☰ open Loading... 30 November 2023|  

नलगाडका मेयर भन्छन्– भूकम्प पीडितलाई टेन्ट र भाँडाकुँडा अझै अभाव छ
पश्चिम नेपाल   | २३ कार्तिक २०८०, बिहीबार १४:३१

शुक्रबार मध्यराति ११ः४७ मा गएको भूकम्पमा जाजरकोटको नलगाड नगरपालिकाले सबैभन्दा बढी मानवीय क्षति व्यहोर्नुपर्यो । नगरपालिकाले उपमेयर सरिता सिंहसहित ५४ जनालाई गुमायो । चिकित्सकहरुका अनुसार, घाइतेहरुलाई समयमा अस्पताल ल्याउन नसक्दा समेत बढी मानवीय क्षति भयो ।

कठिन भौगोलिक अवस्था र भूकम्पपछि पहिरो गएर सडक अबरुद्ध हुँदा समयमा अस्पताल पुर्याउन कतिपय अवस्थामा समस्या भएको नगरपालिकाका मेयर डम्बरबहादुर राउत बताउँछन् ।

२८ हजार ९२२ जनसंख्या भएको नलगाड नगरपालिकाका ६८ जना घाइते अझै उपचाररत् छन् । नगरपालिकाका अधिकांश घरहरु ढुंगामाटोले बनेकाले भूकम्पको झट्का थेग्न नसकेको मेयर रावत बताउँछन् ।
नलगाडमा भूकम्पले गरेको क्षति, राहत वितरण, पुनर्स्थापनाका योजना लगायतका विषयमा केन्द्रित भएर नलगाड नगरपालिकाका मेयर डम्बरबहादुर राउतसँग कुराकानी गरेका छन् ।

प्रस्तुत छ, कुराकानीको सम्पादित अंशः–

शुक्रबार गएको भूकम्पमा परेर नलगाड नगरपालिकामा भएको क्षतिको अवस्था के छ ?

नलगाडमा अहिलेसम्म ५५ जनाको मृत्यु भएको छ । हिजो एकजनाको मृत्यु भयो । सबैभन्दा बढी नगरपालिकाको वडा नं. १ मा मानवीय क्षति भएको छ । वडा नं. १ मा मात्रै २५ जनाको मृत्यु भएको छ ।

मानवीय क्षतिको हिसाबले वडा नं. ३, ५ र ७ त्यसपछि क्रमशः प्रभावित छन् । भौतिक क्षतिको हिसाबले २ देखि ७ सम्म बढी प्रभावित छन् । त्यसबाहेक सबै वडाका घरहरु चर्किएका छन्, बस्नलायक छैन भन्ने आएको छ ।

म सबै ठाउँ पुग्न सकेको छैन, सडकको समस्या छ । तर, सबैतिरबाट आएको खबरअनुसार हरेक वडा प्रभावित भएको विवरण संकलन गरेका छौं ।

नलगाड नगरपालिकामा के कारण सबैभन्दा धेरै मानवीय र भौतिक क्षति भयो होला ?

शुक्रबार मध्यराति भूकम्प आयो । त्यो समयमा मानिसहरु मस्त निन्द्रामा थिए । त्यो कारण मानिसहरु बाहिर निस्किनै पाएनन् । दोस्रो कारण हाम्रो नगरका भौतिक संरचनाहरु एकदमै कमजोर थिए । विगतदेखि अहिलेसम्म ठूलो भूकम्प पनि आएको थिएन ।

तर, यसपटक नजिकै केन्द्रविन्दु भएर आएका कारण पनि बढी प्रभावित भयो । त्यो झट्का सहने खालको संरचना भएन । पक्की र पिलर भएका घरहरु केही भएका छैनन् । तर, अरु अधिकांश घरहरु ढुंगामाटोका परे, ती पनि व्यवस्थित थिएनन् । त्यसकारण समस्या भयो ।

पिलरविनाको घर काम रहेनछ भन्ने देखियो । सामान्यतः ६.४ रेक्टर स्केल भनेको पूर्वाधारमा त्यति प्रभाव नपर्नुपर्ने हो । त्यही पनि सहन नसक्दा हाम्रा वस्तीहरु प्रभावित भए । करिब ५ हजार ९ सयको हाराहारीमा घर प्रभावित भएका छन् । तीमध्ये ९५ प्रतिशत चाहिँ कच्ची घर छन् ।

कतिपय अवस्थामा समयमा उद्धार गर्न नपाएकाले पनि मृत्यु धेरै भएछ, होइन ?

