☰ open Loading... 23 June 2024|  

महिला र बालबालिकालाई जोगिनै गाह्रो
पश्चिम नेपाल   | २४ कार्तिक २०८०, शुक्रबार १०:२३

भूकम्प तथा अन्य प्राकृतिक प्रकोपबाट महिला, बालबालिका, अशक्त र वृद्धवृद्धा बढी प्रभावित हुन्छन्। विपद् व्यवस्थापन विज्ञहरूले सधैं यही कुरालाई ध्यानमा राखेर विपद् सचेतना र पूर्वतयारीमा वकालत गरिरहेका हुन्छन्। विपद् सुरक्षाबारे पूर्वतयारी योजना बन्दा पनि सधैं यही विषयमा छलफल हुँदै आएको छ।

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट महिला र बालबालिका बढी प्रभावित भएका छन् र मृत्यु हुनेमा पनि यिनै बढी छन्। भूकम्पबाट मृत्यु भएका १५३ जनामा महिला र बालबालिका बढी छन्। जाजरकोट र रुकुम पश्चिम दुवै जिल्ला प्रशासन कार्यालयको तथ्यांकअनुसार ८२ जना बालबालिकाको मृत्यु भएको छ। जाजरकोटमा ५० र रुकुम पश्चिममा ३२ जना बालबालिकाको ज्यान गएको छ। यस्तै कुल मृत्युमा पुरुषभन्दा महिलाको संख्या बढी छ।

गृह मन्त्रालयको तथ्यांकअनुसार ८३ महिला र ७० पुरुषको मृत्यु भएको छ। घाइते ३३८ जनामध्ये २०० महिला र १३८ पुरुष छन्। भूकम्प प्रभावित ज्येष्ठ नागरिकहरूको भने यकिन विवरण आउन सकेको छैन। २०७२ सालको भूकम्पमा पनि महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपांग एवं अशक्त बढी प्रभावित भएका थिए।

गृह मन्त्रालयको तथ्यांकअनुसार त्यो भूकम्पमा मृत्यु भएका ८ हजार ६५९ जनामध्ये ५५ प्रतिशत अर्थात् ४७७१ जना र पुरुष ३८८७ थिए। उक्त भूकम्पमा बालबालिका, ज्येष्ठ नागरिक र अशक्तको पनि ठूलो संख्यामा हताहती भएको थियो। त्यसको यकिन विवरण भने सरकारसँग छैन। २०७२ को भूकम्पबाट करिब ११ लाख २१ हजार बालबालिका प्रभावित भएको केन्द्रीय बालकल्याण समितिले जारी गरेको नेपालमा बालबालिकाको स्थिति, २०७४ मा उल्लेख छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विपद् अनुसन्धान शाखाका उपसचिव राजेन्द्र शर्मा हरेकजसो प्रकोपमा शारीरिक रूपमा कमजोरकै बढी हताहती हुने बताउँछन्। ‘बढीजसो वयस्क युवा पुरुष जहिल्यै फुर्तिला र बलशाली हुन्छन्। उनीहरू जुनसुकै प्रकोपमा पनि थोरै मौका पाउँदा बच्न सक्ने सम्भावना हुन्छ,’ उनले भने, ‘पुरुषहरूको तुलनामा महिला केही सुस्त र थोरै कमजोर हुन्छन्। बालबालिका, वृद्धवृद्धा र अशक्त त कमजोर हुने नै भए। कमजोर व्यक्ति जहिले जोखिममा रहन्छन्।’

इन्जिनियरिङ अध्ययन संस्थान विपद् अध्ययन केन्द्रका निर्देशक वसन्तराज अधिकारी हरेक विपद्मा ‘संकटासन्न’ जनसंख्या नै बढी प्रभावित हुने बताउँछन्। ‘विपद् अध्ययनमा संकटासन्न भन्नाले १० वर्षभन्दा कम र ६० वर्षभन्दा माथिका, सुत्केरी, गर्भवती महिला र अपांगता भएका व्यक्तिलाई बुझिन्छ,’ उनले भने, ‘हरेकजसो विपद्मा जोखिममा पर्ने भनेकै यही समूह हो। अन्य व्यक्तिको तत्काल भागेर ज्यान जोगाउनसक्ने सम्भावना हुन्छ।’

