☰ open Loading... 22 June 2024|  

बेंसी झर्दै हिमाली क्षेत्रका भेडीगोठ
पश्चिम नेपाल   | २ मंसिर २०८०, शनिबार १३:४६

चिसो बढ्न थालेसँगै हिमाली क्षेत्रका भेडा पालक जाडो छल्न बेंसी झर्न थालेका छन्।

जुम्लाका ८ वटै स्थानीय तहका भेडा पालक चरनका लागि वर्षायाममा लेकतिर जाने र हिउँदमा बेंसी झर्ने गर्छन्। उच्च हिमाली क्षेत्रमा अत्यधिक चिसो बढ्न थालेपछि भेडीगोठ बेंसीतर्फ झार्नु परेको भेडा पालक किसानहरू बताउँछन्। हिमाली क्षेत्रको चिसो कम हुने ठाउँहरूमा भेडीगोठ सार्ने गरिन्छ।

चरन क्षेत्रमा हिमपात हुने हुँदा भेडाबाख्राहरूलाई आहारको समस्या हुने गरेको सिंजा गाउँपालिका-६ का भैबहादुर बुढाले बताए।

‘बर्खाको बेला उच्च लेकाली भेगका पाटनहरूमा भेडा चराउन लैजान्छौं’ बुढा भन्छन्, ‘अहिले कम उचाइका लेकहरूमा भेडी गोठ राखिन्छ। बिस्तारै अझै तल्लो क्षेत्रमा सार्नुपर्छ।’

हिउँदमा चरनका लागि हिमपात भएको छोटो समयमै हिउँ पग्लने क्षेत्रमा भेडी गोठ सारिने उनको भनाइ थियो। उनले यो व्यवसाय आफ्नो पुर्खौली भएको सुनाए।

भेडा पालक किसानहरू बर्षायाममा ३ हजार ५ सय मिटरदेखि ४ हजार मिटरको उचाइमा भेडी गोठ राख्ने बताउँछन्। चैत वैशाखको महिनामा बेंसीबाट चरनका लागि हिमाल क्षेत्र (पाटन) मा भेडा पालक जाने गरेका छन्।

चिसो सहन नसक्ने भेडालाई जाडोबाट बचाउन बेसी झर्न थालिएको सोही गाउँपालिकाका रामलाल बुढाले बताए। वर्षभरि लेकबेसी गरेर भेडापालन व्यवसायमा लागिरहेकाहरूलाई हिउँदको समयमा भने निकै सास्ती हुने गरेको उनले सुनाए।

चरनका लागि लेकाली क्षेत्र खुला हुने भए पनि बेसी झर्दा सामुदायिक वन उपभोक्ता समूहले चरन सुविधा उपलब्ध नगराउँदा हिउँदमा समस्या भोग्नुपरेको भेडा पालक किसानहरूले गुनासो छ ।

बेसी क्षेत्रमा सामुदायिक वनको नाममा स्थानीयवासीले दुःख दिन थालेकाले परम्परादेखि गर्दै आएको व्यवसाय संकटमा परेको उनीहरु बताउँछन्।

पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका प्रमुख ज्ञानेन्द्र सिंह बढ्थापाका अनुसार जुम्लामा अनुमानित ८८ हजार जति भेडा बाख्राको संख्या रहेको छ।

कर्णाली प्रदेश सरकारले भेडी गोठालो भत्ता दिने गरेको छ। भेडाको उत्पादन बढाउन र भेडा पालक किसानलाई प्रोत्साहन गर्न ‘गोठालो भत्ता’ दिने कार्यक्रम लागू गरिएको हो।

५० देखि माथि भेडा पाल्ने किसानलाई मासिक एक हजार पाँच सयका दरले वार्षिक १८ हजार रुपैयाँ भत्ता दिइएको हो। यो रकम सम्बन्धित किसानको बैंक खातामै जम्मा हुँदै आएको छ। चरन क्षेत्रको अभावले र युवाको वैदेशिक रोजगारको मोहका कारण पेसा संकटमा परेको भेडा पालकहरू सुनाउँछन्।