आग्रह गर्दै पराशर गुफाका अनाधिकृत संरचना हटाएर प्राकृतिक श्रोत साधन यथावत राख्नुपर्ने बताए।

प्रमुख बाचक पण्डित नेत्र प्रसाद पण्डितको बाचकत्वमा सातदिन भागवत् कथा वाचन हुनेछ। हरिहर पाण्डेयके अध्यक्षतामा भएको कार्यक्रममा विश्व हिन्दु महासंघका उपाध्यक्ष शंकर खराल ,शान्ति स्वरुपानन्द दामोदर बाबा ,व्यासका अध्यता काशीनाथ न्यौपाने ,पूर्व सांसद शंकर प्रसाद पाण्डे विश्व हिन्दु महासंघ तनहुँका अध्यक्ष कृष्ण कान्त काफ्ले, पदम प्रसाद पाण्डेय लगायतले आआफ्ना धारणा राखेका थिए । कार्यक्रम अघि भजन कीर्तन सहित दमौली बजार परिक्रमा गरिएको थियो।