रातिको समयमा भूकम्प भयो, एकै झट्कामा मानवीय क्षति भयो । घरहरु पनि टाढा–टाढा हुन्छन् । शहर बजार जस्तो हुँदैन ।

आफ्नो जग्गाको अनुकूलतामा आ–आफ्नो घर बनाएका हुन्छन् । उस्तै पर्दा कराएको पनि नसुन्ने दुरीमा घर बनाइएको हुन्छ ।

भूकम्प राति झण्डै १२ बजेको समय थियो । दुरी टाढा भएकाले उद्धार गर्न छिमेकी आउन सकेनन् । अर्को, संरचना नै पहिलेको जमानामा ज्यापाला भन्ने हुन्छ, मुसा, भालु मार्ने जस्तो । त्यस्तै घरहरु पनि यस्ता भएकि अहिलेको समय परिस्थिति अनुसारको उपयुक्त हुँदै भएनन् ।

अलिकति हल्लाउनेवित्तिकै खत्तम हुने खालका थिए । त्यही कारणले निकै क्षति भयो ।

चिकित्सकहरुले समयमा ल्याउन सकेको भए धेरै जोगिन्थे भनेका छन् । सडक सञ्जाल लगायतका कारण पनि समस्या भएको हो ?

भूकम्प जाने वित्तिकै ठाउँ–ठाउँमा सडक अबरुद्ध भए । वडा नं. १ मा अहिलेसम्म पनि पूर्णरुपमा सडक क्लियर भइसकेको छैन । त्यहाँ साना जीप मात्र जान्छन् । भिरालो पाखामा बस्ती भएकाले पनि समस्या छ । ट्रकहरु पनि उद्धार र राहत उपलब्ध गराउनलाई छिर्न सकेनन् ।

त्यो सडक स्तरोन्तितिका लागि १ करोडमा ठेक्का लगाएका थियौं । काम भइसकेको थिएन । अरु वडामा पनि त्यस्तै किमिसको समस्या थियो । मोटरसाइकल लिएर पनि जान नमिल्ने अवस्था छ । त्यसैले समयमा अस्पतालसम्म ल्याउन गाह्रो थियो ।

शनिबार बिहानदेखि बाटो खुलाउने प्रयास गरेका थियौं । अहिलेसम्म बाइक र सानो जीप मात्र छिर्ने भएको छ । त्यसले पनि उद्दारमा कठिनाइ भयो ।

समयमा अस्पताल लैजान समस्या भयो । तर, हामीले गम्भीर किसिमका विरामीलाई मान्छेले बोकेर भए पनि ल्याउनुपर्छ भनेर खबर गरेका थियौं । त्यसरी शनिबार बिहान ९ जनालाई ल्याएका थियौं ।

बाटोले धेरै समस्या भयो । भएकामा पनि भूकम्पले गरेर ढुंगामाटो झरेर अवरोध भएको थियो ।

प्रहरीको जनशक्ति एकदमै थोरै रहेछ, उद्धारमा कसरी परिचालन गर्नुभयो ?

करिब १२ बजेतिर उद्धार कार्य सुरु गरेका थियौं । हल्लाखल्ला भएर प्रहरी र सेनाले नजिक–नजिकमा उद्धार गर्नुभयो । एकैपटक धेरैतिर क्षतिको विवरण आउँदा उद्धार कार्य कठिनाइ थियो । हामीले भएका साधन स्रोतलाई पूरै परिचालन गरेर उद्धार गर्यौं ।

पहिलो प्राथमिकता घाइतेहरुलाई दियौं । समयमा ल्याएका कारण धेरै बचेका पनि छन् । हेलिकप्टरलाई खबर गर्नेदेखि तत्काल रिफर गर्ने लगायतका काम पनि गरियो । चुनौतिका हिसाबले निकै कठिन भूगोल छ ।

सहरिया क्षेत्रको जस्तो मान्छेको चेतना भावना भए क्षति झन् बढी हुन्थ्यो । गाउँको सहयोगी भावनाका कारण घर टाढा भएर पनि सहयोग गर्ने भावले निकै काम भयो । यहाँ भएका प्रहरी, सेनाले पनि थाहा पाएजति काम गरे । थप टोली शनिबार दिउँसो १, २ बजेपछि मात्रै आइपुगे ।

प्रधानमन्त्री प्रचण्ड पनि शनिबार आउनुभएको थियो, उहाँ कहाँ–कहाँ पुग्नुभयो ?