विपद् विज्ञ रञ्जनकुमार दाहाल नेपालको परिवेशमा विभिन्न प्रकोपमा वयस्क महिला बढी मृत्यु हुनुको कारण बालबालिका साथमा हुनु पनि एक कारण बताउँछन्। ‘बालबालिका, ज्येष्ठ नागरिक, अशक्त, अपांग व्यक्ति त जोखिममा हुन्छन् नै। वयस्क महिलाको मृत्यु धेरै हुनुको कारण बच्चा जोगाउन खोज्दा पनि हो,’ उनले भने, ‘अक्सर पुरुष भागिहाल्छन् तर महिला बच्चालाई बचाउन खोज्छन्। यसले उनीहरूको ज्यान पनि जोखिममा हुन्छ।’

वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारी प्रकोपले लिंग, उमेर र शारीरिक शक्ति नभन्ने तर त्यसबारे सचेतनाले धेरै अर्थ राख्ने बताउँछन्। ‘प्रकोपले यस्ता कुरा चिन्दैन । सावधानी नअपनाए सबैको ज्यान जान्छ,’ उनले भने, ‘तर शारीरिक रूपमा बलिया र सचेत यस्ता जोखिमबाट उम्कन सक्ने सम्भावना थोरै बढी हुन्छ।’

नेपालको परिवेशमा वयस्क पुरुष कम मर्नुमा वरिष्ठ भूकम्पविद् अधिकारी सचेतनाभन्दा जनसंख्या बनोटको चित्र बढी देख्छन्। उनी भन्छन्, ‘जाजरकोटका गाउँमा वयएक पुरुष नै कम छन्। महिला, बालबालिका र ज्येष्ठ नागरिक नै बढी छन्। जुन नेपालका लगभग सबै ठाउँको अवस्था हो। त्यसैले भूकम्प आउँदा घरभित्र सुतेका नै बढी मर्ने भए।’

सचेतना र सावधानी अभाव

नेपालको परिवेशमा प्रकोपको क्षति न्यूनीकरण गर्न पर्याप्त मात्रामा सचेतना र सावधानीका नअपनाइएको जानकार बताउँछन्। यसैकारण पनि सानो प्रकोपमा पनि ठूलो क्षति हुने गरेको छ। ‘भूकम्प अथवा अन्य प्रकोपको सुरक्षामा बढी सचेतनाकै आवश्यकता हुन्छ। सचेत जनसंख्या आफैँ सावधान भइहाल्छ,’ वरिष्ठ भूकम्पविद् अधिकारी भन्छन्, ‘सचेत व्यक्तिले सुरक्षित संरचना बनाउँछ। भूकम्पलगायतका प्रकोप आउँदा पनि तत्काल आफू सुरक्षित ठाउँमा जान सक्छ।’

नेपालको अवस्थामा जोखिममा रहेको समूहमा सचेतनाको पनि अभाव रहेको विपद् विज्ञ दाहाल बताउँछन्। ‘यहाँ जोखिमको समूहमा नै सचेतनाको कमी छ। त्यसैले उसैले बढी क्षति बेहोरिरहेको छ,’ उनले भने। भूकम्प लगायतका प्राकृतिक प्रकोप र विपद् व्यवस्थापनबारे राज्यस्तरबाटै व्यापक सचेतना र सावधानीका उपाय अपनाउनुपर्ने विज्ञको तर्क छ। ‘अब सचेतना नबढाउने र पुराना, कमजोर संरचना पनि विस्थापित नगर्ने हो भने जोखिम बढेको बढ्यै हुन्छ,’ भूकम्पविद् अधिकारीले भने।