☰ open Loading... 22 June 2024|  

जाजरकोटमा अस्थायी संरचना निर्माण गरी पठनपाठन थाल्ने तयारी
पश्चिम नेपाल   | ४ मंसिर २०८०, सोमबार ०९:५५

कात्तिक १७ गते गएको भूकम्पबाट भत्किएका विद्यालयमा अस्थायी संरचना निर्माण गरेर विद्यालय खोल्ने तयारीमा स्थानीय रहेका छन्। भूकम्पले क्षति बनाएको विद्यालयमा चाडपर्व सकिएसँगै सामुदायिक र निजी विद्यालयमा पठनपाठन सुरु हुन लागेको हो।

रुकुम (पश्चिम)र जाजरकोटको पठनपाठनमा भने भूकम्पले असर पु¥याए पनि अस्थायी संरचना निर्माण कार्य जारी रहेकाले पढाइ सुरु गर्न लागिएको छ।ती जिल्लाका केही स्थानीय तहका विद्यालयमा मङ्गलबारदेखि नै पठनपाठन सुरु हुने भएको छ भने केही स्थानीय तहका विद्यालयमा टहरा बनाएर पठनपाठन थाल्ने तयारी भइरहेको छ।

नलगाड नगरपालिका शिक्षा शाखाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विकले आंशिकरूपमा क्षति भएका विद्यालयमा भोलिदेखि नै पठनपाठन थालिने जानकारी दिए।विद्यालयका प्रधानाध्यापकले समेत विद्यालय सञ्चालन हुने भएकाले सबै शिक्षक विद्यालयमा आउन आग्रह गर्दै सूचनासमेत प्रकाशित गरेका छन्।अस्थायी टेन्ट निर्माण भइसकेकाले निरन्तर पढाइ हुने भन्दै पञ्च भयार माविका प्रधानाध्यापक नरेन्द्र केसीले विद्यालयमा आउन आग्रह गरे।

‘क्षति नभएका विद्यालयमा भोलिदेखि नै पठनपाठन हुन्छ, पूर्णरूपमा क्षति भएको विद्यालयमा पनि अस्थायी सिकाइ केन्द्र निर्माण गर्ने तयारी भइरहेको छ, केही दिन चाहिँ समय लाग्ला । बनिसकेपछि पढाइ हुन्छ’, उनले भने।सामाजिक विकास कार्यालय जाजरकोटका प्रमुख यज्ञबहादुर खत्रीले भूकम्पबाट प्रभावित सबै विद्यालयमा पठनपाठन थाल्न पहल गरिरहेको बताए। उनले भन, ‘क्षति नभएका विद्यालयमा भोलिदेखि नै पढाइ हुन्छ, क्षति भएकोमा पनि अस्थायी टहरा बनाएर भए पनि पढाइ थाल्न भनेका छौँ ।’ प्रदेश सरकारबाट सबै मिल्ने पहल र सहयोग हुने उनको भनाइ छ । अहिले जाजरकोटको छेडागाड, कुशेमा पाँचतारा युवा संरक्षण मञ्चले विद्यालयमा अस्थायी संरचना निर्माण गर्ने जिम्मेवारी लिएको छ भने नलगाड, भेरी र बारेकटमा युनिसेफले अस्थायी संरचना निर्माणको जिम्मेवारी लिएको छ। जिम्मेवारी पाएसँगै निर्माणका कामसमेत सुरु गरिएको छ।

रुकुम (पश्चिम)को आठविसकोट नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका शिक्षा अधिकृत इन्द्रबहादुर विष्टले नगरपालिकाभित्रको भूकम्प प्रभावित विद्यालयमा भोलिदेखि नै पठनपाठन थाल्ने जानकारी दिए। उनले भन, ‘जहाँ आंशिक क्षति पुगेको छ, त्यहाँको सबै अवस्था बुझी पठनपाठन मङ्गलबारदेखि नै हुन्छ, पूर्णरूपमा क्षति पुगेको ठाउँमा भने हामीले अस्थायी सिकाइ केन्द्र बनाएर तयारी अवस्थामा राखेका छौँ । त्यसैले पठनपाठन रोकिँदैन ।’ उनका अनुसार भूकम्पबाट नगरपालिकाभित्रका ६४ विद्यालयमा क्षति पुर्‍याएको थियो । जसमा ५२ विद्यालयमा पूर्णरुपमा क्षति पुगेको छ । पठनपाठन थाल्न एक सय ३९ अस्थायी सिकाइ केन्द्र निर्माण गरिएको छ।

त्रासमा विद्यार्थी

विद्यालय खोल्नका लागि पहल सुरु गरिए पनि विद्यार्थी भने त्रासमा रहेका छन्।भूकम्पबाट मनोबल कमजोर भएका विद्यार्थी घरदेखि विद्यालयसम्म भत्किएकाले विद्यालयमा गएर पढ्न मानसिकरुपमा तयार भएको पाइँदैन।भूकम्पको त्रासले गर्दा बालबालिका राति सुतेको समयमा कराउने, भूकम्प आयो भन्नेसम्मका गतिविधि देखाउन थालेको नलगाड नगरपालिका–१ कल्पतकी भावना विकले बताउनुभयो । त्रिपालको बसाईका कारण बालबालिका बिरामी भइरहेको उनको भनाइ छ। केही विद्यार्थीको किताबसमेत घरभित्र पुरिएको अवस्थामा रहेको छ।

‘किताबविहीन अवस्था कसरी विद्यालय जानु रु’ जुनी कम्युन माध्यमिक विद्यालय नलगाड–५ का भावना सिंहले भनिन।सबै विद्यार्थी त्रिपालमा बसेर पढ्नका लागि चुनौती हुने देखिएको छ।भूकम्प प्रभावित विद्यालयमा मनोपरामर्श सेवा सञ्चालन गर्नुपर्ने देखिएको छ।भूकम्पको परकम्पन आउन नछाडेकाले पनि अर्को समस्या भएको हो।भूकम्प प्रभावित क्षेत्रमा अत्यधिक चिसो हुने भएकाले पनि सक्रिया शैक्षिक क्रियाकलाप सञ्चालन गर्न गाह्रो हुने देखिएको छ।कात्तिकदेखि चैतसम्म भारी मात्रामा हावाहुरी चल्ने मौसम भएकाले निर्माण गरिएका त्रिपाल कसरी सुरक्षित गर्ने भन्ने चुनौतीसमेत छ।