प्रधानमन्त्रीले ठाउँ–ठाउँ घुम्ने सम्भावना नै थिएन । मुख्यतः केन्द्रविन्दु नलगाड नगरपालिकाको दल्लीमा आएर घाइतेहरुलाई भेट्नुभयो । त्यसपछि त्यहाँबाट गर्नसक्ने आश्वासनका कुराहरु दिनुभयो ।

८ घाइतेहरुलाई पनि उहाँहरुले लिएर जानुभयो । उहाँ चढेर आएको हेलिकप्टर नै राहत र उद्धारमा प्रयोग भयो । सरकारले राहत र पुनर्स्थापनामा कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।

नलगाड नगरपालिकामा पनि अप्रिय घटना भयो, उपमेयर वित्नुभयो । उहाँ किन खलङ्गा जानुभएको थियो ?

वर्ल्ड भिजन भन्ने संस्थाले १८ र १९ कात्तिकमा न्यायका निम्ति पहुँच कार्यक्रम राखेको थियो । त्यसका लागि १७ कात्तिकमा ३ बजेसम्म हामीसँगै थियौं । भोलि पनि कार्यक्रम छ । दाँतको पनि समस्या छ । म आजै हिँडिहाल्छु भनेर उहाँ ४ बजेतिर हिँड्नुभएको थियो ।

दल्लीबाट एक घन्टामा त्यहाँ पुगिन्छ । ५ बजेतिर पुग्नुभयो होला । खाएर सुतिसकेपछि करिब पौने १२ बजे घटना भयो ।

उपमेयरज्यू सरकारीको पृष्ठभूमिबाट आउनु भएको रहेछ, उहाँलाई कसरी सम्झनुहुन्छ ?

एउटा सामाजिक सेवाको काम पहिल्यैदेखि गरिरहेको मान्छे नै हो । हामी एउटै गठबन्धनबाट चुनाव जितेका हौं । करिब डेढ वर्षको कार्यकालसम्म आउँदा हितेरी–मितेरी नाताले मेरो छोरी पर्ने हो । राजनीतिक नाताले हेर्दा म मेयर, उहाँ उपमेयर हुनुहुन्थ्यो । एउटा जिम्मेवारपूर्ण व्यक्तिको रुपमा उहाँलाई म सम्झिन्छु ।
समन्वय र सहकार्यमा असाध्यै ध्यान पुर्याउने गर्नुहुन्थ्यो । राजनीतिक हिसाबले उहाँ र म फरक पार्टीको भएपनि हाम्रो अहिलेसम्म असहजता कुनै पनि आएन । आजको मितिसम्म हाम्रो कसैले नोट अफ डिसेन्ट पनि गरेन, फरक मत पनि ल्याएन ।

सबैले सर्वसम्मत गरेर अहिलेसम्म काम गरिरहेका छौं । उहाँको भूमिका त्यसमा मुख्य छ भन्ने लाग्छ । त्यसलाई हेर्दाखेरि जहाँ–जहाँ विकास भएको छैन, त्यहाँको नाम लिँदा मलाई पनि अलिकति सन्तुष्टि लाग्थ्यो । थप हल्का भएको महसुस हुन्थ्यो ।

मैले लिनुपर्ने नामहरु पनि उहाँले लिनुहुन्थ्यो । बाँकी विभिन्न ठाउँबाट आउने, हामीप्रति हुने गुनासाको कुरामा उहाँले निकै ध्यान दिनुहुन्थ्यो । त्यसैले प्रत्येक महिनाको एक–दुई पटक उहाँसँग त्यसबारे जनकारी पनि गराउँथें ।

उहाँले म बाहिर हुँदा पनि यो विषयमा के गरौं भनेर नियमित सल्लाह गरिराख्नुहुन्थ्यो । त्यो सबै हुँदा मैले नलगाड नगरपालिकाले अभिभावक गुमाएको महसुस गरेको छु । उहाँ डेपुटी प्रमुख हुँदा मलाई ढुक्क लाग्थ्यो, म बाहिर हुँदा ढुक्क हुन्थें । अहिले मलाई एक्लो महसुस भएको छ । अरु दुःख, पीडा त आफ्नो ठाउँमा छँदैछ ।

फरक प्रसंगमा चिकित्सकहरुको टोली बाहिरबाट धेरै आइरहेको छ, नलगाडस्थित स्वास्थ्य चौकीको भवन पनि चर्किएको छ । विरामीलाई भित्र राख्नसक्ने स्थिति छैन । बाहिरबाट आउने चिकित्सक, राहत बाँड्न आउने र औषधिको कसरी व्यवस्थापन गरिरहनु भएको छ ?

औषधि र बाहिरबाट आउने सहयोगका लागि एकद्वार प्रणाली लागू गराएका छौं । स्थानीय विपद् व्यवस्थापन समितिले यो गरेको हो । राहत सामग्री आइसकेपछि नगरपालिकाले रुजु गर्छ । त्यसपछि सबैलाई समानुपातिक र समान ढंगले वितरण गर्छ ।

अथावा, नगरपालिकासँग समन्वय गरेर दिने भन्ने हुन्छ । रुजु गरेर यहाँ कमी छ, त्यहाँ जानुस् । यहाँ बढी छ भन्ने जस्ता कुराहरु पनि भन्छौं । यसरी सबैले समान रुपमा राहत पाउँछन् भन्ने हाम्रो अपेक्षा छ ।

भूकम्प प्रभावितका लागि अहिले मुख्य गरी के–के सामग्री राहतका लागि आवश्यक छन् ?

तत्काललाई पीडितहरुका लागि अझै पनि हामीसँग टेन्ट पर्याप्त छैन । साना खाले टेन्ट हो भने १५, २० हजार थान चाहिन्छ । ठूला टेन्ट भयो पनि फरक हुन्छ । तीन–चार जना छोरा–छोरी बुहारी, नाती, नातिनी हुनेका लागि एउटै घरमा ३ वटा टेन्ट आवश्यक हुन्छ ।

त्यसपछि ब्ल्याङ्केट, प्रि–फर्म चाहिएको छ । यसरी हेर्दा पहिलो चरण त्यो हो । त्यसपछि घरहरुका संरचना धुरीदेखि जगसम्म भत्किएका छन् । भाडाकुँडा चाहिएको छ । दाल, चालम, नुन, तेल चाहिएको छ । यो आवश्यकता खट्की राखेको महसुस भइरहेको छ ।

यति धेरै क्षति भयो, नलगाड नगरपालिकामा । यसको पुनर्स्थापनाका लागि के गर्ने सोच बनाउनु भएको छ ?

विभिन्न स्थानीय सरकारसँगै अन्य संघसंस्थाहरुसँग पनि यो कार्यमा हातेमालो गर्ने योजना बनाएका छौं । देशका विभिन्न स्थानका नगरपालिकाका प्रतिनिधिहरु आइराख्नुभएको छ । गाउँपालिका संघ र नगरपालिका संघसँग पनि समन्वय गरेर काम गर्छौं ।

प्रदेश र संघीय सरकारसँग पनि सहयोग माग्छौं । सबैसँग हातेमालो गरेर अनुरोध गर्छौं । अहिले पालिकामा अधिकांश घरमा बस्नसक्ने अवस्था छैन । नयाँ घर नबनाइनहुने स्थिति छ । त्यसैले यसका लागि सबैबाट साथ पाउने अपेक्षा गरेका छौं ।

अन्तिममा भूकम्प पीडितहरुलाई सहयोग गर्न चाहनेहरुलाई के भन्नुहुन्छ ?

सबैभन्दा पहिले प्रलयकारी भूकम्पमा परेर ज्यान गुमाउनेलाई हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु । अझै पनि परकम्पहरु गइरहेका छन् । सुरक्षित स्थानमा बस्न सूचित गर्छु । ७५३ पालिकामध्ये समस्या आइनपरेका सबै पालिकासँग नगरलाई फेरि पुरानो लयमा फर्काउन सहयोगका लागि आह्वान गर्छु ।

विभिन्न दातृ निकाय र संघसंस्थासँग सबैभन्दा ठूलो धर्म मानव सेवाका लागि तम्तयार रहिदिन अनुरोध गर्छु । यो समस्यालाई बुझेर कतिपय प्रत्यक्ष आउने र परोक्ष रुपमा सहयोग गर्न चाहनेहरुप्रति नलगाड नगरपालिका कृतज्ञ छ ।
अनलाईनखवरबाट